स्याङ्जा / स्याङ्जाको वालिङ नगरपालिका–१ खत्रीखोलामा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्। भारतको तमिलनाडु प्रदेश, कोयम्बटुर जिल्ला गुलुमलाइ घर भएका अन्दाजी ५५ वर्षीय कुमार स्वामी (पातली) सोमबार बिहान स्थानीय कृष्णप्रसाद ढकालको घरमा सुतिरहेको अवस्थामा मृत फेला परेका हुन्।
प्रहरीका अनुसार कुमार स्वामी विगत २५ वर्षदेखि स्याङ्जाको भिरकोट नगरपालिका–४ स्थित छाङछाङदी मन्दिरमा साधुको रूपमा बस्दै आएका थिए। उनी अत्यधिक मादक पदार्थ (रक्सी) सेवन गर्ने गरेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएपछि वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले मुचुल्कालगायत प्रारम्भिक अनुसन्धानको काम सकेर शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाएको छ।
मृतकका आफन्तलाई घटनाबारे जानकारी गराउने प्रक्रिया भइरहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिएका छन्।





