स्याङ्जा / स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपखानीमा चितुवाकाे आक्रमणबाट एकै रात १० वटा बाख्रा मारिएका छन्। स्थानीय श्याम रानाको घर नजिकै रहेको खोरमा सोमबार राति छिरेको बाघले सानो–ठूलो गरी १० वटा बाख्रा तथा बोका मारेको हो।
आक्रमणबाट ९ वटा बाख्रा खोरभित्रै मृत अवस्थामा फेला परेका छन् भने एउटा बाख्रा नभेटिएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय जयपतेबाट प्रहरी टोली घटनास्थल पुगी वस्तुस्थिति बुझ्ने कार्य गरेको थियो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एव डिएसपी रमेशदत्त अवस्थीका अनुसार घटनाबारे थप अनुसन्धान र बुझ्ने काम भइरहेको छ।
एकै रात खोरमै छिरेर ठूलो संख्यामा पशुचौपाया मारेपछि स्थानीयबासीमा त्रास फैलिएको छ। स्थानीयले वन्यजन्तुको त्रासबाट जोगिन आवश्यक सुरक्षा व्यवस्थाका साथै पीडित कृषकलाई उचित क्षतिपूर्तिको माग गरेका छन्।





