बागलुङ/गलकोट नगर अस्पताल जग्गा व्यवस्थापन समितिको आयव्यय सार्वजनिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
गलकोट नगरपालिका आर्थिक तथा जग्गा व्यवस्थापन समितिको आयोजनामा गलकोट नगरपालिका वडा नम्वर ५ मा गलकोट नगर अस्पताल जग्गा व्यवस्थापन आयव्यय सार्वजनिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगरप्रमुख भरत शर्मा गैरेले गलकोट नगर अस्पतालको स्तरवृद्धि र गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताए । अस्पताललाई थप व्यवस्थित, सुविधा सम्पन्न र नागरिकमैत्री बनाउन जग्गा व्यवस्थापन अभियान सञ्चालन गरिएको उनले बताए । आगामी दिनमा अस्पतालमा सेवा विस्तार, आधुनिक उपकरण व्यवस्थापन तथा विशेषज्ञ सेवाका लागि नगरपालिका प्रतिबद्ध रहेको पनि बताए ।
गलकोट नगर अस्पतालको स्तरवृद्धि तथा आवश्यक पूर्वाधार निर्माणका लागि जग्गा खरिद गर्न आर्थिक तथा जग्गा व्यवस्थापन समिति गठन गरी रकम संकलन अभियान सञ्चालन गरिएको थियो । अभियानअन्तर्गत देशका विभिन्न जिल्ला तथा प्रवासमा रहेका गलकोटेलीहरुसँग समन्वय गरी आर्थिक सहयोग संकलन गरेका थिए ।
शुक्रवार आयोजित कार्यक्रममा आर्थिक तथा जग्गा व्यवस्थापन समितिका कोषाध्यक्ष टंक बहादुर केसीले आयव्यय विवरण सार्वजनिक गरे । यो अभियानमा २ करोड ७९ लाख ६२ हजार ८ सय ९० रुपैयाँ संकलन भएको थियो ।
संकलित रकम मध्ये २ करोड रुपैयाँ जग्गा खरिदमा खर्च गरिएको छ । १९ लाख १० रुपैयाँ बराबरको एक्सरे मेसिन खरिद गरिएको छ । हालसम्म कुल २ करोड २१ लाख ७५ हजार ५ सय ७० रुपैयाँ खर्च भई ७२ लाख ८७ हजार ३ सय २० रुपैयाँ बैंक मौज्दात रहेको कोषाध्यक्ष केसीले जानकारी दिए ।





