बागलुङ/बागलुङको बडिगाड गाउँपालिकालाई पोषणयुक्त पालिका घोषणा गर्ने तयारी भएको छ । जिल्ला स्तरीय अनुगमन समितिले अनुगमन गरी सुझाव पेश गरेअनुसार पालिकाले अधिकांस सूचक पुरा भएको पत्र पठाएपछि घोषणाका लागि अन्तिम अनुगमन गर्ने समितिले निर्णय गरेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख अमर थापाको अध्यक्षतामा रहेको अनुगमन समितिले गत कात्तिकदेखि पुस र जेठ पहिलो सातासम्म तीन पटकसम्म अनुगमन गरिसकेको हो । अझै बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा सामुहिक अनुगमन गर्नुपर्ने, अन्य वडामा पनि छुटेका अबस्था भए हेरेर सुझाव दिने तयारी समितिले गरेको अध्यक्ष थापाले जानकारी दिए ।
जिल्ला स्तरीय अनुगमन समितिको बैठक बसेर पालिकाको प्रतिवेदनमा व्यापक छलफल भएको, १६ क्षेत्रका सूचकबाट १ सय अंक पाउने अवस्था सिर्जना भएपछि पालिकालाई पोषणमैत्री घोषणा गरिने छ । त्यसअघि वडा तहमा घोषणा गरिने पनि उनले बताए ।
गाउँपालिका अध्यक्ष नेतृत्वमा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको निर्देशक समितिले अधिकांस सूचक पुरा भएको बताएपछि जिल्ला स्तरीय समितिले चासो बढाएको हो । ‘यो पोषणमैत्री पालिका घोषणा जटिल विषय रहेछ, तर पनि मेहेनत गरेर उहाँहरुले काम गर्नु भएको पाइयो’ उनले भने, ‘स्वास्थ्य क्षेत्रले बढी मेहेनत गरेर यो अवस्था ल्याएको छ ।’
जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमका अनुसार अहिले सम्मको अध्ययनमा चार बर्ष सम्मका बालबालिका अनिवार्य बालविकास केन्द्रमा पढ्ने गरेको, सहयोगी कार्यकर्ताहरु तालिम प्राप्त भएको, १ देखि ८ कक्षा पढेने हरु शत प्रतिशत रहेको, दिवाखाजा सबै बिद्यालयमा पुगेको, आधारभूत खानेपानी सबैमा पुगेको, सरफाइ राम्रो, निर्देशक समितिको बैठक पनि नियमित बसेको पाइएको हो ।
त्यस बाहेक पालिकाको पश्र्वचित्र बनेको, हरेक वडामा स्तनपान कक्ष बनेको र आमा र बालबालिकाको स्वास्थ्यमा उल्लेख्य सुधार भएको पाइएको हो । पालिकाले शुन्य नजिक पुगेको बताएपनि २० वर्ष भन्दा कम उमेरमा आमा भएका महिला भने केही देखिएको हो । त्यो अवस्था अबका दिनमा नराख्न सुझाव दिइएको गौतमले जानकारी दिए । आगामी दिनमा सरोकारवाला रहेको समितिले अनुगमन गरी पोषणमैत्री पालिका घोषणामा अनुमति दिने बैठकले निर्णय गरेको समेत उनले जानकारी दिए ।
बैठकमा समन्वय प्रमुख अमर थापा, उपप्रमुख होमनाथ सापकोटा, समन्वयका सदस्यहरु, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, गैरसरकारी सस्था महासंघ र नेपाल पत्रकार महासंघको पनि प्रतिनिधित्व भएको थियो । यो अभियान सँगै बालमैत्री स्थानीय तह बनाउने काममा पनि सबैलाई प्रेरणा मिल्ने बताइएको छ । अहिले सम्म बागलुङ नगरपालिका र गलकोट न गरपालिका बालमैत्त िघोषणा भैसकेका छन् भने जैमिनी नगरपालिका छिटै घोषणाको तयारीमा छ ।





