बागलुङ/गलकोट नगरपालिका वडा नं. ११ रिघाले स्वयंसेविका तथा समुदायका लागि आँखा स्वास्थ्यसम्बन्धी तालिम सञ्चालन गरेको छ । वडा कार्यालय रिघाको आयोजनामा २०८३ असार १ गते वडा कार्यालयमा तालिम सम्पन्न भएको हो ।
तालिममा आँखाको आधारभूत परीक्षण, आँखा लाग्ने रोगको पहिचान, बच्ने उपाय र समयमै उपचारका लागि स्वास्थ्य संस्थामा रिफर गर्ने विषयमा सहभागीलाई जानकारी गराइएको थियो ।
कार्यक्रमको सह–आयोजन तथा व्यवस्थापन रिघा स्वास्थ्य चौकीले गरेको थियो भने प्राविधिक सहयोग नेत्र ज्योति संघ बागलुङ, धौलागिरि आँखा हस्पिटल बागलुङ र गलकोट आँखा उपचार केन्द्रले गरेको थियो। गलकोट आँखा उपचार केन्द्रका डा. बिनम लामिछानेले आँखा स्वास्थ्यको महत्व र घरमै गर्न सकिने हेरचाहका बारेमा प्रशिक्षण दिएका थिए ।
समन्वय तथा आर्थिक सहयोग गलकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखाले गरेको थियो ।
वडाध्यक्ष डम्बर श्रीसले समुदायस्तरमै आँखा स्वास्थ्यको चेतना फैलाउन तालिम आयोजना गरिएको बताए । ‘गाउँगाउँमा रहेका महिला स्वयंसेविका दिदीबहिनीले पहिलो तहमा नै आँखाको समस्या पहिचान गरेर अस्पताल पठाउनुभयो भने धेरै मान्छेको आँखा बचाउन सकिन्छ । यही उद्देश्यले तालिम राखेका हौँ,’ अध्यक्ष श्रीसले भने ।





