गोरखा/गोरखा जिल्लामा पछिल्ला केही दिनदेखि खाना पकाउने एलपी ग्याँसको अभाव छ । ग्याँस सजिलै नपाउँदा सर्वसाधारण तथा होटल व्यवसायी समस्यामा परेका छन् ।
गोरखा सदरमुकामसहित आसपासका बजार क्षेत्रमा ग्याँस सिलिन्डर सहज रूपमा उपलब्ध नहुँदा दैनिक जनजीवन प्रभावित बनेको हो । गोरखा सदरमुकामका अधिकांश ग्यास डिपोमा ग्याँस सकिएको भन्दै उपभोक्तालाई रित्तै फर्काइने गरिएको छ । सीमित परिमाणमा ग्याँस आए पनि घन्टौँ लाइन बसेपछि मात्र केही उपभोक्ताले पाउने अवस्था रहेको स्थानीयले बताएका छन् ।
होटल व्यवसायी निधि तिमिल्सिनाले एलपी ग्याँस दैनिक जीवन र व्यवसाय दुवैका लागि अत्यावश्यक भएकाले यसको अभावले होटल सञ्चालनमा समस्या उत्पन्न भएको बताए । गोरखा सदरमुकाममा डेरा गरी बस्ने रमेश नेपालीले ग्यास डिपोमा पटक पटक धाउँदा पनि सिलिन्डर नपाएको गुनासो गरे ।
गोरखा नगरपालिका ८ की सुकमाया खत्रीले पनि ग्याँस अभावका कारण बिहान विद्यालय जाने बालबालिकाका लागि समयमै खाना तयार गर्न कठिनाइ भएको सुनाइन् । गोरखा बजारका ग्याँस व्यवसायी हरि श्रेष्ठले उद्योगबाट ग्यासको आपूर्ति कम हुनुका साथै ढुवानीमा ढिलाइ भएकाले समस्या देखिएको उल्लेख गरे ।
मागको तुलनामा आपूर्ति निकै कम भएकाले सबै उपभोक्तालाई ग्यास उपलब्ध गराउन नसकिएको उनको भनाइ छ । यसबीच उपभोक्ताले ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न तथा बजारमा कृत्रिम अभाव सिर्जना गरिएको भए त्यसको प्रभावकारी अनुगमन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय गोरखाले भने ग्यास उद्योग र वितरकसँग समन्वय गरेर जिल्लामा ग्यास आपूर्ति सहज बनाउन पहल भइरहेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले छिट्टै आपूर्ति व्यवस्था सामान्य बनाउने प्रयास भइरहेको जानकारी दिए ।





