
स्याङ्जा/भदौ ९ गते आफ्नो बिदा सकेर तिलक पराजुली रसुवा पुगे । भन्सार कार्यालय रसुवाका अधिकृत उनी १० गते कार्यालय जाने तयारी गरिरहेका थिए । उनी टिमुरेमा डेरामा बस्दै आएका थिए । तेस्रो तलमा बस्ने उनी कार्यालय जानका लागि निस्कदै थिए । अचानक भवन हल्लियो । भूकम्प आएको हो की भन्दै उनी दोस्रो तलामै बसे । तर, एकाएक घरभित्र हिलोसहितको लेदो पस्न थाल्यो ।
त्यो लेदो उही भोटेकोशीमा आएको विनाशकारी बाढीको थियो । वालिङ नगरपालिका १२ घर भइ एक महिनाअघि मात्रै उनी काजमा भन्सार कार्यालय पुगेका थिए । ‘अचानक भवन हल्लियो । म दोस्रो तलामै बसे । कार्यालयका लागि निस्कदैँ थिए । तर, एक छिनमै लेदोले भरिएको बाढी आयो र मेरो शरीर सबै पुर्दै लग्यो’ उक्त घटना सम्झदैँ उनले भने, ‘अब जीवन यति नै रहेछ भन्दा भन्दै भेलले मलाइ पनि लग्यो । भित्ता फोडेको त्यो भेलले मलाइ भुमरीमा हुत्याएर लगेको याद छ ।’
बाच्ने आशा नै मारेका उनलाई भुमरीले कति समय घुमायो याद छैन् । उनको हिसाबमा करिब २० मिनेट जति भुमरीमा परेको हुन सक्छन् । तर, त्यही भुमरीले नै उनको ज्यान बचायो । ‘भुमरीले हुत्याएदिए पश्चात बाच्ने आसामा टाउको जोगाउने प्रयास गरेँ’ उनले भने ।
भुमरीमा परेपछि भित्तातर्फ लगेर छाडेको थियो । त्यो बेला उनले तीन कुरा सम्झिएका थिए । भगवान, सात वर्षको छोरी र परिवार । पाखामा हुत्याउँदा उनले लत्रिँदै घिस्रँदै पहाड चढेको बताउँछन् । पराजुलीले सरकारले उद्धार गर्ने आशामा घस्रिँदै माथि उक्लिएको र विक्रम श्रेष्ठसँग भेट हुनु नै बाँच्ने मुख्य आधार बनेको सुनाए । उनलाइ विक्रमले नै अन्य घाइते तथा धेरै मान्छे रहेको ठाउँमा पु¥याएका थिए । गोठमा पुगेपछि बाँच्ने आशा जागेको बताउँदै पराजुलीले भुमरीबाट निस्के बाँच्ने आशा गरेकोमा हेलिकप्टर आउन थालेसँगै अब बाँच्छु भन्ने पुर्ण रुपमा विश्वस्त भएको बताए ।
प्रतिकुल मौसमका वाबजुत नेपाली सेनाको हेलिकप्टर सो ठाउँमा पुगेर उद्धार कार्य सुरु गरेको उनलाई याद छ । ‘अर्धचेत अवस्था रहेको मलाई भरत थापा र बिक्रमले माथिल्लो गोठबाट तल रहेको हेलिकप्टर अवतरण गर्नसक्ने स्थान पु¥याउनु भएको थियो’ बाँच्ने आशै मारेको मलाइ भाग्यले बचायो’ उनले थपे, ‘केही समयमा हेलिकप्टर आयो सोही हेलिकोप्टरले मलाइ पनि उद्धार गरेर नुवाकोटको सेनाको क्याम्पमा लगेको थियो ।’
उद्धारपछि आफुलाई काठमाडौं लैजान्छ भन्ने लागेपनि नुवाकोटमै राखेको जनाए । त्यसपछि आर्मी क्याम्पबाट नजिकैको चक्रदेव अस्पतालमा लगिएको थियो ।
अस्पताल पु¥याएपछि कोही आफ्नो मान्छेको नम्बर भन्न सक्नुहुन्छ भनेर सेनाका व्यक्तिले सोध्दा उनले श्रीमतीको नम्बर दिएका थिए । सो नम्बरमा सम्पर्क नभएपछि दाइ तोरण पराजुलीको नम्बर दिएका थिए । त्यसमा समेत सम्पर्क नभएपछि स्कुलका साथ युवराज डुम्रेको नम्बर दिएका थिए । युवराजकै एकजना साथी तुरुन्तै चक्रदेव अस्पतालमा आएको र बाढीग्रस्त क्षेत्रमा हेलिकप्टर उडाउनुपर्ने भएकोले प्राथमिक उपचार गरेर एम्बुलेन्सबाट काठमाडौंको नर्भिक अस्पतालसम्म पुगेको उनको भनाइ छ ।
बाढीमा परि उनको दायाँ करङ भाँचिएको छ । पराजुलीको बाहिरी भागमा सबैतिर चोट छ । २ दिन आईसीयूमा राखेपछि उनलाई ६ दिन वार्डमा राखिएको थियो । पराजुलीको आफ्नो अफिसका ३५ जनामध्ये धरै बेपत्ता र धेरैको मृत्यु भएको सुनाए ।
‘निको हुन केही समय लाग्ला तर भाग्यमा भए बाँच्नलाई कसैले रोक्न भने नसक्दो रहेछ’ उनले भने । काठमाडौंमा परिवारसँग रहेर उपचार गराइरहेका उनले असल कर्मचारीको रुपमा जिउने प्रण गरेका छन् ।





