पोखरा/भूकम्प तथा मिश्रित विपत्तिहरुको जोखिममा नेपाल विश्वकै क्रमशः ११औं र १६औं स्थानमा छ भने जलवायु परिवर्तनको जोेखिम सूचीमा यो चौथो सवैभन्दा जोखिमयुक्त राज्यमा दर्ज भएको छ ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको एक प्रतिवेदन अनुसार गोरखा, लमजुङ, तनहुँ, नवलपुर,कास्की, पर्वत, म्याग्दी, स्याङ्जा जिल्ला बाढीको जोखिममा रहँदा यीमध्ये गोर्खा,लमजुङ,म्याग्दी,पर्वतमा पहिरोको पनि उत्तिकै जोखिम रहेको छ । बागलुङ पनि पहिरोको जोखिममा रहेको जिल्ला हो । सवैजसो जिल्लामा रहेका पहाडहरु जुनसुकै बेला पनि पहिरोको जोखिमा रहने वातावरणविद्हरुको भनाइ छ भने पछिल्ला वर्षहरुमा हिमाल पारिका जिल्ला मनाङ र मुस्ताङ पनि बाढी र पहिरोबाट प्रभावित भएका छन् ।
हिमाल,पहाड अनि नदीनाला बढी रहेको गण्डकी प्रदेश मनसुनजन्य विपद्का दृष्टिले देशको संवेदनशील क्षेत्र मानिन्छ । गएको वर्ष देशमै सवैभन्दा बढी र कम वर्षा गण्डकीमै भएको थियो । कास्कीको लुम्लेमा ४ हजार ५८८.६ मिलिलिटर वर्षा हुँदा मुस्ताङमा १५६.१ मिलिलिटर वर्षा भएको थियो । २०६८ देखि २०७५ को अवधिमा गण्डकी प्रदेशका ११ जिल्लामा १८ प्रकारका विपद्जन्य घटनाहरु १ हजार ३४८ पटक भएको अभिलेखले पनि यसको पुष्टि गर्छ । त्यसमा पहिरोका २६१ र बाढीका बाढीका ९९ घटना रहेका थिए । चट्याङ पनि गण्डकीको समस्याको रुपमा देखिएको छ । प्रतिवेदन अनुसार प्रति १ लाख जनसंख्यामा हरेक वर्ष विपद्बाट ४१५ जना प्रभावित हुने गरेका छन् । सो अवधिमा विपद्मा परेर ९३१ मानिसको मृत्यु १,७२९ मानिस घाइते हुँदा प्रत्यक्ष रूपमा १ अर्ब ६० करोड रुपैयाँ बराबर आर्थिक क्षति भएको थियो ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट निर्मित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ अनुसार २०७३ बाट २०८२ सम्म मनसुनजन्य विपद्का कारण देशभर ३ हजार ५४ जनाले ज्यान गुमाएका छन् भने ५०२ जना बेपत्ता छन् । ४ हजार ७६९ जना घाइते हुँदा ३३ हजार १६८ परिवार प्रभावित भएका छन् । गण्डकी प्रदेशमा यो वर्ष मनसुनजन्य विपद्बाट ४ हजार ९५२ परिवारका २१ हजार ६४१ जना प्रभावित हुने आकलन गरिएको छ ।
प्रतिकार्य कार्ययोजनाले विपद्का घटना हुनासाथ खोज तथा उद्धार लगायतका प्राथमिक कार्यहरू तत्काल गर्नको लागि संस्थागत संयन्त्र स्वतः परिचालित हुने व्यवस्था मिलाउनका लागि विभिन्न तयारीहरु गरेको छ । तीनवटै तहबीच समन्वय र सहकार्य,सचेतनाका कार्यक्रमहरु पनि कार्ययोजनामा समेटिएका छन् ।
संघ, प्रदेश र जिल्लाका विपद् व्यवस्थापन कोषमा ७ अर्ब ५६ करोड २३ लाख ९२ हजार रुपैयाँ तथा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ६करोड ७० लाख १४ हजार रुपैयाँ मौज्दात छ । देशभर तालिमप्राप्त १ हजार ४०४ र रेडक्रसका स्वयंसेवकसमेत गरि १४ हजार ७८ जना विपद्मा परिचालित हुने स्वयंसेवक रहेका छन् ।
गण्डकी प्रदेश सरकारले निर्माण गरेको विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना २०७७÷०७८–२०८६÷०८७ मा १० वर्षका लागि तय गरिएका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक कार्य अन्तर्गत सञ्चालन हुने ३० हजार ७८८ वटा क्रियाकलापको कार्यान्वयनका लागि कुल १३ अर्ब ६ करोड ६९ लाख बजेट अनुमान गरिएको थियो । यो योजना अहिले कार्यान्वन चरणमै छ ।
पोखरामा पनि छर्का
पोखरा–१७, छोरेपाटन नजिक पर्खाल भत्किँदा दुईवटा पक्की घर जोखिममा परेका छन् तर मानवीय क्षति भने भएको छैन । पोखरामा मेयर धनराज आचार्यका अनुसार पोखरा–१७, दोबिल्ला अविरल वर्षाका कारण विद्युत् पोल ढलेपछि दोबिल्ला–निर्मलपोखरी–बागमारा भित्री सडकमा क्षति पुगेको छ । बाटो भने खुलाइएको छ । अन्नपूर्ण गाउँपालिका–६काभ्राबोट(पोखरा–बाग्लुङ सडकखण्ड)सडकको बीचमा ठूलो भ्वाङ प¥यो भने पोखरा–३१, बेगनास ताल नजिकपहिरो जाँदा भौतिक क्षति भएको छ । यस्तै पोखरा २३ भाटाबारी एग्रो फर्मको दाँयातर्फ पहिरो जाँदा फर्मको पिल्लरहरु र पर्खालहरु भत्की क्षति भएको छ ।





