बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

हिरो गोल्ड कप : नेपाल उपविजेता

हिरो गोल्ड कप : नेपाल उपविजेता


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३ २०७५, शुक्रबार

पोखरा, ३ फागुन – भारतको भुवनेश्वरमा आयोजना भएको हिरो वुमन्स गोल्डकप फुटबल प्रतियोगितामा नेपाल उपविजेतामा सीमित भएको छ। शुक्रबार भएको फाइनलमा म्यानमारसँग ३-१ गोलले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको हो। उडिसास्थित कंलिगा रंगशालामा पहिलो हाफ भने दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए। दुवै टोलीले ‘टेक्निक’लाई भन्दा ‘पावर’लाई ध्यान दिँदा दुवै टोलीबाट लगातार फल भएको थियो।
खेलको ३८ औं मिनेटमा म्यानमारले अग्रता लियो। यियी ओले नेपाली रक्षकलाई जिल्याउँदै डीबक्स भित्रबाट गोल गरेकी थिइन्। त्यसपछि ४५ औं मिनेटमा मन्जली योञ्जनले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन्। पहिलो हाफ १-१ गोलको बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा भने आक्रामक खेल खेलेका थिए। खेलको ५४औं मिनेटमा गोल गर्दै म्यानमारले खेलमा २-१ को अग्रता बनाएको थियो। म्यानमारकी विन थेंगी टुनले गोल गरेकी थिइन्। त्यसलगत्तै ६३औं मिनेटमा यियी ओले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३-१ को अवस्थामा पु¥याएकी थिइन्। त्यसपछि दुवै टोलीबाट गोल सम्भव नभएपछि गोल्डकपमाथि म्यानमारले कब्जा जमायो।
प्रतियोगिताको पहिलो खेलमा पनि नेपालले म्यानमारसँगै ३-० को पराजय भोगेको थियो। त्यसपछि आयोजक भारतलाई २-१ र बलियो टोली इरानलाई ३-० गोलले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। प्रतियोगितामा चार राष्ट्रको सहभागिता थियो। कात्तिकमा ओलम्पिक छनोटमा म्यानमार, भारत र बंगलादेशलाई १-१ गोलको बराबरीमा रोक्दै दोस्रो चरणमा स्थान बनाएको नेपाल विगत दुई महिनादेखि विराटनगरमा हुने पाँचौं महिला साफ च्याम्पियनसिपको तयारीमा छ। भारतले पनि महिला साफलाई नै लक्षित गरी प्रतियोगिता आयोजना गरेको हो। पाँचौं साफ च्याम्पियनसिप मार्च १२ देखि हुँदै छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->