अहिले देशैभर पर्यटकीय गन्तव्यहरुको प्रचार–प्रसारको अभियान चलेको छ । विभिन्न पालिकाहरुले आफ्नो क्षेत्रका घुम्नलायक प्राकृतिक र ऐतिहासिक सम्पदा संरक्षण र प्रचारमा यथोचित खर्च गरेका छन् । गाउँका गीतहरु बनेका छन् । हातहातमा आइपुगेको प्रविधिमार्फत् गाउँलेबाटै हुने प्रवद्र्धनात्मक गतिविधिको अलावा विभिन्न तहका सरकारबाट पनि आफ्नो क्षेत्रलाई पर्यटनसँग जोड्ने काम भइरहेको छ । नेपाल सरकारले देशकै पर्यटन प्रवद्र्धनको लागि निजी क्षेत्रसँगको साझेदारीमा काम गर्ने गरी नेपाल पर्यटन बोर्डको स्थापना गरेको छ । पर्यटन बोर्डले निजी क्षेत्रलाई सघाउँछ, प्रवद्र्धनात्मक गतिविधि गर्छ । देशभित्र र बाहिर गरिने यस्तो प्रचारले पर्यटन उद्योग फस्टाएको बोर्डको दाबी छ ।
पर्यटनमा प्रवद्र्धन र ब्राण्डिङको विशेष महत्व हुन्छ । २००७ सालअघि नेपाल बाहिरी विश्वको लागि खुला थिएन । केही सीमित कुटनीतिज्ञ र धाार्मिक व्यक्तिहरुलेमात्र नेपाल भ्रमण गर्ने त्यो बेला अहिलेजस्तो प्रचारको विद्युतीय सामग्री पनि थिएन । २००७ सालमा चाहिँ नेपाल बाहिरी विश्वको लागि खुला भयो । त्यही बेला नेपालमा हिमाल आरोहण गतिविधि सुरु भयो । आरोहीहरुले विश्व बजारमा नेपालको प्रचार गरिदिए । बिस्तारै नेपाल पदयात्राको लागि पनि उत्तिकै उत्कृष्ट गन्तव्य भएको सन्देश विश्व बजारमा पुग्यो । मुखमुखै भएको त्यो प्रचारकै कारण नेपालमा विदेशीहरु आउने क्रम ह्वात्तै बढ्यो । पर्यटकीय संरचनाहरु निर्माण भए । पर्यटन उद्योगमा लगानी बढ्यो । तर, २०५१ सालमा आइपुग्दा देश आन्तरिक द्वन्द्वमा फस्यो । बन्दुकको आवाज र बारुदको गन्धले पर्यटन उद्योगमा नकारात्मक प्रभाव प¥यो । पर्यटन क्षेत्रमा भएको लगानी जोखिममा परेसँगै पोखराले बाह्य हैन, आन्तरिक पर्यटकलाई आकर्षित गर्ने अभियान चलायो । तत्कालीन पश्चिमाञ्चल होटल संघले ‘जाऊँ है पोखरा’ भन्ने नारासहित संचालनमा ल्याएको सो अभियानले आन्तरिक पर्यटन उद्योगमा सकारात्मक प्रभाव पा¥यो । द्वन्द्वकालीन समयमा पनि पोखराको पर्यटन टिकाउन सो अभियानले भरथेग ग¥यो । होटल संघले अहिले पनि यो अभियान संचालन गरिरहेको छ । पोखराकै सिको गर्दै अन्य प्रदेश र सहरहरुले पनि यस्ता गतिविधि संचालन गरिरहेका छन् । अहिले पर्यटक भनेका तेस्रो मुलुकबाट आउनेमात्र नभएर आन्तरिक पनि हुन् भन्ने मान्यता स्थापित भएको छ । नेपालीहरुमा घुम्ने संस्कृतिको विकास भएको छ । यो स्वागतयोग्य विषय हो । पर्यटन भनेको सेवा पस्कने र कथा बेच्ने उद्योग हो । यो उद्योगको लागि प्रचार जरुरी छ । अहिले प्रचारको माध्यमहरु फेरिएका छन् । मान्छेको हातहातमा रहेको मोवाइलमार्फत् नै पाहुना बोलाउन सकिने यो जमानामा अब प्रवद्र्धनात्मक गतिविधिहरुलाई अझ परिस्कृत र गुणस्तरी बनाइनुपर्छ । प्रवद्र्धनको नाममा गरिने खर्च परिणाममुखी हुनुपर्छ । हचुवाको भरमा गरिने कर्मले प्रतिफल दिँदैन । बजारीकरण गरिरहँदा सेवाको गुणस्तरमा पनि सुधार गरिनुपर्छ ।




