काठमाण्डौँ/म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित कार्यक्रममा मुद्रण सञ्चार माध्यमसँग सम्बन्धित ४ वटा र मिडिया अनुसन्धान गरी पाँच पुस्तक सार्वजनिक गरिएको हो ।
पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत मिडिया टेक्नोलोजीमा स्नातक र स्नातकोत्तर तह अध्यापन हुने एकमात्र क्याम्पसको रुपमा रहेको सेफर्ड कलेजले यसअघि पनि विश्वविद्यालय पाठ्यक्रममा आधारित २ पुस्तक सार्वजनिक गरिसकेको सहायक क्याम्पस प्रमुख प्रेम पुनथोकीले जानकारी दिए ।
विद्यार्थीलाई समयमा नै गुणस्तरीय पाठ्यपुस्तक उपलब्ध गराउन र सहभागितामूलक सिकाइ पद्धतिलाई प्रवद्र्धन गर्नका लागि बाँकी विषयका पाठ्यपुस्तक समेत तयार गरी विद्यार्थीलाई उपलब्ध गराउने योजनाअन्तर्गत स्नातकोत्तर तह दोस्रो सेमेष्टर र पहिलो सेमेष्टरका बाँकी पाठ्यपुस्तक समेत तयारीको क्रममा रहेको सहायक क्याम्पस प्रमुख पुनथोकीले जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रमेश खतिवडाले यस किसिमका पाठ्यपुस्तक विकासले शैक्षिक गुणस्तरमा सुधार ल्याउनुका साथै पाठ्यक्रममा आधारित जानकारीका लागि विभिन्न श्रोतमा भर पर्नुपर्ने अवस्थाको अन्त्यले शैक्षिक गुणस्तर कायम राख्न सहयोग पुग्ने बताए ।
सोही अवसरमा क्याम्पसले तयार गरेको सहभागितामूलक सिकाइ मार्गदर्शन समेत सार्वजनिक गरेको छ । मार्गदर्शनमा अनलाइन कक्षा कसरी सहभागितामूलक रुपमा सञ्चालन गर्ने, नियमित मूल्यांकन प्रक्रिया, सिकाइ कार्यमा विद्यार्थीको भूमिका, निरन्तर मूल्यांकन पद्दति लगायतका विषय समावेश गरिएको छ ।
सोही अवसरमा स्नातकोत्तर तह पहिलो सेमेष्टरका विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरिएको थियो । कार्यक्रममा विनोद प्रसाद शर्माले सहभागितामूलक सिकाइ पद्दति र स्नातकोत्तर तह अध्ययनका विभिन्न आयामको बारेमा अभिमुखीकरण गरेका थिए ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष एवम् क्याम्पसमा स्नातकोत्तर तह पहिलो सेमेष्टरका विद्यार्थी गणेश बस्नेतले परीक्षाका लागि नभै जीवनका लागि अध्ययन गर्नुपर्नेमा जोड दिए ।
क्याम्पसका अध्यापक प्रकाशजंग कार्कीले मिडिया टेक्नोजोलीको अध्ययनको दायरा व्यापक भएकोले प्रभावकारी सिकाइमा विद्यार्थीको सक्रियता महत्वपूर्ण हुने बताए ।





