बेङ्लोर / प्राकृतिक विपत्तिले देशका विभिन्न भूभाग प्रभावित भइरहेका बेला प्रवासी नेपालीहरुमा पीडितका लागि कसरी सहयोग जुटाउने भन्ने विषयमा फरक–फरक धारणा देखिएका छन्।
कतिपय संगठनले दुःखको समयमा मनोरञ्जनात्मक कार्यक्रम नगर्न आफ्ना मातहतका कमिटीलाई निर्देशन दिए । तर प्रवासी नेपाली संघ भारत, कर्नाटक–केरला संयुक्त राज्य समिति अन्तर्गतको पूर्वी नगर समितिले भने फरक अभ्यास प्रस्तुत गरेको छ।
पूर्वी नगर समितिले “दुःखको समयमा कार्यक्रम नगर्ने होइन, कार्यक्रमलाई नै पीडितको सहयोगमा प्रयोग गर्नुपर्छ” भन्ने उद्घोषसहित हरितालिका तीज विशेष कार्यक्रम तथा शोकसभा आयोजना गरेर सहयोग संकलन गरेको छ ।
उक्त कार्यक्रमबाट रसुवा बाढीपीडितका लागि भारतीय रुपैयाँ २६ हजार १५ आर्थिक सहयोग संकलन भएको आयोजकले जनाएको छ।
कार्यक्रम नगर उपाध्यक्ष तथा महिला विभाग प्रमुख तिर्सना धमालाको अध्यक्षतामा सम्पन्न भएको थियो। स्मृति खड्काले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने ज्योति बरालले स्वागत मन्तव्य राखेकी थिइन्।
कार्यक्रमका प्रमुख अतिथि प्रवासी नेपाली संघ भारतका केन्द्रीय सदस्य जगदिश आचार्य तथा विशिष्ट अतिथि केन्द्रीय समिति सदस्य राजिन्द्र खनाल रहेका थिए।
कार्यक्रममा संघका केन्द्रीय समिति प्रतिनिधि परिषद् सदस्य रामप्रसाद जोशी, कृष्णबहादुर खड्का, राज्य अध्यक्ष भरत बाब्ली, उपाध्यक्ष अमृता खनाल, सचिवालय सदस्य तथा नगर इन्चार्ज हेमा कंडेल, राज्य सदस्यहरू बिना बजगाईं, झंकर साउद, प्रकाश परिवार र दीपेन्द्र क्षेत्री लगायतको उपस्थिति थियो।
त्यसैगरी पूर्व राज्य सदस्यहरू दानबहादुर रावत, कमल शाही र श्याम थापा, नगर अध्यक्ष गणेश रसाइली, सचिव उपेन्द्र थापा, उपसचिवहरू नवराज देउवा र पदम खड्का, आर्थिक विभाग प्रमुख अर्जुन भट्ट, नगर सदस्य रमेश शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि चन्द्र भण्डारी, पत्रकार महासंघका सदस्य टेक नारायण पौडेल लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
एउटा कार्यक्रमले उठाएको ठूलो प्रश्न
पूर्वी नगर समितिको यो कार्यक्रम एउटा सामान्य तीज कार्यक्रम मात्र रहेन। यसले विपत्तिको समयमा सामाजिक तथा राजनीतिक संगठनहरूको भूमिका कस्तो हुनुपर्छ भन्ने महत्वपूर्ण बहससमेत जन्माएको छ।
दुःखमा कार्यक्रम नगर्नु संवेदनशीलताको एउटा रूप हुन सक्छ। तर कार्यक्रमलाई नै राहत संकलनको माध्यम बनाउनु अझ परिणाममुखी संवेदनशीलता हुन सक्छ।
यदि कुनै कार्यक्रमका कारण पीडितका लागि एक रुपैयाँ पनि संकलन हुँदैन भने त्यसलाई स्थगित गर्नु स्वाभाविक हुन सक्छ। तर त्यही कार्यक्रमबाट पीडितका लागि आर्थिक सहयोग जुटाउन सकिन्छ भने कार्यक्रमको स्वरूप परिवर्तन गरेर त्यसलाई सेवामुखी बनाउनु किन नहुने भन्ने विषयमा पूर्वी नगर समितिले यही प्रश्नको व्यवहारिक उत्तर दिएको देखिन्छ।
करोडौँ संकलन हुन सक्थ्यो कि ?
प्रवासी नेपाली समुदायमा विभिन्न राजनीतिक तथा सामाजिक संगठनका सयौँ स्थानीय कमिटी छन्। यदि प्रत्येक स्थानीय कमिटीले आफ्ना नियमित कार्यक्रमलाई केही समयका लागि राहत तथा सहयोग संकलनसँग जोड्ने हो भने सानो–सानो रकमबाट पनि ठूलो आर्थिक स्रोत निर्माण गर्न सकिन्छ।
एक ठाउँमा भारु २६ हजार १५ संकलन हुनु आफैँमा ठूलो रकम नहुन सक्छ। तर यही भावना सयौँ ठाउँमा दोहोरियो भने त्यसको परिणाम करोडौँसम्म पुग्न सक्छ। त्यसैले प्रश्न रकमको मात्र होइन, सोचको हो।
विपत्तिको समयमा नेतृत्वले जनतालाई केवल “कार्यक्रम नगर्नू” भन्ने कि “कार्यक्रमलाई सहयोग अभियानमा बदल्नू” भन्ने—यहीँबाट नेतृत्वको कार्यशैली र सोचको अन्तर देखिन्छ।
परम्परागत होइन, यथार्थवादी नेतृत्व
राजनीतिक संगठनहरूमा माथिल्लो तहबाट निर्देशन दिने परम्परा पुरानै हो। तर समाज बदलिँदै गएको छ। संकटका प्रकृति बदलिएका छन्। नागरिकको अपेक्षा पनि बदलिएको छ।
आजको नेतृत्वले केवल आदेश दिनुभन्दा परिस्थितिको वास्तविकता बुझेर व्यवहारिक समाधान प्रस्तुत गर्न सक्नुपर्छ। दुःखमा दुःखी हुनु मानवीय भावना हो। तर दुःखीको दुःख घटाउन केही गर्नु सामाजिक जिम्मेवारी हो।
त्यसैले नेतृत्वको मूल्यांकन अब कति निर्देशन जारी भयो भन्ने आधारमा होइन, कति समस्या समाधान गर्न सकियो भन्ने आधारमा हुन आवश्यक छ।
पूर्वी नगर समितिले तीजको सांस्कृतिक कार्यक्रमलाई राहत अभियानसँग जोडेर एउटा सानो उदाहरण प्रस्तुत गरेको छ। यो अभ्यास अन्य संगठनले पनि अपनाउने हो भने प्रवासी नेपाली समुदायबाट विपत्तिमा ठूलो सहयोग परिचालन गर्न सकिन्छ।
अन्ततः प्रश्न एउटै हो-
दुःख देखेर कार्यक्रम रोक्ने नेतृत्व चाहिएको हो कि दुःख देखेर कार्यक्रमलाई नै सहयोगमा बदल्ने नेतृत्वः
समयले अब परम्परागत होइन, यथार्थवादी, वस्तुवादी र परिणाममुखी नेतृत्व खोजिरहेको छ। देश विपत्तिमा परेको बेला राजनीतिक विचार, संगठन र गुटभन्दा माथि उठेर पीडितको पक्षमा उभिनु आजको आवश्यकता हो।
जहाँ जे कार्यक्रम हुन्छन्, तिनलाई सम्भव भएसम्म राहत तथा सहयोग अभियानसँग जोडौँ। दुःखमा मौन नबसौँ—सक्नेले सहयोग गरौँ, अरूलाई पनि सहयोग गर्न प्रेरित गरौँ। किनकि विपत्तिमा हाम्रो पहिचान संगठनले होइन, हामीले गरेको सहयोगले देखाउँछ।





