बागलुङ/विभिन्न कोषबाट बागलुङको देउराली प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई शैक्षिक सामाग्री र छात्रवृत्ति दिइएको छ ।
बागलुङ नगरपालिका वडा नं. ४ को देउराली प्राविमा स्थापित स्वर्गिय नन्द्रप्रसाद÷नन्दकली उपाध्याय आचार्य स्मृति छात्रवृत्ति कोषमार्फत उक्त सहयोग गरिएको हो । कोषका संस्थापकहरु शिवराम आचार्य, पशुपति आचार्य, यज्ञबल्लव शर्मा र राजेन्द्र आचार्यले राखेको ३ लाख १ हजार १ सय ११ रुपैयाँको कोषबाट यहाँ अध्ययनरत १९ जना बालबालिकालाई विद्यालय झोला, स्टेशनरी र अन्य सामाग्री सहयोग गरिएको हो ।
संस्थापकको तर्फबाट शिवराम आचार्यले सामाग्री हस्तान्तरण गर्दै बालबालिकाको उज्वल भविष्यका लागि कोषबाट मात्र नभइ आफ्नो क्षेत्रबाट साथ दिने बताए । उनले बालबालिकाले रमाएर पढ्ने वातावरण बनाउन आफ्नो परिवारले सहयोग गर्ने पनि बताए ।
कार्यक्रममा बागलुङ नगरपालिका उपप्रमुख राजु खड्काले शैक्षिक विकासका लागि नगरपालिकाले शिक्षक दरबन्दी मिलान, विद्यार्थीको संख्या हेरेर अन्य साथ दिने काम गर्ने बताए । उनले हालै पनि विद्यार्थी संख्याको आधारमा कक्षा समायोजन, शिक्षक दरबन्दी मिलान गरिएको जानकारी दिए ।
कार्यक्रममा झरना केसी गुडिया स्मृति कोषबाट जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति समेत दिइएको शिक्षक उमाकान्त शर्माले जानकारी दिए । हरेक वर्ष दुवै कोषबाट बालबालिकालाई छात्रवृत्ति र शैक्षिक सामाग्री दिने गरिएको छ ।
कोषका संस्थापक शिवराम आचार्यको अध्यक्षता, स्थानीय अभिभावक राजेन्द्र आचार्यको संचालन र व्यवस्थापन समितिकी अध्यक्ष विष्णु कुमारी शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा समाजसेवी लालचन्द्र राजभण्डारी, नारायण आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यसअघि शिक्षक, विद्यार्थी र अभिभावकका लागि खुसी मनका अध्यक्ष नारायण आचार्यले सकारात्मक सोच सम्बन्धी तालिम समेत दिएका थिए ।





