शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्वास्थ्य मन्त्रीद्वारा धौलागिरी प्रादेशिक अस्पतालको निरीक्षण

स्वास्थ्य मन्त्रीद्वारा धौलागिरी प्रादेशिक अस्पतालको निरीक्षण

धौलागिरी प्रादेशिक अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको भन्दै पूर्वाधारदेखि उपकरण र जनशक्तिको क्षेत्रमा सहयोग गर्ने गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले प्रतिवद्धता व्यक्त गरेका थिए ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०८३, शुक्रबार

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले बिहिबार धौलागिरी प्रादेशिक अस्पताल बागलुङको निरीक्षण गरेका छन् ।

मन्त्री पाण्डेले आकस्मिक कक्ष, बहिरङ्ग र अन्तरङ्ग सेवा, बच्चा वार्ड र डायलायसिस सेवाको निरीक्षण गरेका थिए । सो क्रममा अस्पतालमा भर्ना भई स्वास्थ्य लाभ गरिरहेका बिरामीलाई अस्पतालको सेवाबारे समेत मन्त्री पाण्डेले जिज्ञासा राखेका थिए ।

स्वास्थ्य मन्त्री बनेपछि पहिलोपटक बागलुङ आउनुभएका पाण्डेले अस्पतालको सेवाप्रवाह र जनशक्तिको अवस्थाबारे पनि जानकारी लिएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारी र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले सेवाप्रवाह र जनशक्तिको बारेमा मन्त्री पाण्डेलाई सहजीकरण गरेका थिए ।

पुर्व स्वास्थ्य मन्त्री कृष्ण पाठकसहित निरीक्षणमा आउनुभएका मन्त्री पाण्डेलाई अस्पतालका डाक्टर, कर्मचारी र व्यवस्थापन समितिका पदाधिकारी र सदस्यले स्वागत गरेका थिए ।

निरीक्षणपछि आयोेजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले अस्पतालको सेवाप्रवाहको अवस्था उत्कृष्ट देखिएको भन्दै कामको प्रशंसा गरे । धौलागिरी प्रादेशिक अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको भन्दै पूर्वाधारदेखि उपकरण र जनशक्तिको क्षेत्रमा सहयोग गर्ने पाण्डेले प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले अस्पतालको सेवालाई निरन्तरता दिन भौतिक पुर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनमा प्रदेश सरकारले अटुट उत्तरदायित्व बहन गर्नुपर्नेमा जोड दिएका थिए ।

बिरामीको अपेक्षालाई सम्बोधन गर्दै अस्पतालले पछिल्लो समय अस्थायी रुपमा भएपनि विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदै मन्त्री पाण्डेलाई स्थायी जनशक्तिको व्यवस्थापनमा पहल गरिदिन अध्यक्ष शर्माले आग्रह गरेका थिए ।

गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले धवलागिरि प्रादेशिक अस्पतालमा स्टाफ नर्स विषयको पढाइ सुरु गर्ने निर्णय गरिसकेको छ । अस्पतालमा भौतिक पूर्वाधारदेखि र मानवसंशाधनको उपलब्धता रहेकाले पढाइ सुरु गर्न कुनै समस्या नरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अस्पताललाई गतवर्ष सय शैयामा स्तरोन्नति गरेपछि स्टाफ नर्स पढाउने बाटो खुलेको थियो । स्टार्फ नर्सका लागि बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानस्थित ‘सिटीइभिटी’को भवनमा सैद्धान्तिक विषयको पढाइ र व्यावहारिक अभ्यास धवलागिरि अस्पतालमा गर्नेगरी तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->