शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सती घाँटुको विसर्जन

सती घाँटुको विसर्जन

नृत्यका क्रममा घाटुसेरीहरू गीतको लयमा लठ्ठिने, आँखा बन्द गर्ने, ढल्ने र पुनः गीतकै माध्यमबाट उठाइने दृश्यले दर्शकलाई भावविह्वल बनाउने गर्दछ । स्थानीय समुदायले यसलाई अदृश्य शक्ति र देवी अवतरणसँग जोडेर हेर्ने विश्वास राख्छ ।


  • सुरेश छन्त्याल
  • जेष्ठ ४ २०८३, सोमबार

बागलुङ/ढुंगाले छाइएका मौलिक घरहरू, मगर संस्कृति र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाण्डवखानी ऐतिहासिक तथा सांस्कृतिक पहिचानका कारण चर्चामा छ । बागलुङ सदरमुकामबाट मध्यपहाडी लोकमार्ग हुँदै करिब पाँचदेखि छ घण्टाको यात्रापछि पुगिने यो गाउँ कला,संस्कृति र परम्पराको जीवित संग्रहालयका रूपमा परिचित छ ।

यहाँको सबैभन्दा ठूलो सांस्कृतिक पहिचान भनेको सती घाँटु हो । जसलाई नेपालकै सबैभन्दा कठिन, गुरुमुखी तथा तान्त्रिक मानिने नृत्य–अनुष्ठानका रूपमा लिइन्छ । वैशाखे पूर्णिमाको अवसरमा विशेष रूपमा प्रस्तुत गरिने यो नृत्य हेर्न आन्तरिक तथा बाह्य पर्यटक पाण्डवखानी पुग्ने गरेका छन् ।

स्थानीयका अनुसार, पाण्डवखानीमा सती घाँटुको सुरुआत १८५० सालदेखि भएको मानिन्छ । घाटु नाचका युवा संयोजक गिरी प्रसाद थापाका अनुसार, यो नृत्य सती प्रथामा आधारित गीतिनाटक हो । जसमा श्रीमानको मृत्युपछि पत्नीले भोग्ने पीडा, समर्पण र त्यागलाई भावनात्मक शैलीमा प्रस्तुत गरिन्छ ।

घाटुको औपचारिक ‘फुक्ने’ कार्य माघ महिनामै गरिए पनि वास्तविक नृत्य वैशाख कृष्ण औँसीदेखि सुरु हुन्छ । जेठ महिनाको अन्तिम सातासम्म सती घाटु नाच्ने परम्परा त्यसपछि पुनः माघसम्म स्थगित रहने प्रचलन छ ।

सती घाटुको कथावस्तु तत्कालीन पर्वते राजा परशुराम र रानीको जीवनसँग जोडिएको छ । युद्धमा राजाको मृत्यु भएपछि रानीहरूले गर्ने विलाप, कारुणिक गीत र नृत्यमार्फत् प्रस्तुत गरिने यो अनुष्ठान अत्यन्त मार्मिक मानिन्छ ।

नृत्यका क्रममा घाटुसेरीहरू गीतको लयमा लठ्ठिने, आँखा बन्द गर्ने, ढल्ने र पुनः गीतकै माध्यमबाट उठाइने दृश्यले दर्शकलाई भावविह्वल बनाउने गर्दछ । स्थानीय समुदायले यसलाई अदृश्य शक्ति र देवी अवतरणसँग जोडेर हेर्ने विश्वास राख्छ ।

सती घाटु विभिन्न खण्डमा विभाजित हुन्छ । ‘अइरा’ खण्डमा रोपाइँ तथा ढ्याङ्ग्रो नाच प्रस्तुत गरिन्छ भने ‘सती’ खण्डमा घाटुसेरीहरू मुर्छित हुने दृश्य मुख्य आकर्षणका रूपमा रहने गर्दछ । कथाअनुसार भगवान शिव जोगीको भेषमा आएर राजासँग विवाद गरेपछि रानी मुर्छित हुने प्रसंग नृत्यमार्फत् प्रस्तुत गरिन्छ ।

यद्यपि घाँटुको लिखित इतिहास भने भेटिँदैन । स्थानीय अगुवाहरूका अनुसार अन्य क्षेत्रबाट खानीमा काम गर्न आएका मजदुरमार्फत यो परम्परा सुरु भएको विश्वास गरिन्छ । पाण्डवखानीसँगै रिघा, सिसाखानीलगायत मगर समुदायको बसोबास रहेका अन्य क्षेत्रमा पनि सती घाटुको प्रचलन रहेको पाइन्छ ।

वडा अध्यक्ष भक्तबहादुर काउचाका अनुसार, वडाले संस्कृति संरक्षणलाई प्राथमिकतामा राख्दै सती घाँटुको निरन्तरताका लागि विशेष पहल गरिरहेको छ । उनले गीत र मन्त्रमार्फत घाँटुसेरीहरू अचेत हुने र पुनः सचेत बनाइने प्रक्रियालाई स्थानीय धार्मिक विश्वाससँग जोडिएको बताए ।

आधुनिकताको तीव्र प्रभावबीच पनि पाण्डवखानीले आफ्नो मौलिक संस्कृति जोगाइराख्नु समुदायको बलियो सांस्कृतिक चेत र सामूहिक एकताको उदाहरण बनेको छ । गाउँलेहरू नयाँ पुस्तालाई समेत यो परम्परा सिकाउँदै संरक्षणमा जुटेका छन् ।

यस वर्ष मलमासका कारण तिथि र समय तालिकामा केही परिवर्तन भएपनि सती घाँटुको मूल मर्म, श्रद्धा र सांस्कृतिक आत्मा भने अक्षुण्ण रहेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->