खर्वाङ, बागलुङ/ गत जेठ २८ गते देशकै पहिलो ‘पोषणमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पोषण दिगोपनाको लागि विभिन्न कार्यक्रम शुरु भएका छन ।
कृषकको आयआर्जन वृद्धि, कृषि उत्पादन प्रवद्र्धन तथा पोषण सुधारलाई लक्षित गर्दै अभियान सुरु गरिएको वडाध्यक्ष कृष्णबहादुर केसीले बताए । ‘लैनो भैँसी तथा हलगोरु स्याहार र किसानको कोशेली–सुत्केरी दिदीबहिनीलाई’ अभियान अन्र्तगत विभिन्न कार्यक्रमको आईतबार औपचारिक शुभारम्भ गरिएको केसीले जानकारी दिए ।
अभियान अन्र्तगत किसानको दुध तथा दुधजन्य पदार्थ बजारीकरणको लागि दुग्ध डेरी सञ्चालन गर्न आमा समूहको गठन गरि चालु आर्थिक वर्षको पुस मसान्त सम्म १५० वटा लैनो भैँसी लाई प्रोत्साहन रकम वितरण गर्नेगरि तयारी गरिएको वडाध्यक्ष केसिले बताए ।
यस्तै स्थानीय उत्पादन प्रवद्र्धन गर्दै वडाले स्थानिय कुखुराको अण्डा र घिउ सुत्केरी आमालाई घरमै पुगेर वितरण गर्ने भएको छ । विगत वर्षमा सुरु भई गत वर्ष रोकिएको कार्यक्रम चालुवर्षदेखि पुनः सुचारु गरिएको वडाध्यक्ष केसिले जानकारी दिए । पोषिलो कोशेली संगै वडाले बेसार, खुर्सानी र सिमी लगायतका उत्पादनमा आत्मनिर्भर बन्दै बजारीकरणतर्फ अघि बढेको जनाएको छ ।
“कृषकलाई व्यावसायिक कृषि तथा पशुपालनतर्फ आकर्षित गरी आर्थिक रूपमा सबल बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।” केसीले भने “दुग्धजन्य उत्पादनमार्फत कृषकको आम्दानी वृद्धि गर्ने लक्ष्य लिएका छौ ।” वडाले प्रत्येक लैनो भैँसी तथा हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न दुई हजारका दरले रकम हस्तान्तरण गर्ने तथा पशु विमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ । अहिले वडामा ५५ घरपरिवारले हलगोरु पालिरहको रेकर्ड वडा कार्यालयमा छ ।





