स्याङ्जा/ आँधीखोला गाउँपालिका वार्ड नं –६ फापरथुममा गरिएको साहित्यिक तथा वैचारिक गोष्ठीमा सात उत्कृष्ठ विद्यालयलाई सम्मान गरिएको छ । एसइई र एसएलसी परीक्षामा सहभागी विद्यार्थी मध्ये शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल माध्यमिक विद्यालय र चार जीपीए ल्याउने विद्यालयलाई गोष्ठीमा सम्मान गरिएको हो ।
२०८२ को एसइई (कक्षा १०) परीक्षामा सामेल सम्पूर्ण विद्यार्थीहरु उत्तीर्ण यहाँका जनहित मावि आँधीखोला– १ राजास्वाँरा, श्रवण मावि आँधीखोला– ४ बाङसिङ, जनप्रिय मावि आँधीखोला– ४ कमेरे, रजस्थल मावि पुतली बजार– १४ सतौँ, राष्ट्रिय मावि आँधीखोला– ३ विचारी चौतारालाई सम्मान गरिएको हो ।
यस्तै एसएलसी (कक्षा १२) परीक्षामा सामेल सबै विद्यार्थीहरु उत्तीर्ण गराएको आँधीखोला– ३ बिचारी चौताराको राष्ट्रिय माविलाई सम्मान गरिएको हो । यस्तै एसइई (कक्षा १०) २०८२ को परीक्षामा गाउँपालिकामा सर्वोत्कृष्ट (चार जीपीए) ल्याउने आँधीखोला– ६ शारदा माविलाई सम्मान गरिएको हो ।
आनन्दआश्रम ज्ञान केन्द्रको आयोजनामा गरेको ४१ औ शृखलामा आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले विद्यालयलाई सम्मान गरेका हुन् । कार्यक्रममा पौडेलले ग्रामीण क्षेत्रमा साहित्यिक तथा शैक्षिक उन्नयनको निम्ति आनन्दआश्रमले महत्वपूर्ण काम गरेको बताउदै सम्मानित माध्यमिक विद्यालयहरूलाई बधाई दिए ।
कार्यक्रममा पुर्व मन्त्री त्रिलोचन ढकाल, खेमनारायण लामिछाने, जगदीश पौडेल, नन्दलाल ढकाल, पवनकाजी अधिकारी र शेरबहादुर कार्की, दोलराज ढकाल लगायतले साहित्यिक प्रस्तुति प्रस्तुत गरेका थिए ।





