नवलपुर / १२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पतञ्जलि योग समिति नवलपुरद्वारा आयोजित १० दिने विविध कार्यक्रमहरूको समापन तथा विश्व योग दिवसको औपचारिक विशेष समारोह आज सम्पन्न भएको छ।
प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायमन् प्रमुख अतिथ्यता, पतञ्जलि योग समिति नवलपुरका अध्यक्ष डा. नरनाथ पाण्डेको अध्यक्षता, युवा नेपाल समिति नवलपुरका अध्यक्ष मदन गिरीको स्वागत तथा पतञ्जलि योग समिति नवलपुरका महासचिव कृष्ण बस्यालको सञ्चालनमा सम्पन्न उक्त समारोहमा जिल्लाभरका विभिन्न योग केन्द्रका योग साधकहरू, विभिन्न संघसंस्थाका पदाधिकारीज्यूहरू, योग शिक्षकहरू लगायत सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
पतञ्जलि योग समिति गण्डकी प्रदेशका उपाध्यक्ष गणेश आचार्यको प्रमुख प्रशिक्षणमा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय प्रोटोकल अनुसार योग अभ्यास भएको थियो । साथै पतञ्जलिका युवाद्वारा सर्वाङ्ग सुन्दर व्यायाम प्रदर्शन समेत गरिएको थियो । कावासोती नगरपालिकाका प्रवक्ता डोरमान गिरी, सिद्धार्थ बोर्डिङका प्रिन्सिपल भोजराज दाहाल र प्रदेश जनस्वास्थ्य कार्यालयका छविलाल सुवेदीको शुभकामना मन्तव्यसँगै प्रदेश जनस्वास्थ्य कार्यालयको आयोजनामा सम्पूर्ण योग साधकहरूको स्वास्थ्य परीक्षण र रगतको जाँच समेत सम्पन्न गर्दै भव्यतापूर्वक कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख जिल्ला अधिकारी उपाध्यायले योग सबैका लागि आवश्यक भएको, राष्ट्रसेवकहरूका लागि सकारात्मक सोच र ऊर्जा प्राप्त गर्न अझ बढी योग चाहिने, शिक्षक तथा विद्यार्थी, युवा तथा वृद्धावस्था समेतका व्यक्तिलाई योगमा जोड्न सकिएमा स्वस्थकर जीवन जिउन सकिने हुँदा आफ्नो कार्यकालमा सकभर सम्पूर्ण कार्यालयहरूमा योग अभ्यास पश्चात मात्र नियमित काममा लाग्ने वातावरण मिलाउने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष ड. पाण्डेले योग र योगको महत्व सम्बन्धी विषयवस्तुमा प्रकाश पारेका थिए भने जनप्रतिनिधिको हैसियतले योगलाई घरघरमा पुर्याउन विशेष ध्यान दिने डोरमान गिरिले बताएका थिए । यसैगरी स्वास्थ्य कार्यालयका छविलाल सुवेदीले ३० वर्ष माथिका सबैको स्वास्थ्य परीक्षण गर्ने सिलसिलामा योग दिवसका अवसरमा आज मुटु, कलेजो, मिर्गौला र सुगरका लागि रक्त परीक्षण, जनरल स्वास्थ्य परीक्षण तथा पिसाब परीक्षण गरिने जानकारी गराए । कार्यक्रममा करिब २०० जनाको उपस्थिति रहेको थियो ।




