बागलुङ (खर्वाङ)/बडिगाड गाउँपालिकाको वडा नं. ९ दर्लिङखोलालाई देशकै पहिलो ‘पोषणमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको छ । सरकारको पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधिले तोकेका सूचकहरू पूरा गरेपछि शुक्रबार वडालाई देश तथा पालिकाको पहिलो वडा घोषणा गरिएको हो ।
घोषणा सभाका अवसरमा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले दर्लिङखोला बडिगाडको मात्र नभई सिङ्गो नेपालकै पहिलो पोषणमैत्री स्थानीय शासनयुक्त वडा भएको दाबी गरिन् ।
सरकारको बहुक्षेत्रीय पोषण योजना र पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि, २०८० लागू भएपछि देशका ७ सय ५३ वटै स्थानीय तहका वडामध्ये सबै सूचक शतप्रतिशत पूरा गरेर औपचारिक घोषणा हुनेमा आफूहरू नै देशकै पहिलो वडा बनेको पालिकाको जिकिर छ ।
पोषणमैत्री कार्यक्रमको चार वर्षको अवधिमा पलिकाभरका ६ हजार ६ सय ६३ विभिन्न कार्यक्रम संचालन गरिएको बताउँदै अधिकारीले शुरुवातमा चार बालबालिकामा देखिएको कुपोषणको अवस्था समेत अहिले सुधार भएको बताइन् ।
विभिन्न तोकिएका सुचक पुरा गरेर जिल्ला समन्वय समितिको अनुगमनपछि गरिएको घोषणाका अवसरमा गाउँपालिका उपाध्यक्ष भिमसेन वनले पोषण कार्यक्रमको माध्यमबाट स्वास्त्थ्य, शिक्षा तथा कृषिको क्षेत्रमा समेत सुधार गर्न सकिएको बताए ।
वनले कुनैपनि लक्ष्य पुरा गर्न पहिले आफ्नो व्यवहार परिवर्तन आवश्यक रहेको बताउँदै यस अभियानअन्तर्गत विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिक्ता दिईएको र यसले धेरै सकारात्मक परिवर्तन गरेको बताए ।
वडा नंं. ९ का वडाध्यक्ष कृष्ण बहादुर केसीले पोषण कार्यक्रमको कारण वडामा कृषि क्षेत्रमा व्यापक परिवर्तन आएको बताउँदै अहिले तरकारीको आयात घटेको दाबी समेत गरे ।
बडिगाड गाउँपालिकामा शुरु भएको पोषणमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको कार्यक्रम असार ६ गतेसम्म हुने पोषण कार्यक्रमका प्रवक्ता शेरबहादुर बुढाले जानकारी दिए । ६ गतेसम्म पालिकाका सबै वडा घोषणाको कार्यक्रम सकेर १५ गते पालिकालाई नै पोषणमैत्री स्थानीय शासनयुक्त पालिका घोषणाको कार्यक्र तय गरिएको उनले बताए ।
केही वर्षअघि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका कतिपय स्थानीय तहका वडा तथा टोलहरूलाई स्थानीय स्तरमा पोषण सुधारिएको दाबीसहित घोषणा गरिएको भएपनि सरकारको पछिल्लो परिमार्जित नियमावली र बहुक्षेत्रीय पोषण योजना तेस्रोको नयाँ मापदण्ड २०८० लाई पूर्ण रूपमा आधार मान्ने हो भने बडिगाड–९ देशकै पहिलो पोषणमैत्री स्थानीय शासनयुक्त वडा बनेको हो ।





