स्याङ्जा/ जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्दामा अदालतबाट जरिवाना तोकिएर फरार रहेका पाँच जना कसूरदारलाई पक्राउ गरेको छ। प्रहरीले खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि स्याङ्जा जिल्ला अदालतमा बुझाएको जनाएको छ।
पक्राउ परेकामध्ये दुई जना सम्बन्ध विच्छेद कसूर, एक जना डाँका चोरी, एक जना कुटपिट तथा एक जना विदेशी विनिमय कारोबार (अमेरिकी डलर) सम्बन्धी कसूरमा जरिवाना तोकिएका व्यक्ति रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अदालतबाट विभिन्न कसूरमा जरिवाना तोकिएपछि फरार रहेका व्यक्तिहरूको खोजीलाई निरन्तरता दिइएको छ। पक्राउ परेकाहरूबाट अदालतले तोकेको जरिवाना असुल तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।





