सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

अमेरिका भ्रम र यथार्थको ऐना : डङ्की

अमेरिका भ्रम र यथार्थको ऐना : डङ्की

डङ्की समकालीन नेपाली आप्रवासन साहित्यको चित्र उतार्ने पछिल्लो छिमलको पठनयोग्य उपन्यास हो


  • शिव पलाँस
  • भाद्र २० २०८३, शनिबार

समयसँगै नेपाली आख्यान लेखनको प्रवृत्ति, विषय र शैली दिनानुदिन फराकिलो बन्दै गएको छ । नेपाली उपन्यास लेखनको प्रवृत्ति सामाजिक न्यायको खोजी, इतिहास र मिथकको फ्युजन, पहिचानको लडाइँ, द्वन्द्वले निम्त्याएका असर हुँदै डायस्पोरासम्म आइपुगेको छ । डंकी सपनाको काल बाटो त्यस्तै एउटा पछिल्लो दृष्टान्त हो । बुकहिलले प्रकाशन गरेको चन्द्र गिरीको यो उपन्यासले सहज जिन्दगी खोज्दै असहज र अनिश्चित यात्रामा निस्किएको पूर्वी नेपालको सकलपुर गाउँको एक नौजवानको संघर्षको कथा बोल्छ ।

पशुपति गाउँमा मास्टरी गरेर जीवन गुजारा गरिरहेको पात्र हो । समाजलाई देशभक्ति, आत्मसम्मान, नैतिकता र स्वाभीमानको पाठ पढाउने शिक्षक सपनाको देश अमेरिका जाँदै छ । त्यो पनि भारत, दुबई, रसिया, स्पेन, ब्राजिल, मेक्सिको जस्ता अनेकौं देश छिचोल्दै । आकासको, पानीको, सडकको र घना जंगलको यात्रा छिचोल्दै । अवैध रुपमा ।

यो आफैंमा कस्तो विरोधाभास छ जिन्दगीको । विर्खे, कुसुम, सुशीला, हरिहर जस्ता उपन्यासका सहायक पात्रहरुको अवस्था पनि उस्तै प्रकृतिको हो । किन मान्छे अवैध आप्रवासनको जोखिम उठाउन चाहान्छ भन्ने सवालका पछाडि पारिवारिक, सामाजिक, आर्थिक, राजनीतिक अनेकौं कारण हुन सक्छन् । हुन सक्छ कहिलेकाहीँ व्यक्तिको अधिक महत्वाकांक्षा पनि ।

रामचन्द्र आसेङ जस्ता नेता एकातिर देश निर्माण, सुव्यवस्था, स्वदेशमै अवसरका भाषण गर्दै हिँड्छन्; अर्कोतिर लाखौं रुपियाँ कुम्ल्याएर पशुपति जस्ता देशका युवा शक्तिलाई अवैध रुपले विदेशमा बेच्ने धन्धा चलाउँछन् । आसेङ बाहिर एउटा देखिने र भित्र अर्कै हुने हाम्रा नेताहरूको प्रतिनिधि पात्र हुन् । उनको भूमिका पढ्दा हाम्रो देशका कतिपय नेता, नेतृहरुको अनुहार आँखामा झल्झली नाँच्छ; जसले आफ्नै नागरिकलाई शरणार्थी बनाएर पश्चिमका देशमा बेच्ने धन्धा चलाए । राज्यशक्तिको चरम दुरुपयोग गरे ।

तेस्रो विश्वका नागरिक अवैध र जोखिमपूर्ण यात्रा गरेर बेलायत, अमेरिका, क्यानडा जस्ता देशतिर लाग्ने कथा, व्यथा कति पुराना होलान् ? यात्रा, संघर्ष, मानसिक अवसाद, मृत्यु, सफलता इत्यादिबारे लेखिएका पुस्तक कति होलान् ? सोही प्रकारका विषयमाथि बनेका फिल्म कति होलान् भनेर अध्ययन गर्ने हो भने अलि परसम्म जानुपर्ने हुन्छ ।

सन् २००७ मा बनेको अमितोज मानको फिल्म ‘काफिला’को कुरा गरौं । यो भारत, बंगलादेश र पाकिस्तानका युवा डंकी रुट समातेर एजेन्टमार्फत् बेलायत जाने युवा, युवतीको कथामा आधारित फिल्म हो । मानव तस्करी र विदेश जाने होडबाजीमाथि बनेको एउटा यादगार फिल्मका रुपमा यसलाई लिइन्छ ।

लेखक

२०१७ मा अमल निरदले केरलाको एक युवा प्रेमिका भेट्न अवैध बाटो र अनेकौं बाधा पार गर्दै अमेरिका पुग्ने यात्राको कथा मलयालम फिल्ममार्फत् प्रस्तुत गरे । फिल्मको नाम हो ः कमरेड इन अमेरिका ।

राकेश धवनको २०२२ मा बनाएको फिल्म ‘आजा मेक्सिको चलिए’ पनि अवैध आप्रवासनमा आधारित पञ्जाबी फिल्म हो । यस फिल्मको मुख्य पात्र पम्मा पनि अमेरिका छिर्न खोज्दा डंकी रुटमा फस्न पुग्छ । तर पनि ऊ अमेरिका छिर्न सफल हुन्छ । त्यसैगरी, राजकुमार हिरानीले पन्जाबका युवाले डंकी रुट प्रयोग गरेर कन्टेनरमा लुक्दै बेलायत जाने कथामाथि २०२३ मा डंकी फिल्म निर्देशन गरेका थिए ।

बेलायत बस्ने लेखक तथा पत्रकार श्यामलाल पुरीको २०१३ मा प्रकाशित ‘द इलिगल्स’ पुस्तक त छुटाउनै मिल्दैन । यो उपन्यास त होइन तर फ्याक्ट र फिक्सनको फ्युजन अर्थात् फ्याक्सन हो । यस पुस्तकमा अवैध रुपले बेलायत छिर्न खोज्ने भारतीयका समस्या दर्शाइएको छ । कामका सिलसिलामा विभिन्न देश पुग्दा त्यहाँ उनीहरुलाई प्रत्यक्ष भेटेर, अन्तवार्ता गरेर पुरीले पुस्तक तयार पारेका हुन् ।

आफ्नै आँगनतिर फर्किने हो भने पनि हामीले कृष्ण धराबासीको ‘तल्लो बाटो’, पदम विश्वकर्माको ‘पाताल’ र चन्द्र गिरीको ‘डंकी’बारे अवश्य पनि पढेका, सुनेका छौं होला । यी तीनै वटा पुस्तकको मूल विषय एउटै हो । हरियो डलरको आकर्षण अवैध बाटो, मानव तस्करी, पीडादायी यात्रा र सपनाको देश भित्रका अनेकौं कठिन संघर्ष । विषयवस्तुको पुनरावृत्ति भन्दा भिन्न यी पुस्तकमा के के छन् त भनेर पनि अलिकति केलाउनु पर्दछ ।

धराबासीको तल्लो बाटोले फरक वर्ग, जाति र पृष्ठभूमिका मान्छेलाई अमेरिकी सपनाको एउटै डोरीमा बाँध्छ । पदम विश्वकर्माको पातालले द्वन्द्वकालीन राजनीतिले विस्थापित गरेका युवाको सामाजिक मनोदशा दर्शाउछ । चन्द्र गिरीको डंकीले अहिलेका नेपाली युवाको पारिवारिक जिम्मेवारी समाजको गतिसँगै चल्नुपर्ने बाध्यता र आर्थिक उन्नतिको मोह प्रतिबिम्बित गर्छ ।

जब विषयवस्तु मिल्दोजुल्दो हुन्छ तब लेखकलाई आफू अरुभन्दा कुन रुपमा पृथक र विशेष छु भनेर प्रमाणित गर्ने चुनौती हुन्छ । यहाँनिर उसको लेखनको भाषा, शैली, संरचना र प्रस्तुतिले भिन्न बनाउन सक्छ । बोक्ने सन्देश फरक हुन सक्छ ।

चन्द्र गिरीको डंकीमा पात्रहरु थोरै छन् । कथा भित्र कथा छैनन् । तसर्थ प्रमुख पात्रकै वरिपरी रहेर कथा अगाडि बढिरहन्छ । वाक्य छोटा र सरल छन् तथापि सम्प्रेषण गर्ने भाव खँदिला छन् । वाक्यले पाठकलाई छोड्दैनन् । दृष्य देखाउँदै–देखाउँदै आफूसँगै अगाडि लैजान्छन् । पाठकलाई अलमल हुन र ध्यान भड्किन दिदैनन् । यो यात्रा, संस्मरण र स्थलगत अध्ययनका सामग्री मिश्रण गरेर तयार गरिएको पुस्तक हो; जहाँ कल्पना थोरै र यथार्थ धेरै छ ।

उपन्यासले अवैध र जोखिमपूर्ण वैदेशिक यात्राले अकल्पनीय पीडा र मानवीय संकट निम्त्याउँछ भन्ने सन्देश दिन खोजेको छ । यी पुस्तकका सबल पक्ष हुन् । उपन्यासको अन्त्यमा प्राचीको पत्रमार्फत् लेखकले पशुपति मारिए पनि उसको सपना छोरीले पूरा गरेको देखाएर नवीन र स्वादिलो प्रयोग गरेका छन् ।

प्रमुख पात्र पशुपति भन्छः गरिब भएर जन्मनु गल्ती हुँदैन; गरिब भएरै मर्नु गल्ती हुन्छ । जसरी पनि पैसा कमाउनु पर्छ भन्ने मान्यताले नै मान्छेलाई अक्सर विपत्तिमा हाल्छ । पैसाप्रति यति बिघ्न मोह पात्रलाई होला कि लेखकलाई ? किनभने पात्रलाई माध्यम बनाएर लेखकले आफ्नै कुरा भन्ने हो । पात्रको लगाम लेखककै हातमा हुने हो । सामान्य काम र कमाइले जीवन निर्वाह गर्न चाहने देश र समाजको ठूलो संख्याले प्रशस्त पैसा कमाउन नसकेर गल्ती नै गरेको हो त ?

भर्खरै नेपालमा आमा गुमाएको र बाटोमा अलपत्र परेको पात्र कसरी रेष्टुरेन्टमा पसेर बियर खाँदै विदेशी तरुनीहरूसँग नाँच्न सक्यो होला ? नहुनु मामा भन्दा …मामा जाती जस्ता उखानको प्रयोगले कसैको शारीरिक समस्यामाथि अपमान गरेको अर्थ लाग्ला कि नलाग्ला ? अमेरिकामा त उस्तै परे भाँडा पनि माझ्नुपर्छ अरे भनेर कामलाई किन होच्याइएको होला ? कसैले हलो जोतेको छ र नै कसैले भात खान पाएको छ । कसैले भाँडा माझेको छ र नै कसैले रेष्टुरेन्टमा सफा प्लेटमा खान पाएको छ ।

तैं रानी, मैं रानी हुने हो भने कल्ले भर्ने पानी ? पढेरै डाक्टर भएका र विश्व देखेका लेखकले यी र यस्ता प्रश्न एकपल्ट आफैंले आफैंलाई सोधेर पनि हेर्नुपर्छ कि भन्ने मलाई लाग्छ । बाँकी त संक्षिप्तमा भन्दा डंकी समकालीन नेपाली आप्रवासन साहित्यको चित्र उतार्ने पछिल्लो छिमलको पठनयोग्य उपन्यास हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->