शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

२२० लाई निशुल्क एम्बुलेन्स सेवा

२२० लाई निशुल्क एम्बुलेन्स सेवा

एम्बुलेन्स सेवाले विशेष गरी गर्भवती तथा सुत्केरी महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत लक्षित वर्गका नागरिकलाई स्वास्थ्य संस्थासम्म पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।


  • ढाेरपाटन संवाददाता
  • साउन १० २०८३, आइतबार

पर्वत/जिल्लाको जलजला गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स सेवामार्फत गएको वर्ष ५ सय ४० जनाले सेवा लिएका छन् । गाउँपालिकाले अति विपन्न, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिला र आकस्मिक स्वास्थ्य सेवाको आवश्यकता भएका नागरिकलाई निःशुल्क तथा अन्य नागरिकलाई सहुलियतपूर्ण रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

५ सय ४० लाभग्राहीमध्ये २ सय २० जनाले निःशुल्क सेवा प्राप्त गरेका छन् भने ३ सय २० जनाले सःशुल्क सेवा लिएका छन् । सःशुल्क सेवाबाट १४ लाख ५० हजार राजस्व संकलन भएको छ । १ वर्षको अवधिमा एम्बुलेन्सले ७ हजार ७ सय २४ लिटर इन्धन खपत गर्दै ८१ हजार १ सय ५ किलोमिटर दूरी तय गरेको छ ।

एम्बुलेन्स सेवाले विशेष गरी गर्भवती तथा सुत्केरी महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत लक्षित वर्गका नागरिकलाई स्वास्थ्य संस्थासम्म सुरक्षित र सहज पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

गाउँपालिकाले नागरिकको जीवन रक्षा, स्वास्थ्य सेवामा सहज पहुँच र सेवाप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि एम्बुलेन्स सेवालाई अझ व्यवस्थित, प्रभावकारी, पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउँदै लैजाने गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

‘गर्भवती तथा सुत्केरी, ज्येष्ठ नागरिक, विपन्न र अपाङ्गता भएकाहरूको लागि एम्बुलेन्स सेवा दिन सुरु गरिएको हो,’ आचार्यले भने, ‘स्थानीय सरकारले गर्ने काम पनि नागरिकसँग सिधा जोडिएका काम नै गर्ने हो । सेवा सामान्य लागे पनि यसले सयौँलाई प्राण दिएको छ । हामी शिक्षा र स्वास्थ्यप्रति बढी नै संवेदनशील छौँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->