बागलुङ/बागलुङ नगरपालिका वडा नं. ७ मुलपानीमा एक दिने निशुल्क छालारोग सम्बन्धी शिविर सम्पन्न भएको छ । शिविरमा स्थानीय १ सय ८४ जनाले स्वास्थ्य परीक्षण, ल्याब सेवा र उपचार पाएका छन् ।
नगरपालिकाको आयोजना र प्रदेश जनस्वास्थ्य कार्यालयको समन्वय तथा आइएनएफ नेपाल (हरियोखर्क अस्पताल) र सम्बोधन परियोजनाको प्राविधिक सहयोगमा शिविर सम्पन्न गरिएको परियोजनाका अनुगमन तथा प्राविधिक अधिकृत सुजन पौडेलले बताए ।
शिविरमा आएकामध्ये कुष्ठरोगका शंकास्पदलाई परीक्षण गरेर थप परीक्षणका लागि पोखरा पठाइएको छ । केही समय अघिदेखि यहाँ छालाको संक्रमण तथा कुष्ठरोग जस्तै समस्या भएका केही मानिस देखिएपछि परियोजनाले शिविर सञ्चालन गर्न पहल गरेको हो ।
स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको फेयरमेड र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले सम्बोधन परियोजना सञ्चालन गरेको छ । परियोजनाले मातृ तथा शिशुको स्वास्थ्य, उष्ण प्रदेशिय रोगहरुको उपचार, खोजी तथा सचेतना अभियान चलाउँदै आएको छ ।
शिविरमा बिरामीलाई ल्याब सेवा र औषधी उपलब्ध गराइएको थियो । शिविरमा हरियोखर्क अस्पतालका छालारोग विशेषज्ञ डा. प्रकाश कार्की सहितको टोलीले परीक्षण र उपचारको सेवा दिएको थियो । शिविरले नागरिकको स्वास्थ्य उपचारको पहुँच बढेको, छाला रोगबाट गम्भिर समस्या आउन सक्ने र कुष्ठरोगबारे सचेतना बढेको आयोजकको विश्वास छ ।
बागलुङ नगरपालिका–७ का वडा अध्यक्ष मेघनाथ गैरेले शिविर ल्याउन पहल गर्ने सबैलाई धन्यवाद दिँदै समुदायमा लुकेर रहेका कुष्ठरोगीलाई उपचारको दायरामा ल्याउने, उनीहरुलाई सचेतना फैलाउने जस्ता काममा शिविर उपयोगी भएको बताए ।





