सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

खाद्य सम्प्रभुता र कोदो खेती

खाद्य सम्प्रभुता र कोदो खेती

राज्यले कोदो र अन्य रैथाने बालीहरुलाई नेपालको खाद्य सम्प्रभुता, नागरिकको पोषणको अधिकारको प्रत्याभूति, जलवायु अनुकूलन खेती एवं खाद्य सुरक्षाका रुपमा बुझोस् । यी बाली प्रवद्र्धनमा ठोस योजनाहरु निर्माण गरियोस् ।


  • Dhorpatan News
  • साउन १७ २०८३, आइतबार

नेपालमा कृषिसँग जोडिएका झण्डै दर्जन दिवसहरु मनाइन्छ । धान, कफी, चिया, कोदो लगायतका खाद्यान्न रोप्ने वा थन्क्याउने समयलाई पनि नेपालीहरु पर्वकै रुपमा मनाउँछन् । यही परम्परालाई निरन्तरता दिने क्रममा साउन १६ मा कोदो दिवस मनाइयो । कोदोको उत्पति ५ हजार वर्षअघि अफ्रिकामा भएको मानिन्छ । अफ्रिकाबाट भारत हुँदै नेपाल भित्रिएको यो अडिलो अनाजले अहिले रैथाने स्वरुप ग्रहण गरेको छ । समुद्री सतहदेखि पहाडको उच्च भागसम्मै यसको खेती हुन्छ । कम मिहिनेत, कम पानी, कम मल तथा थोरै लगानीमा उत्पादन गर्न सकिने कोदोबाट नेपालीले मौलिक परिकारदेखि मदिरासम्म उप्पादन गरिरहेका छन् ।

पोषण तत्वले भरिपूर्ण भए पनि लामो समयसम्म कोदोलाई ‘कुअन्न’कै रुपमा लिइयो । यसले दिने पोषण तथा अनिकालमा पेट भर्न गरेको योगदानको अवमूल्यन गर्दै गरिबको खानाको रुपमा हेंला गरियो । कोदोमा क्याल्सियम, आइरन, फाइबर, प्रोटिन, पोटासियम, फस्फोरस तथा विभिन्न भिटामिन प्रशस्त मात्रामा पाइन्छ । क्याल्सियमको मात्रा बढी भएकाले यो बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा हाडसम्बन्धी समस्या भएका व्यक्तिका लागि उपयोगी हुन्छ । यसमा भएको उच्च फाइबरले पाचन प्रणाली स्वस्थ राख्न, तौल नियन्त्रण गर्न तथा मुटुसम्बन्धी रोगको जोखिम घटाउन मद्दत पु¥याउँछ ।

बाँदर आतंकले खेतिपाती लगाउने उपक्रम घटिरहँदा पनि बाँदरले नखानु यसको अर्को गुण हो । यस्तो गुणकारी तथा नेपालको जलवायु अनुकूलको अन्नलाई राज्यले हेंला गर्दै आएको छ । संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई कोदोजन्य बाली वर्षका रुपमा मनायो । कोदोको महत्व प्रचारप्रसार गरियो । त्यसउप्रान्त अफ्रिकासहितका केही राष्ट्रले कोदोलाई भविष्यको अन्नका रुपमा पुनस्र्थापित गर्ने अभियान चलाएका छन् ।

कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड हो । भौगोलिक, प्राकृतिक स्रोत तथा जनसंख्याको कारणले यहाँ ठूलाभन्दा पनि कृषि आश्रित उद्योग, व्यवसायको बढी सम्भावना छ । कृषिको व्यावसायिकरणले नै नेपाललेले आर्थिक समृद्धिको मार्ग तय गर्छ भन्नेमा दुविधा छैन । तर, कृषिको व्यावसायीकरण नारामै सीमित छ । व्यावसायिकरण गर्ने हो भने नेपालले रैथाने तथा उच्च मूल्य दिलाउने बालीहरुको प्रवद्र्धन गर्नुपर्छ । कृषि कर्मका लागि आवश्यक पर्ने सिंचाइ, मल, बीउ, यन्त्रहरुमा अनुदान दिँदै कुन ठाउँमा कस्तो बाली लगाउने भन्ने योजना बुन्नुपर्छ । रह्यो कोदोको कुरा–कोदो ग्रामीण अर्थतन्त्रको मेरुदण्ड हो । खाद्य सुरक्षा एवं सीमान्तकृत नागरिकलाई पोषण उपलब्ध गराउन कोदोको योगदान छ ।

पछिल्लो समय कोदो खेती कम हुन थालेको छ । अर्बौंको खाद्यान्न आयात रोक्न तथा ग्रामीण अर्थतन्त्रलाई पुनस्र्थापना गर्ने हो भने कोदो, कागुनो जस्ता रैथाने बाली संरक्षण र सम्वद्र्धन गरिनैपर्छ । पछिल्लो समय कोदोका परिकारहरु विश्व बजारम पुग्न थालेका छन् । बिस्कुटले बजार लिएको छ । यस्ता उत्पादनको ब्रान्डिङ, प्याकेजिङ तथा बजारीकरण गर्न सकियो भने त्यसले व्यावसायिकरणसहित खाद्य सम्प्रभुतामा पनि योगदान पु¥याउँछ । अतः राज्यले कोदो र अन्य रैथाने बालीहरुलाई नेपालको खाद्य सम्प्रभुता, नागरिकको पोषणको अधिकारको प्रत्याभूति, जलवायु अनुकूलन खेती एवं खाद्य सुरक्षाका रुपमा बुझोस् । यी बाली प्रवद्र्धनमा ठोस योजनाहरु निर्माण गरियोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->