बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

के रवि पुराना दलको विकल्प बन्न सक्लान् ?

के रवि पुराना दलको विकल्प बन्न सक्लान् ?


  • माधव चापागाईं
  • जेष्ठ २५ २०८३, सोमबार

एउटै वसन्तको अन्तरालमा जेलदेखि राज्यशक्तिको उच्चतासम्म यात्रा गर्ने पुरुषार्थ रविले देखाए । अघिल्लो वर्ष हावासम्म नछिर्ने टिनको छानोमुनि सिमित बनाइएका रवि आज सरकारदेखि छिमेकीदेशसम्म चर्चामा छन् । सत्यको जित हुनेछ भनेर देवकी र वसुदेव कंसको जेलमा बसेझैं रविले जेलबाट नै शान्ति खोजे । हिरासत छल्न बिरामीको नाटक गरेनन् । धैर्य गरे । रविको यो रफ्तारले धेरैको मनमा काँडा बिझेको छ । आशा गरौं, त्यही काँडा देश बनाउने खाका र गुणात्मक परिवर्तनको फड्को बन्नेछ ।

हिजो कांग्रेस एमालेद्वारा सत्ताको दम्भले जेलमा सडाउन खोज्दा पनि महादेवले विष पिएझैं विष शमन गर्ने मान्छे सामान्य हुँदै होइन । रवि सिंहको जस्तो मुटु भएको मान्छे हो । भारतले पनि लामिछानेलाई आफ्नो स्वार्थमा लम्पसार पर्ने विगतका जस्ता नेता नभएको बुझे होला । त्यसैले त मन्त्री न प्रधानमन्त्री सडकमै फोटा टाँसेर रातो कार्पेटमा बाजागाजासहित पुष्पवृष्टिले स्वागत ग¥यो । यस्तो सम्मान सबैको तजविजमा हुँदैन । यता विरोधीहरु जलेर भौतारिएका छन् । रविलाई शितल भा होला ।

गगनले प्रमाण छ भनेर जालसाजी रचे । प्रमाण पुगेन । रवि खुल्ला आकाशमा चम्की रहे । त्यसैले रविमाथिको आरोप घिनलाग्दो राजनीतिक खेल भयो । प्रचण्डले चीनमा भैंसीको मासु, भारत र बंगलादेशमा विद्युत निर्यात गरे अरे । उनैले लोडसेडिङ अन्त्यसंगै ग्यास उत्खनन सुरु गरे रे, यता सुरुङ, जल र रेल मार्ग, भ्युटावर अनि वृद्ध भत्ता दिएर बुढाबुढीको सच्चा पुत्र एमाले बन्या छ । कांग्रेसले शेष नागकै तरह राणा र राजाका पालादेखि देश धान्यो अरे । वर्षौंसम्म देशको हित विपरित आफ्नाको संरक्षणमा न्यायाधीशले झैँ फैसला गर्ने भ्रष्ट राजनीतिका मतियारहरुको रविका अघि तुक चलेन । अन्ततः आज जनताले गल्हत्याइ दिए । यसर्थ चुनाव एउटा नाटक थियो । यसको परिणाम पूर्वनिर्धारित थियो, भनेर सार्वभौम जनताको अभिमतलाई दुत्कार्ने ओलीभन्दा अहोरात्र देश र जनताको सेवामा तल्लीन हुने रविको सर्वोच्चता किन नस्विकार्ने ? ओलीले अहंकारद्वारा देश चलाउन खोजे रविले विधिको शासन रोजे । आखिर गल्ती कस्को ?

रुखो र भद्दा मजाकका भरमा आज पनि संसदमा हङ्गामा छुटाइएको छ । आफू हारेपछि चुनावै होइन भन्नू र बोलीमै काटस्य गर्नु अनुचित हो । यो सतीले सरापेको देश उपर बरु पशुपतिमा विरुपाक्ष प्रकट होलान्, माछाको शरीरमा भुत्ला पलाउला, समुन्द्रको पानी गुलियो होला, बिना आँख्लाको उखु टुसाउला, रसातलमा बस्ती बसाउन सकिएला परन्तु पुरानाको घमण्डी र अहंकारीपन कहिल्यै कम हुनेवाला छैन ।

नयाँ सरकार बनेको सय दिन पुगेको छैन । सरकारलाई पुरानै शैलीमा अल्झाइएको छ । कानुन बनाउने ठाउँमा अवरोध गरिनु विडम्वना हो । पुराना दल र नेताको दिनचर्या फेरिनु पर्छ । संसदमा अस्थिरताको खेल खेलिनु न्यायोचित छैन । नेपाली राजनीतिले पुस्तान्तरणको पथ खोजेको छ । अब पुनः पुरानैतिर फर्कने सम्भावना छैन । नयाँको विकल्प नयाँ हुनुपर्छ ।

जुन दल र पार्टीका कारण जेन्जी आन्दोलन भो, १७ हजारको घाउ ओभानो नहुँदै ७६ जनाको बलि चढ्यो । खरानीको राप सेलाएको छैन । शासकहरु जुन गोरुको सिङ्ग छैन उसैको नाम तिखे भन्याझैं बहकिरहे छन् । अब जनताले यहाँ भन्दा कति लखेट्ने ? रविलाई कति माथि पु¥याउने ? यिनैले जेलको षड्यन्त्र न रचेको भए रवि कहाँ पो उदाउँथ्यो र ? उनले बुझेका छन् । मेरा गुरु यिनै हुन् यिनैको आशीर्वादले आजको सानदार जीवन पाएको छु भन्ने, त्यसैले त रवि कसैलाई गाली गर्दैनन् । मौन छन् ।

पद र प्रतिष्ठाको लोभले होइन देश बन्नुपर्छ भन्ने हुटहुटीले राजनीतिमा होमिएकाले आफ्नो छाति विशाल बनाउँछन् । रवि त्यही पर्याय हुन् । आज रविकै कारण संसद्ले मुहार फेरेको छ । अब देशले पनि काँचुली फेर्ने छ । पुराना नेताहरूले जेलमा बसेर कथा र उपन्यास लेखे, रविले नयाँ नेपालको खाका कोरे । आफ्नो समूहलाई मिलाएर परिचालन गर्ने नेतृत्वले देशलाई निकास दिन्छ । त्यो नेतृत्व तयार गर्न रवि सफल छन् । रविको संघर्ष र त्यागले देश बदलिँदो छ । जसरी पुराना नेताहरू भ्रष्ट राजनीतिबाट सत्ताच्युत हुन पुगे, त्यसरी नै नयाँहरु सत्ताच्युत हुने दिन नआओस् । आफ्नो राजनीतिक भविष्य जोगाउने साहस रास्वपालाई मिलोस् ।

पुरानाले चुनावलाई जय र पराजयको साधन बनाए तर रविले विजय यात्रालाई साध्य बनाएर संघर्ष गरिरहे । जनताले घन्टीमा भोट हालेको रवि बालेनलाई सत्ता सुम्पिन होइन । वर्षौदेखिको बिग्रँदो राजनीतिलाई सुधार्न हो । नयाँले केही गर्छन् कि भन्ने आशाले हो । उनीहरुका आँखामा देशभक्तिको भावना अनि विगतका चुनावबाट पाएको धोका र निराशालाई मेटाउने तागत देखेर हो । जुन विश्वास र भरोसालाई सफल बनाउन रवि उद्दत छन् । जनताले यस पटकको लडाइँलाई अन्तिम लडाइँ मानेका छन् । त्यसैले त नेपाली राजनीतिमा रविको सर्वोदय भएको छ ।

लोकतन्त्रमा जनताको अभिमत सर्वोपरि हुन्छ । आज तिनै जनताले शिर्ष नेतृत्वलाई सोत्तर बनाउँदा समेत चेत पसेन भने के नै गर्नु छ र ? राजनीतिक संस्कारविहिनताको पराकाष्ठा यहि हो । अन्यथा देशमा आज आएर सुशासनको नारा लगाउनु पर्दैनथ्यो । पुरानाहरु भ्रष्टाचारमा लिप्त भएर नै रविविरुद्ध राज्यशक्ती नै लाग्दा समेत रविलाई पटकपटक चुनाव जिताइएको होला । यसर्थ पनि राजनीतिक कुप्रथाको अन्त्यका लागि एकछत्र रवि चाहिन्छन् । जुन जनादेश आज देशले पाएको छ । त्यो आशाको केन्द्र रवि हुन् । पछिल्लो राजनैतिक परिवेशमा देश र जनताको हितमा काम गरी सुशासनको प्रत्याभूत गराउने जिम्मा रविमा निहित छ । जनताको आशा र भरोसामाथि कुठाराघात गर्ने एमाले कांग्रेस माओवादीका उपर सदासयता देखाएर हिंड्ने छुट रविलाई छैन । व्यक्तिवादी प्रवृत्तिमा लम्पसार परेर समर्थन गर्नु नादानी हुन्छ । तसर्थ पनि जनताको आशा र भरोसाको केन्द्र रवि हुन् ।

नेपाली जनताले पुरानैको कित्तामा रास्वपालाई राख्ने दिन नआओस् । सहकारी ठग भनेर जुन भाष्य सिर्जना गरिएको छ, सहकारी पीडितहरूलाई न्याय दिने मसिहाको रुपमा अगाडि बढ्नै पर्छ । विरोधीहरूलाई चिढाएर होइन खेलाएर परास्त गर्नु पर्छ ताकि भोलिका दिनमा उनीहरु नै प्रशंसक बनुन् । नेपालमा हत्या, हिंसा, आतंक र युद्धको उमेर सकियो । जीवन अन्त्यका लागि त काल छँदैछ । यो वा त्यो बहानामा किन जनता भिडाउने ? सत्ता प्राप्तिका लागि मानिस नै मानिसको मृत्युको कारक किन बन्ने ? यसर्थ पनि रविले रोजेको बाटो शुद्ध छ । रवि जेलमा पनि शान्त बने । आँखामा भविष्यको सुन्दर सपनालाई राखेपछि मानिस शान्त हुन्छ भन्ने नीति र मुटुमा देशको माया बोकेर हिंडे राष्ट्रका निम्ति बलिदान दिन सकिन्छ भन्ने राष्ट्रप्रेमी भाव रविमा समेटियो । देशको माटोलाई स्पर्श गर्न नपाउँदा छट्पटिनेहरु राजनीतिलाई सेवा ठान्छन् । नेतृत्वमा पुगेर आफ्नो लागि सोच्दैनन् ताकी आफू सुरक्षित रहुँ । यसर्थ पनि रविको छवि शुद्ध छ ।

यो देशमा बेथिती छ भ्रष्टाचार छ भनेर नेपाली जनतालाई ऐना देखाएर मात्रै फोहोर राजनीति सफा हुँदैन, त्यसका लागि त ‘सत्ताको कुचो’ ले बढार्नुपर्छ । भनेर भ्रष्ट व्यवस्थाका विरूद्ध लड्ने साहस रविमा छ । ३०–३५ वर्ष शासन गरेकाको राजनीतिक जगलाई एउटा मान्छेले हल्लाउने व्यक्ती उनीहरुको आँखाको कसिङ्गर बन्नु नौलो कुरा होइन । तिनीहरूको राजनीतिक धर्म र निष्ठा सत्यमा आधारित छैन भन्ने कुरा रविले छर्लङ्ग पार्नैपर्छ ।

पुरानाले पटकपटक सत्तामा पुगेर शासन गरेपनि परिणाममुखी काम गर्न नसकेका हुन् । अझै पनि यिनै पार्टीहरूलाई मौका दिनुपर्ने कारण छैन । यस्ता असफल पार्टीहरूको दास बनेर हिँड्नु हाम्रो बिडम्बना हो । आज नयाँ युगको सुरुवात भएको छ । नेपाली जनताको भोटको मूल्य भारतले पनि देखाएको छ । नेपाली जनता यत्तिसम्म तागतिला बने कि दुई तिहाइको बहुमत दिलाएको भरमा सानदार उपस्थितिमा रविले राष्ट्रियता खोज्न पाए ।

आज जनताले पाउनुपर्ने सेवा सुविधा निर्धक्क पाएका छन् । कहिकतै भनसुन चलेको छैन । नेताको चाकडी गर्ने प्युसाहरुको भागाभाग हुँदैछ । जब देशले रविको एकछत्र छाँया पायो तब आशा पलायो । देशमा नयाँ थिति बसाउनु छ । बन्द भएका कलकारखाना खोलेर रोजगारी सिर्जना गर्नु छ । विदेशीएका दाजुभाइ दिदिबहिनीलाई स्वदेश फर्काउनु छ । सहकारीले लुटेको धन फिर्ता गरेर गरिबका आँसु पुछ्नु छ । नदि किनारमा बस्नेलाई समथर भुभागमा डो¥याउनु छ । जसका लागि रास्वपा नै बलियो विकल्प हुन सक्छ ।

म रास्वपाको समर्थक होइन, गल्ती गर्दाको दिन अवश्य विरोध गर्ने छु । म कुनै पार्टीको झोले र दास कार्यकर्ता होइन, भ्रष्ट राजनीतिको अन्त्य भएर देशमा सुशासन कायम होस् भन्ने आशा बोकेको नागरिक हुँ । यदि कुनै दिन रास्वपाले देश र जनताको भविष्य माथी खेलबाड गर्यो भने रास्वपा पनि पुरानैको पूरक बन्ने छ । कुनै पार्टी असफल, भ्रष्ट र निरीह हुँदाहुँदै त्यही पार्टीमा टाँसिनु भनेको पार्टीको दास बन्नु हो । मलाई दासत्व स्वीकार छैन ।

आज समय र हैसियत फेरियो । जनताले रविलाई नेपालमा मात्रै होइन छिमेकी देशमा सर्वोच्चता प्रदान गरे । जनताले प्रष्ट दुई तिहाई मत दिएर सरकार चलाउन पठाएको दल र नेताको सम्मान नै बेग्लै । शक्तिशाली दलको सभापतिको हैसियत देखियो । भारतले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली नेतृत्वलाई गरेको सम्मान नेपालको प्रतिष्ठाको विषय हो । यसले रविको सर्वोदयका साथ देशको छवि बढाएको छ ।

रवि विदेश यात्राको दौरान गणतन्त्र आएपछि उच्च सम्मान पाउने व्यक्ति मात्रै बनेनन् । निर्वाचन पश्चात् आफ्ना सांसदलाई उनले दिएको निर्देशले सारा नेपालीको मन छोयो । जानकारहरुले त्यही अभिव्यक्तिलाई लिएर रविमा देशप्रति अथाह प्रेम रहेको र उनी देश बनाउने हुटहुटी बोकेर हिंडेको ठह¥याए । रवि यस्ता पात्र हुन्, जो जेञ्जी आन्दोलनपश्चात् परिपक्व नेता मानिएका छन् । उनको अनुहारमा चिन्ता, बोलीमा गम्भीरता र मस्तिष्कमा सहनशीलता देखिएको छ । त्यसैले रवि नेपाली राजनैतिक इतिहासमा बलिया सावित भए । गोलपोष्टमा जसले गोल हाने पनि फुटबलले धेरै जनाको लात खाएको हुन्छ । रवि त्यहि फुटबल हुन्, जसले लात खाएर पनि मेडल उचालेका छन् । फलस्वरूप नेपाली राजनीतिमा रविको सर्वोदय भयो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->