बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मोदीको पहिलो ‘बोरिङ’ योजनाले तिलाहारका डेढ सय बढी घरमा पानीको सुविधा

मोदीको पहिलो ‘बोरिङ’ योजनाले तिलाहारका डेढ सय बढी घरमा पानीको सुविधा

वर्षाैदेखि खानेपानीको अभाव झेल्दै आएका तिलाहार क्षेत्रका स्थानीयका लागि आयोजना आशाको किरण बनेको छ ।


  • स‌जय रेग्मी
  • असार २१ २०८३, आइतबार

पर्वत/ जिल्लाको मोदी गाउँपालिकास्थित तिलाहारबासीहरु मोदी खोला र रती खोलाको नजिकै बस्छन् । घरमा घरमा पानीका धारा जडान भएको भए पनि गत वर्ष भने उनीहरुले एक किलोमिटर पैदल यात्रा गर्दै रती खोलामा बगिरहेको धमिलो पानीले गुजारा चलाए ।

करिब ११ किलोमिटर टाढा पञ्चासे क्षेत्रबाट आएको पानीको ‘पाइप लाइन’ मा समस्या आउँदा एक त समस्या पत्ता लगाउनै कठिन, अर्को पत्ता लागे पनि मर्मत कसले र कसरी गर्ने समस्या ?

तिलाहार खानेपानी व्यवस्थापन समितिका अध्यक्ष देबहादुर लामिछानेले निकै टाढाबाट ‘पाइप’ मा पानी ल्याउँदा मुख्य गरी वर्षाको समयमा पहिरो जाँदा पाइप टुटफुट हुने, पहिरोमा बग्ने, मुहान थुनिने लगायतको समस्या हुने गरेको सम्झिए । ‘नजिकै भए भए त जसले पनि हरेर मर्मत गर्न सकिन्थ्यो । टाढा भएपछि जान नै नसकिने, गए पनि पाइप जडानमा प्राविधिक मान्छे चाहिने । पानीको त पाउनुसम्मको दुःख पाएका थियौँ’, उनले भने, ‘हाम्रो गाउँको वरिपरि स्थायी खालका पानीका मुहान छैनन् । सोप्रेबाट २०६४ बाट पानी ल्याएर खाइरहेका छौँ । त्यही योजना पनि पूरा भएको छैन । कहिलेकाहीँ त पहिरोले २ महिनासम्म पनि पानी खान पाएनौँ । एक किलोमिटर हिँडेर रती खोलाको धमिलो पानीले तिर्खा मेटायौँ ।’ कहीँ बिग्रियो भने दिनभर जङ्गल र भीरमा गएर समस्या पत्ता लगाउनुपर्ने बाध्यता रहेको थियो ।

गाउँमा पानीको आपूर्ति भएको पानीको अर्को मुहान करिब ९ किलोमिटर टाढा कास्कीको सल्यानमा छ । २०२८ सालबाट सल्यानबाट तिलाहारमा पानी आएको भए पनि समयानुसार यसको स्तरोन्नतिका लागि बजेटको व्यवस्थापन हुन सकेन । पुरानो भएका कारण बेलामा बेलामा ‘पाइपलाइन’ मा समस्या आउने गरेको थियो । कहाँनेर समस्या भयो भनेर पत्ता लगाउन भीर र जङ्गलमा दिनभरजसो ‘पाइप’ हेर्दै मुहानसम्म पुग्नुपर्ने बाध्यता थियो ।

गाउँमा पानीको अभाव भएको बेलामा कुनै पनि सरकारबाट बजेट विनियोजन नभएको स्मरण गर्दै उनले पाइप खरिद गरेर पानी गाउँसम्म ल्याउँदा आफूले लगानी गरेको ५० हजार रुपैयाँसमेत हालसम्म नपाएको सुनाए । खोलाका आसपासमा रहेको बस्तीमा पानीको चरम दुःख भएपछि गत वर्ष गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेसँगको सहकार्यमा २५ लाख रुपैयाँ विनियोजन भएको अध्यक्ष लामिछानेले बताए ।

गाउँपालिकामा नै पहिलो पटक ‘बोरिङ’ का लागि परीक्षण पनि हुने र पानी निस्किएमा ‘पाइप’ बिस्तारका लागि स्रोत खोजी गर्ने योजना सहित गत वर्षको चैतमा ‘बोरिङ’ को काम सुरु भएको थियो । परीक्षणको क्रममा करिब ६ मिटरको गहिराइमा नै पानीको राम्रो र स्थायी स्रोत फेला परेकोले गाउँमा पानीको वर्षौँदेखिको समस्या समाधान हुने अन्तिम चरणमा रहेको उनको भनाइ छ ।

६ मिटरको गहिराइबाट नै प्रशस्त मात्रामा पानी फेला परेको भए पनि यसलाई स्थायी बनाउन ९० मिटर गहिरो ‘बोरिङ’ गरिएको छ । यही ‘बोरिङ’ लाई नै पानीको स्थायी आपूर्तिका रूपमा लिने गरी अहिले ‘बोरिङ’बाट मुख्य ‘ट्याङ्क’ सम्म ‘पाइप’ बिस्तारको काम चलिरहेको छ । पञ्चासेबाट पानी ल्याएको योजनाअन्तर्गत हरेक घरमा धारा निर्माण भइसकेकोले मुख्य ‘ट्याङ्क’ मा पानी खस्दासाथ गाउँका १ सय ६० घरमा पानीको सहज आपूर्ति हुने भएको छ ।

‘गाउँपालिकाको २५ लाख रुपैयाँ बजेटबाट बोरिङका काम भएको छ । पानीको स्थायी प्रबन्ध हुने भएपछि पाइपलाइन तथा थप व्यवस्थापनको लागि लगानीका स्रोत खोजौँला भनेर काम सुरु गरिएको थियो’, गाउँपालिकाका उपाध्यक्ष लामिछानेले भने, ‘अहिले पाइपको बिस्तारको काम चलिरहेको छ । घरमा–घरमा चाहिने धारा सोप्रेको मुहानबाट नै जोडिएर तयारी अवस्थामा रहेकोले मुख्य ट्याङ्कीमा पानी खस्दासाथ सहज आपूर्ति भइहाल्छ ।’ करिब ३ सय वर्ष पुराना पानीका मुहानहरू भूमिगत रूपमा रहेकाले पनि ‘बोरिङ’बाट सहजै र प्रशस्त पानी आएको उनले बताए । आयोजनाको सफलताले सुरक्षित खानेपानी र समृद्ध मोदी निर्माणको यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल भएको उनको भनाइ छ ।

वर्षाैदेखि  खानेपानीको अभाव झेल्दै आएका तिलाहार क्षेत्रका स्थानीयका लागि आयोजना आशाको किरण बनेको छ । परम्परागत मुहानमा पानीको मात्रा घट्दै जानु, सुक्खा याममा पानीको चरम अभाव हुनु तथा जलवायु परिवर्तनको असरका कारण खानेपानी सङ्कट बढिरहेका बेला भूमिगत जलस्रोतको उपयोग गर्दै सञ्चालन गरिएको यो आयोजना गाउँपालिकाको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । स्थानीय सरकारले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका आवश्यकता पूरा गर्न प्राथमिकता दिएको भन्दै उपाध्यक्ष लामिछानेले सुरक्षित खानेपानी उपलब्ध गराउन सक्दा स्वास्थ्य, सरसफाइ र समग्र जीवनस्तर सुधारसँग पनि यो विषय जोडिएको बताए ।

खानेपानीको अभावका कारण दैनिक घण्टौँ समय पानी बोक्न बाध्य स्थानीय महिलाहरू, ज्येष्ठ नागरिक तथा बालबालिकाले आयोजना सञ्चालनमा आएपछि ठुलो राहत महसुस गर्ने अपेक्षा गरिएको छ । घरघरमा धारा पुगेपछि समयको बचत हुनुका साथै सरसफाइ, स्वास्थ्य र घरेलु जीवन पनि सहज बन्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->