बागलुङ/धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा १ लाख लिटर क्षमताको पानी ट्याङकी बन्ने भएको छ । रोटरी क्लब अफ बागलुङको सहयोगमा करिब २ करोड १७ लाखको लागतमा ‘ओभरहेड पानी ट्याङ्की’ निर्माण गरिने भएको हो ।
खानेपानीको ट्याङकी निर्माणका लागि धौलागिरि प्रादेशिक अस्पताल र रोटरी क्लव अफ बागलुङबीच बुधबार सम्झौता भएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्मा र रोटरी क्लब अफ बागलुङका अध्यक्ष नारायणप्रसाद गौतमले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको अस्पतालका पूर्वअध्यक्ष केवि रानामगरले जानकारी दिए ।
पछिल्लो समय बिरामीको चाप बढ्दै गएको र विशिष्टिकृत सेवा पनि विस्तार हुँदै गएपछि अस्तालतमा पानीको अभाव सिर्जना नहोस् भन्ने अभिप्रायले पानी ट्याङकी निर्माण गर्न लागिएको हो । ओभरहेड ट्याङकी बनेपछि अस्पतालको काममा आवश्यक पानी पर्याप्त हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले बताए ।
अस्पतालमा पानीको आपूर्तिलाई सहज बनाउन अमेरिकास्थित रोटरी क्लव अफ सस्टीनाको सहकार्य र रोटरी डिस्ट्रिकको साझेदारीमा ओभरहेड पानी ट्याङ्की निर्माण गर्न लागिएको क्लबका अध्यक्ष नारायणप्रसाद गौतमले बताए । ‘आवश्यक प्रक्रिया पुरा गरी संरचना निर्माणको काम कार्यान्वयनमा जाने छ,’ गौतमले भने ।
अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु कृष्णबहादुर केसी, केवि रानामगर, सदस्य लक्ष्मी बास्कोटा, शालिकग्राम शर्मा, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारी र क्लबका आगामी अध्यक्ष पुनमप्रसाद शर्माको उपस्थितीमा सम्झौता गरिएको क्लबका पूर्वअध्यक्ष तथा ओभरहेड पानी ट्यांकी निर्माण सम्बन्धी रोटरी ग्लोबल ग्रान्ट परियोजनाका संयोजक दीपेन्द्रबहादुर घिमिरेले जानकारी दिए ।
बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जडान गरेको धाराको पानीमात्रै पर्याप्त नभएपछि पाँच वर्षअघि सामाजिक विकास मन्त्रालयको ४० लाख रुपियाँ बजेटले डिप बोरिङ प्रविधिको पानीबाट अस्पतालले आवश्यकता पूुर्ति गर्दै आएको छ ।
बोरिङ गरिएको पानीलाई ‘ओभरहेड ट्याङ्की’मा संकलन वितरण गरिने छ । ‘परियोजनाले अस्पतालमा खानेपानी आपूर्ति प्रणालीलाई सुदृढ बनाउने छ,’ घिमिरेले भने, ‘यो संरचनाले वार्षिक करिब २ लाख ७० हजार बिरामी तथा अस्पतालका कर्मचारीलाई भरपर्दो स्वच्छ पानी उपलब्ध गराउने लक्ष्य छ ।’
अन्तर्राष्ट्रिय साझेदार संस्था रोटरी क्लब अफ सुसित्ना (अलास्का, अमेरिका) सँग समन्वय गरी आर्थिक सहयोग तथा अनुगमन सुनिश्चित गर्ने, निर्माण कम्पनी तथा सेवा प्रदायक छनोटका लागि प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया सञ्चालन तथा सहजीकरण गर्ने र निर्माण प्रक्रियाभर पारदर्शिता कायम गर्न अनुगमन गर्ने सम्झौताा उल्लेख छ ।
सम्झौतामा अस्पतालले ओभरहेड ट्यांकी निर्माणका लागि स्थान उपलब्ध गराउने, डिप बोरिङ प्रणालीलाई सुचारु अवस्थामा राखी नयाँ ट्यांकीमा पानी आपूर्ति सुनिश्चित गर्ने, सहकार्यका लागि प्रदेश सरकार तथा स्थानीय सरोकारवालासँग समन्वय गर्ने र परियोजना सम्पन्न भएपछि अस्पतालले ट्याङकी तथा पूर्वाधारको स्वामित्व ग्रहण गर्ने उल्लेख छ ।
साथै, ट्याङ्की तथा ड्रिलिङ प्रणालीको दीर्घकालीन सञ्चालन, मर्मत तथा आवश्यक सुधार कार्यको जिम्मेवारी अस्पताल व्यवस्थापन समितिले वहन गर्ने सम्झौता भएको छ ।





