पोखरा यतिबेला पर्यटकले गुलजार छ । गर्मी छल्ल आफ्नै वा भाडाका गाडीमा भित्रिएका भारतीय पर्यटकले होटलहरु खचाखच छन् । पोखरा भित्रिएकाहरु अझ चिसो र मोक्ष खोज्न मुक्तिनाथसम्म पुगेका छन् । वरपरका सवैजसो गन्तव्यको चहलपहलले ‘अफ सिजन’ बिर्साएको छ । ‘पोखरा सवै मौषमका लागि’ भन्ने नारा सार्थक बनेको छ ।
पर्यटन नेपालको सवैभन्दा ठूलो सम्भावना बोेकेको उद्योग भएकोमा कुनै द्विविधा छैन । आरोहण र पदयात्राबाट सुरु भएको नेपालको पर्यटनमा सभा–सम्मेलन,मनोरञ्जन,धार्मिकलगायत विधा थपिएका छन् । आरोग्य र खेल पर्यटनको सम्भावनाबारे पनि बहस सुरु भएको छ । पर्यटन बहुआयामिक हुन्छ । फुर्सदको आनन्द लिन आउने पर्यटकले गर्ने खर्चले देशको अर्थतन्त्रमा धेरथोर योगदान गर्छ । अर्थतन्त्र चलायमान हुँदा त्यसको लाभ सीमान्तकृतसम्म पुग्छ । यो तथ्यको पुष्टि गर्न टाढा जानै पर्दैन । एसियाकै केही नाम चलेका पर्यटकीय गन्तव्यलाई हेरे पुग्छ । नेपालजस्तो सानो अर्थतन्त्र र सीमित अवसर भएको देशका निम्ति पर्यटन वरदान हो । प्रकृतिले नेपाललाई दिल खोलेर सुन्दरता प्रदान गरेको छ । उपयोगमा चुक्नु,व्यापक प्रचार गर्न नसक्नु बिडम्बना होला तर सम्भावना चाहिँ पर छैन भन्ने भारतीय पर्यटकको आगमनले पुष्टि गरेको छ । दैनिकजसो २ हजारको हाराहारीमा भित्रने भारतीय नम्बर प्लेटका गाडीहरुले सम्भावनाको नूतन अध्यायको प्रष्ट रुप देखाइदिएको छ । भारतीयहरु गर्मी छल्न र धार्मिक यात्राको लागि नेपाल आएका हुन् । नजिकको नेपाल भारतीयको लागि रहनसहन र खर्चका हिसाबले सुहाउँदो छ । पर्यटक भनेका तेस्रो मुलुकका मात्र हुन् भन्ने मान्यताबाट निस्केर भारतीय बजारमा प्रवद्र्धनात्मक गतिविधि संचालन गरेकै कारण अहिलेको अवस्था आएको हो । प्रवद्र्धनले संख्या बढाउँछ । संख्या बढेसँगै नेपालको पर्यटन उद्योगले आफूलाई परिमार्जन गर्नुपर्ने,सुविधा थप्नुपर्ने र पाहुनाको रुचि अनुसारको सेवा पस्कनुपर्ने पाठ पनि सिकाएको छ । भारतीय पर्यटकको आनीबानीसँग परिचित हुनु,उनीहरुले खोजेजस्तो सेवा प्रदान गर्नु तथा उनीहरुलाई बढीभन्दा बढी खर्च गर्न उत्प्रेरित गर्ने खालका गतिविधि अब बाञ्छनीय देखिन्छ । त्यसका अलावा,संख्या बढ्दा उत्पन्न हुने समस्याप्रति पनि व्यवसायी र राज्यको अर्जुनदृष्टि हुनुपर्छ । भारतीय पर्यटकहरु मुक्तिनाथ पुग्ने उपक्रम बढेको सन्दर्भलाई पनि बिर्सन मिल्दैन । सोझै उचाइमा पुग्दा लेक लाग्ने र पर्यटकहरुको मृत्युसम्मका घटना न्यूनीकरण गर्न सही सूचना संप्रेषण,लेक लाग्दा तत्काल आवश्यक पर्ने प्राथमिक उपचारको प्रबन्ध र उद्धारमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।
घर छाडेका पर्यटकहरुले अनुशासनको लक्ष्मणरेखाप्रति ध्यान दिँदैनन् । नेपालको कानूनबारे जानकारी नहुँदा पनि उनीहरुबाट अवाञ्छित गतिविधि हुने सम्भावना रहन्छ भने ठूलो संख्यामा आउने पर्यटकमध्ये कोही आपराधिक मनोवृत्तिका पनि हुन सक्छन् । ध्यान दिनुपर्ने नै त्यही हो । अकोतर्फ, नेपालमा आउने पर्यटकले दैनिक सरदर ६० डलर वरपर खर्च गर्ने गरेको तथ्याङ्क छ । यो रकममा बढोत्तरी अहिलेको आवश्यकता हो । त्यसका लागि संख्यासँगै खर्चालु पर्यटक आकर्षित गर्ने योजना पनि बनाउनै पर्छ । पर्यटक माहुरीजस्तै हुन् । जसरी माहुरीलाई पोलेर मह काढिदैन, त्यसरी नै उनीहरुको मन पगालेर फेरी नेपाल फर्कने वातावरण निर्माण गर्नुपर्छ । नेपाल सुरक्षित छ, आत्मियता पस्कन्छ भन्ने सन्देशले मात्र पर्यटन उद्योग दिगो हुन्छ ।




