बागलुङ/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धौलागिरी प्रादेशिक अस्पताल बागलुङको अवलोकन गरेका छन् । पाण्डेले अस्पतालको आकस्मिक कक्ष, बहिरङ्ग र अन्तरङ्ग सेवा, बच्चा वार्ड र हेमोडायलसिस कक्षको अवलोकन गरेका हुन् ।
बुधबार एक्कासी अस्पतालमा पुगेका मुख्यमन्त्री पाण्डेले भर्ना भएर उपचार गराइरहेका बिरामीसंग अस्पतालको सेवा सुविधाबारे संवाद गरेका थिए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारी र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले सेवाप्रवाह र जनशक्तिबारे मुख्यमन्त्री पाण्डेलाई जानकारी गराएका थिए ।
अस्पतालको अवलोकनपछि पाण्डेले ट्रमा सेन्टरका लागि बजेट विनियोजन भएकाले त्यसलाई कार्यान्वयन गर्न निर्देशन दिएका थिए । ‘‘ट्रमा सेन्टरलाई केही बजेट छुट्टिएको छ, कार्यान्वयन गर्न कामको गति बढाउनुस्’’ पाण्डेले भने ।
अस्पतालको सेवा विस्तारलाई प्रदेश सरकारले सधैं प्राथमिकतामा राखेको भन्दै बिरामबाट गुनासो नआउने गरी काम गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिए । नागरिकको स्वास्थ्य सेवालाई चुस्त बनाउन प्रदेश सरकार प्रतिवद्द रहेको पाण्डेले बताए ।





