दुई हजार त्रियासी भदौ १० को त्यो कालो दिन,
रसुवाको आकाशमा देखियो विपत्तिको चिन्ह।
तिब्बततिरबाट भेल उर्लियो भयो अनियन्त्रित,
क्षणभरमै बदलियो जीवन भयो सबै विरक्त।
बिहानीको घाम चढ्यो, घर–आँगन उज्यालो,
दैनिक जीवन चल्दै थियो, मन थियो न्यानो।
नौ नबज्दै अचानक आयो मृत्युको भेल,
सयौँ सपना बगाइदियो, निर्दयी त्यो खेल।
नाका, बजार, बस्ती सबै बाढीले छोप्यो,
आँखा झिम्किन नपाउँदै संसार नै खोस्यो।
घर थिए, परिवार थिए, आशाका ती संसार,
एकै छिनमा बाँकी रहे सम्झना र चीत्कार।
रसुवा मात्र रोएको छैन, गोर्खा पनि रोएको छ,
नुवाकोटका आँगनमा पनि पीडानै छाएको छ।
धादिङ, चितवन कहाँ अछुतो रहे र यो कहरबाट,
कति बस्ती उजाडिए प्रकृतिको निर्मम प्रहारबाट।
भोटेकोशी, त्रिशूली आज बोल्छन् पीडाले,
किनारभरि खोजी चल्छ आँसु र विवशताले।
कसैको आमा हराइन्, कसैको सन्तान,
कसैको घर रित्तियो, लग्यो आफन्तजनको प्राण।
कति बालक रोइरहे, कति वृद्ध बेसहारा,
कति आमाका आँखामा रोकिएनन् आँसुका धारा।
गुहार माग्ने समय पनि पाएनन् कतिले,
नियतिका निर्मम भेलमा हराए एकैछिनले।
मिडियाका पर्दामा जब देखिन्छ त्यो प्रत्यक्ष,
मुटु काँप्छ, आँखा रसाउँछ—कति भयावह दृश्य!
समाचार मात्र होइन, घाउ हो सिङ्गो देशको,
पीडा एउटै बनेको छ आज हरेक मनको।
दहलोमुनि खोजिन्छन् हराएका ती जीवन,
किनार–किनार दौडिरहेका छन् उद्धार गर्न जन।
प्रहरी, सेना, स्वयंसेवी जुटेका छन् निरन्तर,
खोज्दै हिँड्छन् प्रकृतिसँग अमेट एउटा उत्तर।
चिन्न नसकिने शरीर, अधुरो पहिचान,
कसको छोरा, कसकी छोरी—कसलाई छ ज्ञान?
लास उठाउँदा उद्धारकर्मीका आँखा रसाउँछन्,
कर्तव्य निभाउँदा पनि मान्छे भएर रुन्छन्।
कति अझै बेपत्ता छन्, कति छन् अज्ञात,
कहाँ छन्, कसरी छन्—छैन कुनै ज्ञात।
हे प्रकृति! किन यति कठोर बन्यौ आज,
किन खोस्यौ हाँसो, किन दियौ यस्तो सन्त्रास?
घटना रोक्न नसकिएला, बितेको फर्किँदैन,
तर बाँचेको जीवन अँध्यारो हुन हुँदैन।
हराएकाको खोजी होस्, पीडितले राहत पाऊन्,
टुटेका घरसँगै फेरि आशाका दीप बलून्।
दुःखको यो घडीमा कोही एक्लो भएन,
देशका कुनाकाप्चाबाट सहयोग रोकिएन।
प्रहरी, सेना, स्वास्थ्यकर्मी, स्वयंसेवी हातहरू,
आफ्नो पीडा भुलेर दौडिए राहतका साथहरू।
आफ्नो गाँस काटेर दिने ती मनहरूलाई सलाम,
आफ्नो समय दिएर खटिने सबैलाई प्रणाम।
अँध्यारोमा आशाको दीप बाल्ने ती हातहरू,
पीडितका लागि भगवान् बनेर पुगेका साथहरू।
लाङटाङको काख फेरि हाँस्नेछ एक दिन,
गोसाइँकुण्डको यो धर्ती रुनेछैन धेरै छिन।
मित्रराष्ट्र र विश्वभरबाट आयो सहयोगको राहत,
विदेशमा रहेका नेपालीले पनि बढाए आफ्नो हात।
राहत बोकेर आउने हातलाई हृदयदेखि नमन,
दुःखमा साथ दिने जनप्रति अनन्त कृतज्ञता अर्पण।
घाउ प्रकृतिले दियो, मलम मानवताले लगायो,
पाइरहेको सहयोगले मानवतामाथिको विश्वास जगायो।
(२०८३/०५/१८)





