‘घनघस्याको उकालो काट्दा’ नियात्रा सुप्रसिद्ध निबन्धकार तारानाथ शर्मा (वि.सं. १९९१) द्वारा लिखित एक उत्कृष्ट यात्रा–संस्मरण हो । शर्मा नेपाली साहित्यमा नियात्रा विधाका सुरुवातकर्ता हुन् । सुदूरपूर्व इलाममा जन्मेका नियात्राकार शर्मा वि. सं. २०२४ सालमा सुदूरपश्चिमको यात्रा गर्ने क्रममा घनघस्याको विकट उकालो हिंडेका छन् । यात्रामा निस्किदा टोपी खस्ने घनघस्याको उकालो चढ्दा उत्पन्न भावलाई यहाँ व्यक्त गरिएको पाइन्छ । निजात्मक शैलीमा प्रस्तुत यस नियात्रामा प्राकृतिक परिवेशले पारेको अमिट छापलाई मानवीकरण गरिएको छ ।
प्रकृतिप्रेमी शर्माले नेपालका विभिन्न भू–भागको यात्राका क्रममा भोगेका अनुभव, देखेका प्राकृतिक सौन्दर्य, भेटेका मानिसहरूको ग्रामीण जीवनदर्शन, संस्कृति, परम्परा, सामाजिक असमानता र विकृति विसङ्गतीको चित्रणसङ्गै सामाजिक यथार्थतालाई जीवन्त रूप दिने गरेका छन् । सरल, रोचक र व्यङ्ग्यात्मक शैलीमा साहित्य रचना गर्ने उनले यस संस्मरणमार्फत यात्रा स्थान परिवर्तन मात्र नभई जीवन दर्शनसङ्गै समाज र मानिसलाई बुझ्ने माध्यम भएको सन्देश दिएका छन् ।
कृतिले पाठकलाई नेपालको ग्रामीण यथार्थ, मानवीय संवेदना र प्रकृति प्रेमको अनुभूति गराउँछ । यात्राका क्रममा लेखकले कठिन उकालो–ओरालो पार गर्दै गाउँका मेहनती र सरल मानिसहरूसँग भेटघाट गर्छन् । उनीहरूले भोगिरहेका अभाव र दुःखलाई नजिकबाट अनुभव गर्छन् । साथै, नेपाली प्रकृतिको अनुपम सौन्दर्य, गाउँलेहरूको आतिथ्यभाव र परिश्रमको प्रशंसा गर्छन् । लेखकले दुर्गम बाटो, उकाली–ओराली, छाँगा–छहरा, घनघोर जंगल, खोला–खोल्सा र पर्वत श्रेणीहरु पार गर्दै विभिन्न गाउँमा पुग्दा ‘घनघस्याको उकालो’ जीवन संघर्ष र चुनौतीहरूको प्रतीक मानेका छन् ।
यात्रा निकै कठिन भए पनि प्रकृतिको अनुपम सौन्दर्यले उनलाई उत्साहित बनाउँछ । नियात्रामा हरिया वन, डाँडाकाँडा, हिमशृङ्खला, नदीनाला, झरना तथा स्वच्छ पर्यावरणको वर्णनले नेपाली प्रकृतिको मनमोहक रूप प्रस्तुत गरेको छ । सुन्दर प्रकृति एवं हिमालको काखमा अवस्थित देश नेपालमा हिउँमा खेल्ने अवसर पाएर नियात्राकार पुलकित भएको तथ्य यहाँ प्रस्तुत छ ।
लेखकले ग्रामीण समाजका मानिसहरूको सरलपन, इमानदार स्वभाव, परिश्रमी र सहयोगी भावनाको खुलेर प्रशंसा गरेका छन् । आर्थिक अभावका बीच पनि पाहुनाप्रति देखाएको आत्मीय व्यवहारले उनीहरुलाई प्रफुल्लित तुल्याएको हो । यसर्थ अतिथि सत्कारको नवीनपनले नेपालीहरूको मानवीयता र संस्कृतिलाई उजागर गरेको छ ।
संस्मरणमा आजको एक्काइसौं शताब्दीमा पनि अशिक्षा, गरिबी र बेरोजगारीले मानवीय दैनिकी मन्द चलिरहेको, स्वास्थ्य सेवा र सडकको अभावमा गाउँले जीवन कठिन बनेको खुलाइएको छ । नियात्राकारले जोगबनीदेखि धरान, भादगाउँदेखि बाह्रबिसे, सिंहदरबार अगाडिको बाटो र बुटवल भैरहवाको बाटोलाई सरापेका छन् । यी बाटाहरू कालोपत्रेले सुविधा सम्पन्न भएका तर घनघस्याको बाटो त्यस्तो थिएन । अप्ठ्यारो गोरेटो बाटोमा हिँड्नुपर्दा अन्य विभिन्न ठाउँका सडकहरुलाई सम्झेर सराप्नुपरेको हो । यसकारण ग्रामीण जीवनका समस्याप्रति लेखकको झुकाव देखिन्छ । भने, सामाजिक असमानता, जातीय विभेद र अन्धविश्वासको आलोचना गरिनुले लेखक स्वयं प्रगतिशील विचार बोकेर हिंडेको बुझिन्छ । समाजको विकासका लागि शिक्षा, स्वास्थ्य, सडक सञ्जाल, जनचेतना, समान अवसर र वैज्ञानिक सोच आवश्यक रहेको विचार यहाँ व्यक्त छ ।
नियात्रामा घनघस्याले टाउकामा बरफको केरा फुलाएर रिसाएको, अररो वृद्ध शरीर गजघुम्म परेको, टाउको मन्द मन्द दृढ हुँदै गएको भनेर मानवीकरण गरिएको छ । यता पोखरामा लुकीलुकी, भाँसिदै बग्ने सेती नदी र घनघस्याको रिसमा समानता रहेको छ । तर घनघस्या भने ठाडोको ठाडै रहे पनि यी दुई बिचमा अनन्त भिन्नता रहेको कुरा यहाँ उदृत छ । नियात्राकार शर्माले घनघस्यालाई केन्द्रमा राखेर समग्र देशको प्राकृतिक सुन्दरतालाई प्रकट गरेका छन् । उनलाई जोगबनीदेखि धरानसम्मको बाटोमा तिर्खा लाग्दा पानीसमेत खान नपाएर रुँदै पसिनाले निथुक्कै भिज्दै हिंड्नु परेको थियो, भने घनघस्याको उकालो चढ्दा ठसठस कन्दै, मुटु फुट्ने गरी फिटफिटी परेर हिंड्नु परेको थियो । तर निल आर्मस्ट्रङहरू चन्द्रमा पुग्दा वैज्ञानिक उपकरण र सामग्रीहरु भएकाले फिटफिटी नपरेको दृष्टान्त यहाँ वर्णित छ ।
हाम्रो देश नेपाल सगरमाथाको देश हो । हिमालयको अथाह सौन्दर्य बोकेर विश्वसामु भूस्वर्गको परिचय कमाएको देश नेपालमा हिउँ खेल्न र हेर्न मात्रै वर्षौं लाखौं विदेशीहरू आउँछन् । तर नेपालकै अधिकांशले हिउँ हेर्न र खेल्न पाएका छैनन् । लेखकले बेलायतमा हिउँका विविध परिचय पाए पनि नेपालमा भने पहिलो पटक सतबा लेकको हिउँमा खेल्ने र रमाउने अवसर पाएका छन् । त्यो उनको आफ्नो देशको हिउँ थियो । आफ्नोपन अनि नेपाल जस्तो सुन्दर हिमाली मुलुकको हिउँ थियो । आफ्नै जन्मभूमिमा मनभरि हिउँमा रमाउन पाउँदा लेखकलाई अपूर्व आनन्दानुभूति हुन्छ । लेखक र उनका साथीहरु धेरै समयसम्म हिउँमा खेल्छन् । हिउँका डल्लाले एकअर्कालाई हिर्काउँदै र कहिले हिउँका थुप्रामा आकृति बनाउँदै सतबाँझमा समयलाई जिस्क्याउँछन् ।
तथापि घनघस्याको विकट उकालो चढ्ने क्रममा प्रलय वेदना उत्पन्न हुन्छ । डरलाग्दो जङ्गलले घेरिएको ढुङ्गेनी बाटोले भयभीत बनाउँछ । उनीहरुको टोलीले उकालो काट्दा विभिन्न समस्याको सामना गर्नुपर्छ । विकट भूगोल, सेवासुविधाको अभावका कारण गन्तव्य पुग्न निकै मिहिनेत गर्नुपर्छ । घना जङ्गल, तिखा ढुङ्गा, डरलाग्दो उकालो, वन्यजन्तुको डर, खाना पानीको अभावका कारण उनीहरुले धेरै अपठ्यारा परिस्थितीको सामना गर्नु पर्छ ।
समग्र जीवनलाई नै संघर्षको पर्याय ठान्ने नियात्राकार शर्माले प्रकृतिसँग जुध्नु, खेल्नु र आनन्द लिनुलाई जीवनको सार मानेका छन् । उनले यही बुझाइलाई छातीमा राखेर सुदूरको यात्रामा निक्लेको यथार्थ प्रस्तुत गरेका छन् । उनी नेपालका विभिन्न रमणीय प्राकृतिक स्थलहरूको भ्रमणमा प्रकृतिसित रमाइलो गरी जीवन ज्यूँन चाहन्छन् । उनी तुम्लिङमा हिउँ खेल्न, खप्तडमा वसन्त बिताउन, राजापुरको काँसेघारीमा झ्याउरे गाउन चाहन्छन् । घनघस्याको, तिल्केनीको, पुवा खोलो, टुकुचा अनि चन्दनीको उकालो, अघोरी गाड, सतबाँझको लेक, ट्याम्के डाँडो, चन्द्रगिरि, अन्तु डाँडो सबैमा उनको गहिरो प्रेम छ । प्रकृतिको काखमा रमाउँदाको आनन्दलाई हृदयङ्गम गर्नकै लागि उनी सुदूपश्चिमको यात्रामा निस्केका हुन् ।
यात्राका क्रममा उनले विभिन्न व्यक्तिहरूसँग भेटघाट गर्छन् । उनीहरूका दुःख, संघर्ष, अनुभव र जीवनप्रतिको दृष्टिकोणले लेखकलाई गहिरो प्रभाव पार्छ । यसबाट मानिसको महानता धनमा नभई परिश्रम, इमानदारीता, सहयोग र मानवतामा रहेको सन्देश प्राप्त हुन्छ । लेखकले सामान्य घटनालाई पनि जीवन्त ढङ्गले प्रस्तुत गरेका छन् । सरल भाषाशैलीमा रचित यस नियात्रामा ठाउँ ठाउँमा हास्यव्यङ्ग्य समेटिएकोले रोचक बनेको छ ।
नेपाली यात्रा–साहित्यको उत्कृष्ट कृति ‘घनघस्याको उकालो काट्दा’ शीर्षकको नियात्राले नेपाली ग्रामीण जीवन, प्राकृतिक सौन्दर्य, सामाजिक यथार्थ र मानवीय मूल्यलाई प्रस्तुत गरेको छ । नियात्राले मानव मनलाई जीवनप्रति सकारात्मक सोच राख्दै समाजप्रति जिम्मेवार बनेर संघर्ष गर्न प्रेरणा दिएको छ । मानव जीवनमा आउने कठिनाइहरू ‘घनघस्याको उकालो’ जस्तै हुन् । दृढ आत्मविश्वास, निरन्तर परिश्रम, धैर्यता र साहसका साथ अघि बढ्न सके जुनसुकै चुनौती र परिस्थितिको सामना गर्न सकिन्छ । ग्रामीण समाजमा शिक्षा, स्वास्थ्य, यातायातको विकास हुनुपर्छ । समानता, मानवता र प्रकृतिप्रेम नै समृद्ध समाज निर्माणका आधार हुन् । नेपालीहरुले आफूमा भएको राष्ट्रप्रेमको भावनालाई हिउँझैँ सफा र चम्किलो बनाउनु पर्छ । प्रकृतिको आरोह अवरोहलाई आनन्दानुभुतिको माध्यम बनाउदै प्रकृतिसङ्ग मितव्ययी बन्नुपर्ने सन्देश नियात्रामा अभिव्यक्त गरिएको छ ।




