सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

निम्स दाइहरुले सुम्पेको जिम्मेवारी !

निम्स दाइहरुले सुम्पेको जिम्मेवारी !

निम्सले हामीलाई आरोहणलाई कसरी सुरक्षित तुल्याउने अनि आरोहणलाई कसरी नेपाली ब्राण्डको रुपमा संसारभर फैलाउने भन्ने जिम्मेवारी सुम्पेर गएका छन् । त्यो जिम्मेवारी पूरा गर्दामात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।


  • Dhorpatan News
  • साउन १८ २०८३, सोमबार

‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, गम्केर बजा खैँजडी, झम्केर नाच मुजुरा ।’ एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाबाट सन् १९५३ को मे २९ भएको सगरमाथाको सफल आरोहणको केही समयपछि यो गीत रचना गरेका थिए । सगरमाथा आरोहणलाई विश्वका प्रमुख संचार माध्यमले बडो महत्व दिएका थिए,आरोहणको समाचार ‘ब्रेक’ गर्नका निम्ति समाचार बोकेर मान्छे भारत दौडाइएको थियो । संसारकै अग्लो चुचुरोको आरोहणमा नेपाली शेर्पाको भूमिका सहायकको रहेको ती समाचारले उल्लेख गरेका थिए । यता,जनकविकेशरीले चाहिँ सगरमाथा आरोहणमा नेपालीको अपनत्व खोजे अनि तेन्जिङ न्यूजिल्याण्डका नागरिक एडमण्डको सहायक नभएर आफैं नायक हो भन्ने भाष्य निर्माण गरिदिए । आरोहणको गौरवमय इतिहास कोर्नेहरुलाई राष्ट्रिय नायकको रुपमा प्रस्तुत गरे । यो गीत स्वाभिमानको गीत थियो,हामी कसैको भरिया हैनौँ र आफैंमा बहादुर हौँ भन्ने अहम्को प्रस्तुति थियो ।

नेपालीहरु अर्कालाई बाटोमात्र देखाउँदैनन्, इतिहास कोर्छन् अनि आफ्नै क्षमताले बहादुर भएको पुष्टि गर्ने एक नायकसहित ६ जना होनाहार आरोहीलाई गुमाएको दुःखद क्षणमा हामीले जनकविकेशरीको यो गीत सम्झेका छौँ । म्याग्दीमा जन्मेका र बेलायती सेनाको जागिर छाडेर आरोहणमा जमेका निर्मल (निम्स दाइ) पुर्जा पुनसहित पुरबहादुर गुरुङ, निमा शेर्पा,किली पेम्बा शेर्पा,ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पालाई पाकिस्तानको पाकिस्तानको ब्रड पिक हिमालले नउठ्ने गरी पहिरोमा लपेटेको छ । पाकिस्तानको काराकोरम हिमश्रृङखलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रड पिकले आरोहण दलका नेतासहित ६ नेपाली अनि ओमनका १, पाकिस्तानका १, चीनका १ र अमेरिकाका १ जनाको आरोहण यात्रा सधैँका लागि टुंग्याइदियो ।होनाहार आरोहीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिरहँदा हामी उनीहरुको योगदानप्रति अनुग्रहित छौँ । र,निम्स दाइहरुले गरेको योगदान अनुग्रहितसँगै उत्प्रेरणायुक्त पनि छ ।

सगरमाथासहित संसारका ८ हजारभन्दा अग्ला १४ मध्ये ८ वटा हिमालहरु नेपालमै छन् । ती सवैमा निम्सले पाइला टेकेकै थिए । निम्ससहितका आरोहीलाई निलेको ब्रड पिक भने पछि पत्ता लागेको ८ हजार मिटर अग्ला ११ मध्येको एक हो । यो हिमाल आरोहणका दृष्टिले कठिन मानिन्छ । कठिन थियो त के भयो ? निम्सले आरोहणको संकल्प लिए । निम्सले आरोहणलाई शौख वा पेशामात्र नभएर नेपाली ब्राण्डमा रुपान्तरण गरेका थिए । नेपालीहरु आरोहणका सहयोगीमात्र नभएर आरोहण कलाका अगुवा हुन् भन्ने पुष्टि भइसकेको थियो तथापि उनले त्यो सन्देशलाई अझ फराकिलो बनाए । नेटफिल्क्समार्फत् उनले संसारभर हुने आरोहणमा नेपाली शेर्पाहरु अनिवार्य रुपले आवश्यक छन् र यो नेपालीको कला हो भन्ने पुष्टि गरे ।

आरोहण सधैँ चुनौतीपूर्ण हुन्छ । हिमाल आरोहणमा निसक्नु भनेको मृत्युसँग साक्षात्कार हुनु् हो । हिमालमा गल्ती क्षम्य हुँदैन । त्यही बुझेर सगरमाथाका सफल आरोही एडमण्ड हिलारीले भनेका थिए,‘एक राम्रो पर्वतारोहण प्रायः समझदार पर्वतारोहण हुन्छ ।’ त्यहाँ फुकीफुकी पाइला चाल्नुपर्छ । तर, आफू सचेत भएरमात्र पुग्दैन, प्रकृतिको आशिर्वाद उत्तिकै जरुरी हुन्छ । यो पटक निम्सहरुलाई हिमालका देवताको आशिर्वाद मिलेन । निम्ससहित ६ जना आरोहीको निधनबाट नेपालले धेरै कुरा गुमाएको छ । उनको अभाव सधैँ खट्कने नै छ । निम्सले हामीलाई आरोहणलाई कसरी सुरक्षित तुल्याउने अनि आरोहणलाई कसरी नेपाली ब्राण्डको रुपमा संसारभर फैलाउने भन्ने जिम्मेवारी सुम्पेर गएका छन् । त्यो जिम्मेवारी पूरा गर्दामात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । अल बिदा, निम्स र आरोहीहरु !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->