स्याङ्जा/ कुनै समय बिरामी नपुग्ने प्रदेश अस्पताल पुतलीबजार नगरपालिका–३ कुमालगाउँमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ । व्यवस्थापनमा सुधार र स्वास्थ्य सेवाको दायरा विस्तार भएसँगै अस्पतालमा दैनिक बिरामीको चाप उल्लेख्य बढे पनि स्थायी चिकित्सक र कर्मचारीको अभावले सेवा प्रवाहमा भने चुनौती थपिएको छ ।
अस्पतालमा अहिले दैनिक दुई सय देखि २५० जना सम्म ओपिडी सेवा लिन पुग्ने गरेका छन् भने ५० भन्दा बढी आकस्मिक बिरामी उपचारमा आउँछन् । मौसम परिवर्तनसँगै ज्वरो, रुघाखोकी, संक्रमणलगायतका स्वास्थ्य समस्या बढेपछि अस्पतालमा बिरामीको चाप बढेको हो ।
अस्पताल व्यवस्थापन समिति अध्यक्ष डिलकुमार भुजेलले ५० शैयाको अस्पतालमा बिरामीको संख्या बढ्दै गए पनि आवश्यक जनशक्ति अभावका कारण सेवा व्यवस्थापनमा दबाब बढिरहेको बताए । अस्पतालमा ६८ जनाको स्थायी दरबन्दी सहित ९० जना कर्मचारी रहे पनि हाल ११ जनामात्र स्थायी कर्मचारी कार्यरत रहेको भुजेलले बताए । उनका अनुसार अस्तालन ७९ जना करार कर्मचारीको भरमा सञ्चालन भइरहेको छ ।
यहाँ करार कर्मचारी बारम्बार फेरिने हुँदा अनुभवी जनशक्ति टिकाउन कठिन हुने र त्यसले सेवा प्रवाहको गुणस्तरमा समेत असर पर्ने गरेको छ । जनशक्ति अभावका बाबजुद अस्पतालले इमर्जेन्सी, बहिरंग सेवा (ओपिडी), मातृ तथा प्रसूति सेवा, मिर्गौला डायलासिस, आँखा, दाँत, भिडियो एक्स–रेलगायत सेवा नियमित रूपमा सञ्चालन गर्दै आएको छ । सेवाको विस्तारसँगै दक्ष जनशक्तिको आवश्यकता पनि बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पताल सदरमुकाम नजिकै भए पनि सहज सडक पहुँचको अभावले बिरामी र सेवाग्राहीलाई थप सास्ती खेप्नुपरेको छ । पछिल्ला वर्षहरूमा सेवा विस्तार, उपकरण व्यवस्थापन र प्रशासनिक सुधारका कारण स्याङ्जा प्रदेश अस्पतालप्रति सर्वसाधारणको विश्वास बढ्दै गएको छ । बिरामीको चाप अनुसार स्थायी चिकित्सक र कर्मचारीको व्यवस्था हुन नसके सेवाको गुणस्तर कायम राख्न कठिन हुने देखिएको छ ।





