आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

‘पेन्सन पट्टा’को टिजर सार्वजनिक

‘पेन्सन पट्टा’को टिजर सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०८३, शनिबार

पोखरा/नेपाली चलचित्र ‘पेन्सन पट्टा’को टिजर सार्वजनिक गरिएको छ । आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रले टिजरमार्फत पारिवारिक सम्बन्ध, सामाजिक यथार्थ र गुरुङ समुदायको जीवनशैलीलाई मार्मिक रूपमा प्रस्तुत गर्ने संकेत दिएको छ ।

टिजरमा दयाहाङ राई, स्वर्गीय सुनील थापा, गौमाया गुरुङ, पशुपति राई, बुद्धि तामाङ, विल्सनविक्रम राई, पञ्चसुब्बा गुरुङ (दिल), माया गुरुङ, विश्वास गुरुङ, प्रतीक्षा गुरुङ, पुस्कर गुरुङ, राज थापा, डिबी गुरुङ, अनुसा राई, मनोज गुरुङ, सोल गुरुङ, मनिका गुरुङ, लुभिना तुलाधर, सुरज तमु लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा पात्रहरूको भावनात्मक उतारचढाव, पारिवारिक जिम्मेवारी र सामाजिक यथार्थ विशेष महत्वका साथ प्रस्तुत गरिएको छ । यो चलचित्र प्रेम, त्याग, संघर्ष र आत्मसम्मानको भावनात्मक कथामा आधारित छ ।

पेन्सनलाई आर्थिक सुविधाका रूपमा नभई परिवारको आशा, भविष्य र अस्तित्वसँग जोडिएको आधारका रूपमा प्रस्तुत गरिएको छ । माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा निर्देशन माओत्से गुरुङकै छ । यसअघि सार्वजनिक ‘जुनीजाला’ गीतले दर्शक तथा स्रोतामाझ राम्रो प्रतिक्रिया पाएको थियो ।

चलचित्रको छायांकन कास्कीको ताङतिङ र पोखराका विभिन्न स्थानमा गरिएको छ । चलचित्र विशुद्ध गुरुङ समुदायको सामाजिक परिवेश, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध र जीवन भोगाइमा आधारित छ । लेखक तथा निर्देशक माओत्से गुरुङले ‘पेन्सन पट्टा’ एउटा चलचित्रमात्र नभई समाजको यथार्थ कथा भएको बताए ।

उनले भने, ‘हामीले यो चलचित्रमार्फत गुरुङ समुदायको वास्तविक जीवन भोगाइलाई पर्दामा उतार्ने प्रयास गरेका छौं । पेन्सन पट्टासँग जोडिएका सम्बन्ध, प्रेम, त्याग र आत्मसम्मानका पक्षलाई दर्शकले आफ्नै परिवारको कथा जस्तै महसुस गर्ने विश्वास लिएका छौं ।’

सामाजिक यथार्थ, अनुभवी कलाकारको अभिनय, गुरुङ संस्कृतिको मौलिक प्रस्तुति र भावनात्मक कथावस्तुका कारण ‘पेन्सन पट्टा’ यस वर्षको लोकप्रिइ चलचित्रमध्ये एक बन्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->