शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

प्रश्न वाञ्छित छन्, वाणी देऊ !

प्रश्न वाञ्छित छन्, वाणी देऊ !

सरकारलाई पार्टीको काबुमा राख्न र रास्वपाप्रतिको जनविश्वास काययमै राख्न प्रश्न र वाणी जरुरी छ ! त्यसमा सभापति रवि लामिछाने र रास्वपा सांसद/नेताले प्राण भर्नुपर्छ ।


  • ढोरपाटन संवाददाता
  • असार ३२ २०८३, बिहिबार

पोखरा/प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौंको मेयर छँदै २०८० सालको मध्य भदौतिर‘सिंहदरबार जलाउने’अभिव्यक्ति दिए । प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट भए पनि सत्ता गठबन्धनका रहेको कांग्रेस सभापति शेरबहादुर देउवाले ‘बोल्दैमा कसैलाई पक्राउ गर्न हुँदैन’भन्दै बालेनको बचाउ गरे ।

आफ्नी श्रीमती सवार महानगरको गाडी बिदाको दिनमा चेकजाँच गर्दा उनले देखाएको रिसमा नागरिकले कुत्सित मनशाय देखेनन् ।‘¥याप ब्याटल’ बाट उदाएका बालेनले मेयर बनेपछि दोहोरो संवाद छाडेका थिए तर बेलाबेला सामाजिक सञ्जालमार्फत् मुखरित हुने उनको ‘वाणी’लाई वाहवाही गरिरहे ।

२०८२ को भदौ २३ र २४ घटित हुनेबेलासम्म बालेन युवाहरुको ‘आइडल’ भइसकेका थिए । जेनजी आन्दोलनको क्रममा उनले सामाजिक सञ्जालमार्फत् जे अभिव्यक्ति दिए,त्यसलाई नवयुवाले शिरोपर गरे । नेपाली सेनासँग जेनजीको वार्ता भयो ।सुशीला कार्की प्रधानमन्त्री बनिन्,चुनाव भयो,सजिलैसँग बालेनको हातमा सत्ताको बागडोर आइपुग्यो । बालेन प्रश्न गर्ने ठाउँबाट उत्तर दिने ठाउँमा पुगे ।

२०८२ को वैशाख १३ गते प्रधानमन्त्रीको सपथ लिएका बोलनको ‘हनिमुन’ भर्खर सकिएको छ । सिस्टम बिग्रेको देशमा १ सय दिनमै सवै कुरा मिल्ने पनि हैन । यो अवधिमा सरकारले अगाडि सारेका केही नीति र सम्पादन गरेका कामहरुबाट जनता उत्साहित नबनेका पनि हैनन् तर प्रधानमन्त्रीले यो कालखण्डमा जे–जस्ता गतिविधि देखाए,त्यसले चाहिँ सिंगो नागरिक समाजलाई झस्काएको छ । यही झस्काइसँगै उनीमाथि प्रश्न बर्सिन थालेनका छन् ।

प्रधानमन्त्री आफ्नै पार्टी र सदनप्रति उतिसारो बफादार छैनन् भन्ने उनका गतिविधिले देखाएकै थियो । राष्ट्रिय स्वतन्त्र पार्टीसँग २०८२ पुस १३ मा भएको बृहत एकतापछि बालेनले वरिष्ठ नेताको दर्जा पाए । उनलाई नै भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडि सार्दै रास्वपा चुनावमा होमियो । रास्वपाले दुई तिहाइ नजिकको सिट जित्यो । चुनावी अभियानको क्रममा जम्माजम्मी २७ मिटेनजति भाषण गरेका बालेन २८२ सिटको शक्तिमा सिंहदरबार पुगे ।

गएको वैशाख २८ गते राष्ट्रपति नीति तथा कार्यक्रम वाचन गर्दै थिए । अधैर्य देखिएका प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रम ‘बंक’ गरे । लामो समयसम्म एउटै ठाउँमा बस्न मन नलाग्नुलाई व्यक्तिको हकमा जायज मान्न सकिए पनि प्रधानमन्त्रीको रुपमा चाहिँ त्यो सदनको अपमान थियो । विपक्षीहरुले प्रश्न गरिरहेका थिए । प्रधानमन्त्रीसँग उत्तर खोजिरहेका थिए तर प्रधानमन्त्रीले त्यसलाई जरुरी अनि दायित्व ठानेनन् । जेठ १७ मा चाहिँ सदनमा झुम्लुङ्ग देखिएका उनले ‘नेपालले पनि भारतको सीमा मिचेको’ गैरजिम्मेवार अभिव्यक्ति दिए । उनको त्यो अभिव्यक्तिमा परराष्ट्रले रफु भ¥यो । विवाद कायमै छ । उप्रान्त सरकारले एकपछि अर्को अलोकप्रिय र विधिविपरीतका कदम चाल्दै गयो । सुकुमबासीलाई बलात् हटाएर बिचल्ली बनाइयो । सुरक्षाको लागि हटाइएको जिकिर गरिए पनि उनीहरुले आश्रय लिएको ठाउँ नै जलमग्न बनेपछि त्यहाँ पनि सरकारले आलोचना खेप्यो । गैरकानूनी पक्राउ र धरपकडको लामो श्रृंखलासँग सुशासनको नारा जोडिएपछि त्यसमा उतिसारो नागरिकले चासो दिएनन् । तर, यही असार २५ गते गणेश नेपालीले आफ्नो मोटरसाइकलमा ‘ह्विल लक’ गरिएको आवेशमा आत्मदाह गरे । त्यसले सिंगो देश तरंगित भयो । प्रहरीलाई आवश्यकताभन्दा बढी बल प्रयोगको अधिकार प्रदान गरिएकाले नै यो घटना भएको तर्क गरियो । त्यो प्रकरणमा गृहमन्त्री सुधन गुरुङले सदनमा जवाफ त दिए तर दोष महानगरमाथि थोपरे र प्रश्न गर्नेहरुमाथि खनिए । यो प्रकरणलाई विषयान्तर गर्न र सडकमा गाडी रोकिएको गलत हो भन्ने भाष्य निर्माणका लागि संचार सोमबार संचार माध्यमका गेट अगाडी गाडी लगेर छाडियो । त्यसमा राज्यसत्तासँग नजिक रहेकाहरुकै हात थियो भन्ने रास्वपाकै नेताहरुको भनाइले प्ुष्टि गरिसकेको छ ।

उता, सुकुमबासीमाथि गरिएको अमानवीय व्यवहारबारे खरो टिप्पणी गरेका तथा सुकुमबासीको होल्डिङ सेण्टर अनुगमनमा पुगेका जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले लाठी बर्सायो । उनलाई गैरकानूनी तवरले हिरासतमा लिइयो । बुधबारमात्रै उनी मानव अधिकार आयोगको रोहवरमा छुटेका छन् । जसले बोल्छ, उहीमाथि आक्रमण गर्ने, प्रश्न गर्नेहरुको मुख बन्द गर्ने ‘हिटलरी’ शैली कायम रहँदा ‘तैँ चुप,मै चुप’को अवस्थामा रहेका रास्वपाका सांसद र नेताहरुले पनि हिम्मत जुटाएका छन् ।

सामाजिक सञ्जालदेखि सदनसम्म रास्वपाका केही चुनिएका सांसदहरुले प्रधानमन्त्री र गृहमन्त्रीको गलत प्रवृत्तिको विरोध गरेर प्रश्नलाई जीवन्तता दिएका छन् । उनीहरुको यो कदम सह्रानीयमात्र छैन, पार्टी र देशका निम्ति पनि हितकर छ ।

रास्वपाबाट जनताले ठूलो अपेक्षा राखेका छन् । यो सरकार ५ वर्ष नै टिकोस् भन्ने जनअपेक्षा छ । विपक्षीहरुले पनि सरकारको सही कामलाई समर्थन गर्ने बताइरहेका छन् । तर,एउटा निश्चित घेरामा रमाउने, उनीहरुकै सुझावको भरमा सरकार चलाउने,आफ्नै मन्त्रीहरुमाथि पनि आसेपासे समूहको दबाब बढाउने प्रधानमन्त्रीको कार्यशैलीले प्रश्नमाथि प्रश्न उब्जाएको छ । प्रधानमन्त्री विधि र प्रक्रियालाई पच्छ्याउने हैन कि तानशाही शैलीमा शासन संचालनतर्फ उद्यत भएको आभाष भएको छ । त्यो अनुभूति रास्वपाभित्रै पनि गुम्सिएको अवस्थामा थियो । त्याग गर्दै बालेनलाई प्रधानमन्त्रीमा अगाडि सारेका पार्टी सभापति रवि लामिछाने स्वयंले सरकार कसरी र कसले चलाएको छ भन्ने जानकारी नपाउने अवस्था आएको रास्वपाका नेताहरुले थाहा नपाएका हैनन तर उनीहरु मौन थिए । सभापति रविको ‘झुक्किएर कतैबाट बल आफ्नो खुट्टामा आए पनि बालेनलाई पास मिलाइदिने’ भन्ने अभिव्यक्तिका कारण उनीहरु मुख खोल्ने अवस्थामा थिएनन् । तर, अति भएपछि खती हुन्छ । जब संचार माध्यमको गेटमा गाडी तेस्र्याइयो, रास्वपा त्यसको विरोधमा विज्ञप्ति निकाल्न बाध्य भयो । विज्ञप्तिसँगै यतिबेला रास्वपाका नेता तथा सांसदहरुले आन्तरिक लोकतन्त्रको अभ्यास थालेका छन् । पूर्वमहामन्त्री मनिष झादेखि सचेतक प्रकाशचन्द परियार,जगदिश खरेलहरुले घुमाउरो भाषामा सरकार बेलगाम बनेको आरोप लगाएका छन् । मंगलबार स्वाट्ट सदन छिरेर केही बेरमा निस्केका प्रधानमन्त्रीलाई यी यावत् विषयमा जानकारी नभएको पक्कै हैन तर उनी प्रश्नको उत्तर दिन तम्सिएका छैनन् । आफ्नै कोटरीमार्फत् राज्यसत्ता चलाउन र प्रश्नहरुलाई दबाउन वा विषयान्तर गर्ने दिशामा अगाडि बढेका छन् ।

प्रश्न सरकारमाथि उठेको छ । तर, दवाब चाहिँ सभापति रवि लामिछानेमाथि बढ्दै गएको छ ।

२०७९ को चैततिर अहिलेका अर्थमन्त्री डा. स्वर्णिम लामिछानेले रास्वपा रोजेपछि रविको तारिफ गर्दै भनेका थिए,‘रविजी, यो १५ सालको विपी कोइरालाले नेतृत्व गरेको त्यो भिजन भएको, ऊर्जा भएको, एउटा आदर्श बोकेको यो देशलाई एउटा निश्चित समय सीमाभित्र यहाँ पु¥याउँछु भन्ने हुटहुटीका साथ, त्यो तपाईको नेतृत्वमा, त्यो ऊर्जा र भिजन देखिराख्याछ नि । देशलाई यहाँ पु¥याउँछु भन्ने त्यो मिसनमा चाहीँ केही तुलना गर्न मिल्छ ।’

त्यो बेला रविले आफूलाई पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालासँग तुलना गरेको उति रुचाएनन् । बीपी कद र विचार दुवैले अग्ला थिए । आफू सत्तामा हुँदा उनले आफूविरुद्ध लेख्नकै निम्ति मदनमणि दिक्षितलाई आर्थिक सहयोगसहित हौस्याएका थिए । संचार कर्मबाट आएका रविले बुभ्नुपर्छ– स्वस्थ आलोचनाले मात्र सरकारलाई सही दिशा दिन सकिन्छ । गलत गरेको बेला औंल्याउनेहरु नै सच्चा मित्र हुन् । संचार माध्यमको मुख थुनेर,सुरक्षाकर्मी लगाएर धरपकड गर्दैमा नागरिकको आक्रोश रोकिँदैन बरु बढ्छ । यतिबेला सरकारलाई सही दिशामा अगाडि बढाउने दायित्व सभापतिको रुपमा रविकै काँधमा छ । देश र जनताका लागि यसअघि गरेका बाचाहरु पूरा गर्नका निम्ति पनि उनी कठोर बन्नुपर्ने देखिएको छ । सरकार रास्वपाकै हो र त्यसलाई रास्वपाका बरिष्ठ नेताले हाँकीरहेका छन् भन्ने अनुभूति आम मतदातालाई गराउन पनि उनले बालेन अनि मन्त्रीहरुमाथि लगाम लगाउनुपर्छ । सरकारका गतिविधिमाथि असन्तुष्टि जनाउनेहरुको आवाज रोक्ने धृष्टता उनीबाट हुनुहुँदैन । । सरकार लोकतान्त्रिक मूल्य र मान्यता भुलेर गलत दिशामा जाँदैछ । लोकतन्त्रमा प्रश्नहरुको महत्व हुन्छ । प्रश्नहरु बर्जित हुँदैनन् र गर्न मिल्दैन । प्रश्न गर्नेमाथि धरपकड गर्ने र मुख बन्द गराउने प्रयास गरे पनि यतिबेला देशले वाणी खोजेको छ । त्यो वाणीमा सभापति रवि र रास्वपाका सांसदहरुले नै प्राण भर्नुपर्छ ।सरकारलाई पार्टीको काबुमा राख्न र रास्वपाप्रतिको जनविश्वास काययमै राख्न प्रश्न र वाणी जरुरी छ !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->