शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

म्याग्दी पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा

म्याग्दी पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा


  • अमृत बास्कुने
  • असार १८ २०८३, बिहिबार

म्याग्दी/जिल्लाभित्रका १५ महिना भन्दा मुनिका एक हजार ८० जना बालबालिकाले नियमित रुपमा खोप लगाइ रहेको र १६ देखि ५९ महिनाका तीन हजार ९ सय ७४ जना बालबालिकाले पूर्ण खोप लगाएको सुनिश्चित भए पछि जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ ।

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेले जिल्ला खोप समन्वय समिति म्याग्दीका संयोजक डिलकुमारी खत्री तथा सदस्य सचिव भुवन ठकुराठीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगो पनाको प्रमाणपत्र प्रदान गरेसँगै म्याग्दी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको हो ।

मंगलबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर म्याग्दी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । यस भन्दा अगाडी ६ वटै पालिका पूर्ण खोप घोषणा भएको थियो । त्यसैगरी पालिका पूर्ण खोप हुनुभन्दा पहिला ४५ वटै वडाहरुलाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपाना घोषणा गरिएको थियो ।

रघुगंगा गाउँपालिकाले गाउँपालिका भित्रका १५ महिना भन्दा मुनिका एक सय १५ जना बालिबालिकाले नियमित खोप लगाइ रहेको र १६ देखि २३ महिनाका ९३ जना र २४ देखि ५९ महिनाका चार सय ६० गरी कुल पाँच सय ५३ जना बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता गरे सँगै पालिकालाई पूर्ण खोप दिगोपना तथा सुनिश्चितता घोषणा गरेको थियो ।

धवलागिरी गाउँपालिकामा जन्मेदेखि १५ महिना भित्रका एक सय ५७ जना बालबालिकाले खोप लगाएको खोप कार्ड सहित प्रमाणित गरिएको र १६ देखि ५९ महिना सम्मका पाँच सय ३४ जनाले पनि पूर्ण खोप लगाएको पुष्टि भए पछि पूर्ण खोप पालिका घोषणा गरिएको थियो ।

अन्नपुर्ण गाउँपालिका भित्र रहेका १५ महिना मुनिका एक सय २४ जना बालबालिकाले नियमित खोप लगाइ रहेको र १६ देखि ५९ महिना सम्मका तीन सय ९२ जना बालबालिकाले पूर्ण खोप पाइ सकेको सुनिश्चित गरी प्रमाणीकरण गरेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो ।

अन्नपुर्ण गाउँपालिकामा हाल जन्मेदेखि ५९ महिनासम्मका कुल पाँच सय १६ जना बालबालिकाहरु खोपको दायरामा रहेको अन्नपुर्ण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालको भनाई छ ।

मंगला गाउँपालिकामा १५ महिना मुनिका १४० जनाले पूर्ण खोप पाएको र १६ देखि ५९ महिनाका पाँच सय ६१ जना बालबालिकाले १५ महिना भित्र लगाउनु पर्ने पुरै खोप पाएको सुनिश्चित भए पछि पूर्ण खोप सुनिश्चित तथा दिगोपन घोषणा गरिसकिएको थियो ।

बालबालिकालाई १५ महिनाभित्र बिसिजी, रोटा, पोलियो, एफआईपीभी, पिसिभि, डिपिटी, हेपटाइटिस बी, दादुरा रुवेला र जापानीज इन्सेपलाइटिसलगायतका १४ रोगविरुद्ध ११ वटा खोप लगाउने तालिका हुन्छ ।

हाल नेपालमा १६ हजार भन्दा बढी खोप केन्द्रहरुमा १७ हजार भन्दा बढी खोप सेसन हुने प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताए ।

नेपालको संविधानको धारा ३५ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नै प्रत्येक बालबालिकालार्य पूर्ण खोप पाउने कानुनी व्यवस्था गरेको छ । विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार पनि वर्षेनि पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा गर्ने गरिएको जिल्ला खोप समन्वय समितिले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ मा स्थानीयतहको काम कर्तव्य र अधिकार तथा वडा समितिको काम कर्तव्य र अधिकारभित्र आधारभूत स्वास्थ्य सेवा अन्तरगत खोप सञ्चालनको व्यवस्था गरेको छ ।

म्याग्दी जिल्लालाई २०७१ चैत १५ गते पूर्ण खोप घोषणा गरिएको थियो भने हाल सम्म पनि सबै वडा तथा पालिका हुँदै जिल्लालाई नै पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->