बागलुङ/जिल्लाका सबै स्थानीय तहका मातृ तथा नवजात स्वास्थ्य हेर्ने स्रोतव्यक्तिलाई रक्तश्राव रोक्ने र महिलाको ज्यान बचाउने तालिम दिइएको छ । तीन दिनसम्म चलेको तालिम सोमबार सम्पन्न भएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय र धौलागिरि अस्पतालको आयोजना तथा फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको साझेदारीमा सञ्चालित सम्बोधन परियोजनामार्फत यो तालिम दिइएको हो । तालिमबाट ग्रामीण क्षेत्रका महिलालाई सुत्केरीपछि रक्तश्राव भएमा कसरी बचाउने, प्रोटोकल अनुसार के औषधी चलाउने भन्ने सिकाइएको परियोजनाका अनुगमन तथा प्राविधिक अधिकृत सुजन पौडेलले बताए ।
धौलागिरि अस्पतालमा आयोजित तीन दिने ‘एमएनएच अपडेट’ तालिममार्फत स्वास्थ्यकर्मी र प्रसुतीकर्मीलाई सुत्केरीको ज्यान बचाउने विधि सिकाइएको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारी, स्त्रीरोग विशेषज्ञ डा. विजय ओझा, नर्सिङ अधिकृतहरु देवी भट्टराई, मिलन बरुवाल र अजिता सिलवालले यो विधि सिकाएका थिए । साथै, उनीहरुले यो विधिबारेको घटना अभ्यास समेत देखाएका थिए ।
जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख, मातृ तथा नवजात स्वास्थ्य हेर्ने स्रोतव्यक्ति र बर्थिङ सेन्टरका अनमी समेत तालिममा सहभागि थिए । शनिबारदेखि सोमबारसम्म सञ्चालित तालिमको पहिलो चरणमा १५ जनाले यो विधि जानेको अस्पतालकी वरिष्ठ नर्सिङ अधिकृत देवी भट्टराईले जानकारी दिइन् । यो विधिमार्फत मातृ मृत्युदर शुन्य नजिक लैजाने फाउण्डेसनको लक्ष्य पौडेलले सुनाए ।
सुत्केरी अवस्थामा रगत बगेमा कण्डमको विधिबाट रक्तश्राव रोक्न सकिने र त्यसपछि सुविधा सम्पन्न अस्पताल पठाएर उपचार गरी निको बनाउन सकिने प्रोटोकलबारे आम स्वास्थ्यकर्मीमा जानकारी दिन तालिम आयोजना गरिएको थियो ।
यो विधि प्रयोग गरेर ढोरपाटनस्थित बुर्तिवाङ अस्पतालमा कार्यरत नर्स पार्वती अर्यालले यसअघिनै ४२ महिलाको ज्यान बचाइसकेकी थिइन् । यो विधि सबै स्वास्थ्यकर्मी माझ लैजाने, सबै गर्भवती र प्रसुतीका महिलाले पनि यो विधि उपयोग गर्न सक्ने गरी प्रचार प्रसार समेत गर्न घटना अभ्यास गराइएको डा. ओझाले बताए ।
सुत्केरी महिलाको रक्तश्राव भएमा कण्डममा पानी भरेर पाठेघरमा राख्दा रक्तश्राव रोकिन्छ । सो विधिबारे सबैलाई थाहा नभएको, भएकाहरुले पनि उपयोग नगरेकोले तालिममार्फत जानकारी पुगेको ओझाको भनाइ छ । ‘उपचार, औषधी र विधिका प्रोटोकल बेला बेला फेरिन्छन्, तर कण्डममार्फत गरिने उपचारले सहजै ज्यान बचाउन सकिन्छ’ डा. ओझाले भने, ‘यो विधि सजिलो, भरपर्दो र सस्तो समेत छ ।’
प्रसुती समयमा रगत बगेको रोक्न नसके सुत्केरीको छोटो समयमै निधन हुने खतराबाट बचाउन यो विधि ल्याइएको हो । यो विधिलाई ‘कन्डम टेम्पोनेड’ विधि नामाकरण गरिएको अर्यालले बताइन् । यो विधिका कारण अत्याधिक रक्तश्राव भएका महिलाालई २४ घण्टासम्म रक्तश्राव रोक्न सकिन्छ । सो समयमा बिरामीलाई सुविधा सम्पन्न अस्पताल लगेर बचाउन सकिने अनुभव अर्यालले पटक पटक भोगेको बताइन् ।
यस्तो विधिका कारण प्रसुती अवस्थामा महिलाको ज्यान बचाउन सकिने भएकोले व्यापक बनाउन पहल भएको ओझा बताउँछन् । ‘यो विधिले महिलाको ज्यान बच्छ, यो विधि उपयोग गर्दा बिरामीसँग संवाद गर्दै लगाउन सकिन्छ’ डा. ओझाले भने, ‘रक्तश्राव तत्काल रोकियो भने बिरामी बेहोस बन्नु पर्दैन ।’ यो विधिबाट काम गर्दा दुइ वा दुइभन्दा बढी स्वास्थ्यकर्मी मिलेर गर्नुपर्ने उनले सुझाव दिए । जोखिम भएपछि कतिपयलाई लाखौं खर्चेर हेली उद्दार समेत गर्नुपरेको छ । यो विधि जान्ने प्रसुतीकर्मी र स्वास्थ्यकर्मीले १ सय रुपैयाँ पनि खर्च नगरी महिलाको ज्यान बचाउन सक्ने ओझाको भनाइ छ ।





