शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

राज्यमाथिको भरोसा नटुटोस्

राज्यमाथिको भरोसा नटुटोस्

बाढीको विपत्तिले बनाएको यो घाउ तत्काल निको हुँदैन तर विस्तारै त्यसमा खाटा बसाउने अनि नागरिकलाई नियमित कर्म फर्काउने गरी अबका कृत्यहरु निर्देशित हुनुपर्छ ।


  • Dhorpatan News
  • भाद्र १७ २०८३, बुधबार

भोटेकोशी बाढीको सातौं दिनसम्म पनि जलविद्युत आयोजनाको सुरुङभित्र फसेका कर्मचारी र कामदारको अवस्था अज्ञात छ । सुरुङभित्रको उद्धारलाई आवश्यक पर्ने विशेषज्ञ र उपकरण अभावलाई सुरुमा सरकारले ख्याल गरेन । विदेशीको सहयोग स्वीकार्न ढिलाइ ग¥यो । जब समय बित्यो; विदेशी उद्धार टोलीलाई अनुमति दिइयो । अहिले चाहिँ सरकारले सुरुङमा उद्धारको प्रयास भइरहेको तर प्रगति हुन नसकेको जवाफ दिएको छ । बाढी गएको सात दिनसम्म पनि चिलिमे र लाङटाङ, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशुली–३ ‘बी’ लगायतका आयोजनामा फसेकाहरुको उद्धार हुन नसक्दा सरकारमाथि अनेकौं प्रश्न सोझिएका छन् ।

अलिकति पहिले प्रयास गरिएको भए; यो अवस्था आउँदैनथ्यो । नागरिकलाई सकुशल उद्धार गर्न सकिन्थ्यो । बाढीले बगर बनाएको बस्ती र घरहरूमा एकपछि अर्को गर्दै ठूलो संख्यामा लास भेटिन थालेका छन् । त्यसको व्यवस्थापन अनि बाँचेका पीडितका निम्ति राहत एवं पुनस्र्थापनाको काममा ढिलाइ भयो । यी कामको नेतृत्व लिनुपर्ने गृहमन्त्री स्वयं सुरुङ खोतल्न पुगे तर त्यहाँ पौंठोजोरी खेलेर पार लाग्दैन भन्ने बिर्सन पुगे । बेपत्ताको उद्धार र खोज, राहत वितरण एवं पुनस्र्थापनामा ढिलाइ भएको कतैबाट छिपेको छैन । कोसिस गर्दागर्दै पनि सफल नहुनु एउटा विषय हो तर यहाँ सरकारले उद्धारका निम्ति हरेक सेकेन्डको कति महत्व हुन्छ भन्ने विषयलाई नजरअन्दाज गरिदियो । जसका कारण ‘यत्ने कृते यदि न सिध्यति कोऽत्र दोष ः ?’ भन्ने उक्ति भट्याएर उम्कने बाटो सरकार स्वयंले बन्द गरिदियो ।

राष्ट्रिय संकटको यो घडीमा सरकारले केही नगरेको पक्कै होइन । उद्धारमा देखाइएको सक्रियता सह्रानीय नै छ । अपितु, जसरी सरकारले अन्तर्राष्ट्रिय सहयोग लिन आनाकानी ग¥यो; स्थानीय तहका जनप्रतिनिधिलाई उद्धार, राहत वितरण अनि पुनस्र्थापनामा लगाउन चाहेन; त्यसउपर भने पछिसम्मै प्रश्न उठ्ने छ ।

यो राजनीतिक लाभ–हानीको लागि दन्तबझान गर्ने समय होइन । उद्धार, राहत, पुनस्र्थापनका निम्ति राष्ट्र एकजुट हुने बेला हो । विपद्का बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग जुटाउने, राष्ट्रिय एकता कायम गर्ने र सम्पूर्ण सामथ्र्य लगाउँदै संकटबाट मुक्ति खोज्ने हो । ढिला भएको छ तर अझै पनि बेपत्ताहरुको सकुशल उद्धार अनि बेपत्ताहरु टुप्लुक्क आइपुग्छन् कि भन्ने आशा मरेको छैन । अतः सरकारले यसअघिका कमजोरीलाई सच्च्याउँदै उद्धार, राहत वितरण, पुनस्र्थापना एवं शव व्यवस्थापन जस्ता कामलाई तीव्रता दिनुपर्छ । पहिलो चरणका यी दायित्व कुशलतापूर्वक निर्वाह गर्न सके पुनर्निर्माणको काम पनि उही गतिमा अगाडि बढाउन सकिन्छ । बाढीको विपत्तिले बनाएको यो घाउ तत्काल निको हुँदैन तर विस्तारै त्यसमा खाटा बसाउने अनि नागरिकलाई नियमित कर्म फर्काउने गरी अबका कृत्यहरु निर्देशित हुनुपर्छ । सरकारका गतिविधि त्यस दिशातर्फ उन्मुख नभए नागरिकको भरोशा तिरोहित हुन्छ र त्यो असाध्यै महंगो पर्छ भन्ने सत्यलाई मनन गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->