बागलुङ/बागलुङ नगरपालिका वडा नं. १ र ४ मा पर्ने निर्णयघाटमा १ सय ८ तुलसीका मोठ बनाइ शनिबार तुलसी रोपण पनि गरिएको छ । हरिशयनी एकादशीको अवसरमा ती तुलसी रोपिएको हो ।
निर्णयघाट मानवसेवा धाम विकास समितिले मानवसेवा आश्रम बाहिरको सडक छेउमा तुलसी मोठ बनाई रोपण पनि गरेको हो । हरेक व्यक्तिले फरक फरक मठमा तुलसी रोपण गरेका हुन् । आश्रमले आब्हान गरेपछि स्थानीयले स्वतस्फुर्त रुपमा मठ बनाएको खर्च तिरेर तुलसी रोपण गरेका छन् । ती मठ उनीहरुकै नाउँमा शिलालेख बनाइ राखिने समितिका अध्यक्ष सहदेव राजभण्डारीले बताए ।
ती मठमा स्थानीयले आफन्तको सम्झना र सामाजिक कार्यमार्फत तुलसी रोपेको बताए । ‘आफ्ना दिवंगत आमा र बाबुको सम्झनामा तुलसी मोठ बनाएर रोपण पनि गरेकी छु’ बागलुङ नगरपालिका वडा नं. ३ माइती भइ स्याङजा घर भएकी रश्मी पौडेल अर्यालले भनिन्, ‘जन्मठाउँमा आमाबाबुको सम्झनामा केही गर्ने मौका पाइयो ।’ १० हजार ५ सय रुपैयाँ तिरेपछि आश्रमले बनाएको मठलाई उनीहरुले आप्नो बनाउन पाउने व्यवस्थापन गरेको छ । अर्यालका दीदी भगवती र मिठुले पनि तुलसी रोपण गरेको बताए ।
आश्रमले १ सय ८ वटा मठ बनाएर रोपणका लागि आब्हान गर्दा २ सय बढीले चासो राखेका थिए । चाहना राखेकालाई अवसर दिन नसकेपछि अन्य अभियानमा जोड्ने आयोजकले बताएका छन् । ‘पहिलो चरणमा १ सय ८ मठ मात्र बनाउन खोजियो, तर सयौंले नाम लेखाएर पनि अवसर पाउनुभएन’ समितिका अध्यक्ष राजभण्डारीले भने, ‘अब अन्य क्रियाकलापमा उहाँहरुलाई जोड्छौं ।’ सयौं वर्ष अघिदेखि यहाँको दाहसंस्कार गर्ने र अन्तिम निर्णय समेत गरिने भएकोले यो स्थानलाई निर्णयघाट भनिएको उनले बताए । राजकाज सम्बन्धी महत्वपुर्ण निर्णय र जीवन मृत्युको दोसाँधमा रहेकाहरुलाई समेत यहाँ राखेर सेवा गरिने परम्परालाई ‘निर्णय घाट’को रुपमा चिनिने गरिएको किंबदन्ती छ ।
किंवदन्तीलाई उजागर गर्ने, धार्मिक गन्तव्य बनाउने र आम पर्यटक समेत भित्राउन सकिने गरी गुरुयोजना बनेको हो । कालीगण्डकी धार्मिक दृष्टीले महत्वुर्ण छ । यहाँ अहिले पनि नदी किनारमा शालीग्राम पाइन्छ । त्यसबाहेक यहाँका अन्य धार्मिक क्षेत्रलाई जोड्ने गरी योजना समेत बनेको हो । नजिकैका बागलुङ कालीका, शालिग्राम संग्राहलय, पञ्चकोट, गौरीधाम लगायतलाई पनि गुरुयोजनामा जोड्ने समितिको योजना छ ।
गुरुयोजना निर्माणका लागि ३० वटा सूचक राखिएको छ । १ सय ८ बेलपत्र रोपण, १ सय ८ तुुलसीमठ निर्माण, सतीढुंगा संरक्षण, रक गार्डेन निर्माण, किरियापुत्री भवन निर्माण, कालीगण्डकी स्नान कुण्ड निर्माण, जेष्ठ नागरिक आश्रम तथा दिवा सेवा केन्द्र निर्माण गरिने योजना बनेको हो । त्यस बाहेक शुद्द पानीको व्यवथापन, पैदलमार्गको व्यवस्थापन समेत गरिने छ । गतवर्ष बागलुङ नगरपालिकाले २ किमी सडक कालोपत्रे गरेपछि राजमार्गबाट सजिलै निर्णयघाट पुग्न सकिने भएको छ ।
मानव प्रवद्र्दन हल निर्माणसहित यहाँ मानवसेवा आश्रम भवन पनि बनाइएको छ । गत कात्तिकमा भएको महायज्ञबाट संकलित ८ करोड ५० लाख रुपैयाँको अक्षयकोष समेत बनेको छ । उक्त कोषले मानवसेवामा लगाइने लक्ष्य समेत छ । हाल आश्रम अस्थायी रुपमा संचालित छ । भवनको पुर्णतापछि २ सय जनासम्म राख्न मिल्ने तयारी छ ।
यो भवनको अगाडि १ सय ८ शिवलिंग बनाइ आश्रममा बस्ने र अन्यलाई पनि पुजापाठ गर्न सकिने व्यवस्थापन भैरहेको राजभण्डारीले जानकारी दिए ।
गुरुयोजनाका लागि बागलुङ नगरपालिकाले प्राविधिक सहयोग गरेको छ । सबै काम सम्पन्न गर्न भने आम नागरिकबाट दान र चन्दा संकलन गरिनेछ । यो अभियानले परापुर्वकालमा चर्चामा रहेको, केही समय ओझेल परेको निर्णयघाटलाई फेरी पुर्नजागरण गर्न मद्दत पुग्ने मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।
यहाँ बुढानिलकण्ठको मुर्ती समेत निर्माणाधिन छ । साथै शालीग्रामको संरक्षण, हरिबोधिनी एकादशीलाई धार्मिक मेलाको रुपमा विकास गरिने लक्ष्य छ । ऐतिहासिक परम्परा जोगाउने र एकादशी मेलालाई जिवन्त बनाउन नगरपालिकाले पनि साथ दिने नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।
१३ वर्षदेखि यहाँ मानवसेवा आश्रम संचालनमा छ । यो अभियानले धार्मिक गन्तव्यलाई पनि पुर्नजागरण गराएको स्थानीय तथा गुरुयोजनाकी सदस्य लक्ष्मी बास्कोटाले जानकारी दिइन् । उक्त अवसरमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायतले शुभकामना मन्तव्य पनि राखेका थिए ।





