धनुषबाण विश्वको पुरानो खेल हो । महाभारतकालीन समय सम्झने हो भने यो युद्धको सवैभन्दा भरपर्दो हतियार थियो । युरोपदेखि चीनमा पनि धनषबाणको प्रयोग र खेलहरु आयोजना भएका प्रमाणहरु छन् । आदिमकालमा सिकार र आत्मरक्षाका लागि यो हिमाली देशका मान्छेले सायद धनुषबाण समाए होलान् ।कालान्तरमा यो मनोरञ्जनको साधन पनि बन्यो । नेपालको हिमाली जिल्लातिरको सांस्कृतिक परम्परासँग जोडिएको धनुषबाणलाई ‘तारा खेल’ पनि भनिन्छ । सन् १९०० को ओलम्पिकमा पहिलोपटक समावेश हुँदा त्यही नेपाली ‘धनुषबाण’ खेलले आर्चरीको उपमा पायो । सन् १९७२ को ओलम्पिकदेखि नियमित रुपले समावेश रहेको यो खेल नेपालमा भने गाउँघरतिर नै सीमित रह्यो । निश्चित जात र भेगका मानिसहरुले मात्र खेल्ने यो खेलको २०६२ सालमा पहिलो राष्ट्रिय प्रतियोगिता आयोजना गरियो । सन् २००५ मा नेपालले पहिलोपटक एसियन अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लियो भने भारतको नयाँ दिल्लीमा त्यसको एक वर्षपघि आयोजित एसियन आर्चरी च्याम्पिएनसीपमा कास्य पदक प्राप्त ग¥यो । सन् २०१२ मा भने नेपालले ‘वाइल्ड कार्ड’मार्फत् ओलम्पिकमा सहभागिता जनायो ।
तारा खेल थकालीसँगै हिमाली र पहाडी क्षेत्रमा बसोबास गर्ने अन्य जातजातिहरु पनि यो खेलसँग जोडिएका छन् । यो उनीहरुको मौलिक खेल पनि हो । तारा खेल अर्थात् आर्चरीलाई व्यावसायिक बनाउन तथा खेलकै रुपमा स्थापित गर्न गण्डकी र पोखराका खेलाडीहरुको विशेष योगदान रहेको छ । आर्चरी संघको गठन र प्रशिक्षणजस्ता गतिविधिले गर्दा नै यो खेलले विस्तारै व्यापकता पाउँदै गएको हो । तर, अझै ओलम्पिकमा समावेश यो खेलको समुचित विकास हुन सकेको छैन । नेपालमा खेल संस्कृतिको विकास भएकै छैन । राज्यले खेलकुदमा केही लगानी त गरेको छ तर त्यो कनिका छरेजस्तै छ अनि परिणाम निस्कन सकेको छैन । खेलकुदले देशको इज्जत बढाउँछ,राष्ट्रियता बलियो बनाउँछ भन्ने तथ्यप्रति राज्यले ध्यान नदिँदा यो अवस्था आएको हो ।
यतिबेला विश्वकप फुटबल जारी छ । विश्वकपको रौनकबाट नेपाल पनि अछुतो छैन तर विश्वकपमा नेपालको सहभागिता धेरै टाढा देखिन्छ । ओलम्पिकमा पदकको सम्भावना रहेका क्रिकेट, तेक्वाण्डो,करातेलगायतका एथेलेक्टिसका खेलहरुलाई विद्यालय तहसम्मै पु¥याउने र नयाँ खेलाडी उत्पादन गर्नेतर्फ खेलकुद मन्त्रालय र सरकारको ध्यान छैन । संस्कृतिसँग जोडिएको र देशका जुनसुकै भागमा पनि खेल्न सकिने तारा अर्थात आर्चरी पनि ठूलो सम्भावना बोकेको खेल हो । खेलमा लागेर जीविकोपार्जन गर्न कठिन रहेको नेपाली समाजमा संस्कृतिसँग जोडिएको यो खेललाई स्थापित गर्नका निम्ति राज्य तहबाट पहलकदमी लिइयोस् । राज्यले थोरैमात्र लगानी गर्दा पनि यो खेलले देशको शिर उँचो पार्न र विश्व खेलजगतमा नेपालको नाम रोशन गर्न सक्छ । यो खेलले व्यावसायिक रुप लिने हो भने हाम्रा हिमाली भेगको पर्यटन प्रवद्र्धनमा पनि सघाउँछ ।




