बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

यसरी बच्नुहाेस् रक्तचापबाट

यसरी बच्नुहाेस् रक्तचापबाट

रक्तचाप: समस्या र रोकथाम


  • Dhorpatan News
  • फाल्गुन १९ २०७५, आइतबार

डा. शाम्भवी शर्मा भन्छिन्, ‘रक्तचाप शरीरभित्रकै एक प्रक्रिया हो, अत: यसको अस्थिरताको कारण पनि हाम्रै दैनिकी र व्यवहारसँग सम्बन्धित छ।’ ‘टाउको दुखिरहन्छ, झनक्क झनक्क रिस पनि उठ्छ, प्रेसर हाई भयो जस्तो छ’
‘टाउको झमझम गरिरहेको छ, अल्छी लागेजस्तो, जिउ गलेजस्तो भएको छ, प्रेसर लो भयो जस्तो छ’
यी प्रायः हामीले मानिसहरुको मुखबाट सुनिरहने कुराहरु हुन्। ब्लड प्रेसरलाई नेपालीमा रक्तचाप भन्ने गरिन्छ। माथिका कुराहरु सुनिरहने भए पनि हामी सबैलाई ब्लडप्रेसर (रक्तचाप)बारे खासै थाहा नहुनसक्छ। हो, यही कुरा हामीले डाक्टरसँग नै कुराकानी गरी उचित सल्लाह, परामर्श वा जानकारी दिने प्रयास गरेका छौँ। पाटन अस्पतालकी डाक्टर शाम्भवी शर्माका अनुसार ब्लडप्रेसरबारे धेरैले कुरा गरिरहेकै हुन्छन् तर वास्तवमा रक्तचाप के हो र कसरी कम वा बढी हुन्छ भन्ने कुरामा भने त्यति चासो दिँदैननन्।
रक्तचाप (ब्लडप्रेसर) के हो ?
मुटुबाट रगत बाहिरिने र भित्र पस्ने प्रक्रियामा रगतले रक्तनलीमा पार्ने दबाबलाई रक्तचाप वा ब्लडप्रेसर भनिन्छ। मुटुले पम्प गरेको रगतलाई शरीरको सबै तन्तु र इन्द्रियसम्म पुर्‍याउने काम धमनीले गर्ने गर्छ। जीवन स्थिरताका लागि चार महत्वपूर्ण संकेतहरू मुटुको धड्कन दर, श्वासप्रश्वास दर, रक्तचाप र शरीरको तापमान) मध्येको एक, रक्तचापको मापन सामान्यभन्दा न्यून वा बढी भएमा शरीरमा नकारात्मक असर देखिन थाल्छ।
रक्तचाप मापनका लागि, स्फाइग्मोम्यानोमिटरको प्रयोग गरिन्छ। रक्तचापलाई मापन गर्दा सिस्टोलिक र डायस्टोलिकको आधारमा नाप्ने गरिन्छ। १२०र८० सामान्य रक्तचाप हो र यसमा माथिल्लो १२० लाई सिस्टोलिक मापन (मुटुको धड्कनको उच्चतम एक धड्कन) र तल्लो ८० लाई डायस्टोलिक (मुटुको दुई धड्कन बीचको न्यूनतम) मापनका गरिन्छ र पारोको मिलिमिटरमा व्यक्त गरिन्छ। उदाहरणः (१२०/८० एमएमएचजी)
स्वस्थ व्यक्तिको सिस्टोलिक मापन ९० देखि १२० सम्म हुनुपर्छ भने डायस्टोलिक मापन ६० देखि ८० सम्म मात्र हुनुपर्छ। सोभन्दा कम भएमा न्यून रक्तचाप अर्थात् हाइपोटेन्सन भनिन्छ। बढी भएमा उच्च रक्तचाप अर्थात् हाइपरटेन्सन भनिन्छ। डा. शाम्भवी शर्माका अनुसार मुटुको अवस्था, पूर्ण प्रतिरोधात्मकता, धमनीको कठोरतालगायत व्यक्तिको स्थिति, भावनात्मक अवस्था, गतिविधि र तत्कालीन स्वास्थ्य वा रोगको अवस्थाले रक्तचापलाई प्रभावित गर्छ र हाइपोटेन्सन वा हाइपरटेन्सन हुनसक्छ।
न्यून रक्तचाप र हाइपोटेन्सन
धमनीमा रक्तप्रवाहको दबाब कम हुनुलाई न्यून रक्तचाप अर्थात् लो ब्लडप्रेसर भनिन्छ। सिस्टोलिक मापन ९० भन्दा कम र डायस्टोलिक मापन ६० भन्दा कम भएमा न्यून रक्तचाप वा हाइपोटेन्सन भएको भनिन्छ। रक्तचाप कम भयो वा रगतको प्रवाह निकै कम भयो भने मस्तिष्क, मुटु, मिर्गौलालगायतका अङ्गहरूमा अक्सिजन र पौष्टिक तत्वहरू पुग्न सक्दैनन् र ती अंगहरूले सामान्य रूपमा काम गर्न सक्दैनन्। अलि लामो समयसम्म ती अङ्गहरूले काम गर्न सकेनन् भने स्थायी रूपमा नै क्षतिग्रस्त हुन सक्छन्।
न्यून रक्तचापलाई केवल रक्तचापको अंकले मात्र निर्धारण गर्न सकिन्न। पहिला उच्च रक्तचाप भइरहने व्यक्तिको चाप १००/६० भयो भने पनि उसलाई न्यून रक्तचाप भएको मानिन्छ भने पहिलादेखि नै सामान्य रक्तचाप हुने व्यक्तिको चाप ९०/६० हुँदा पनि सामान्य नै मानिन्छ। त्यसैले न्यून रक्तचापलाई, मापनका आधारमा मात्र पहिचान नगरी व्यक्तिमा देखिएको लक्षणबाट पहिचान गर्नुपर्ने हुन्छ। रक्तचाप अति नै न्यून भएमा व्यक्ति बेहोस पनि हुन सक्छ।
न्यून रक्तचापका कारणहरूः
न्यून रक्तचाप हुनाको विशेष कारणहरू छैनन् तर तलका कारणहरूले पनि न्यून रक्तचापहरू हुनसक्छ :
– थाइराइड, मधुमेह वा रगतमा चिनीको मात्रामा कमी
– उच्च रक्तचाप वा अवसादको औषधि प्रयोग
– हृदय(मुटु)मा समस्या
– मिर्गौलाको समस्या
– गर्मीको प्रभाव आदि
कहिलेकाहीँ रक्तचाप अचानकै पनि न्यून भइदिन सक्छ। शरीरमा आएको अनियमित परिवर्तन वा स्वास्थ्य स्थितिको गडबडीले पनि रक्तचापलाई न्यून गराइदिन्छ।

अचानक रक्तचाप न्यून हुनसक्ने कारणहरूः
– रक्तस्राव
– शरीरको न्यून तापक्रम
– मुटुको समस्या
– रक्त संक्रमण
– निर्जलीकरण (डिहाइड्रेसन)
– औषधि र मदिराको प्रतिक्रिया
– एलर्जी
– अनियमित धड्कन आदि।
न्यून रक्तचापका लक्षणहरूः
– छातीमा दुःखाइ
– अनियमित धड्कन
– टाउको दुख्नु
– माथिल्लो ढाडमा दुःखाइ
– अपच
– थकाइ, आलस्य
– श्वासप्रश्वासमा असहजता, छिटो–छिटो हाइ आउनु आदि।
उच्च रक्तचाप र हाइपरटेन्सन
धमनीमा रक्तप्रवाहको दबाब बढी हुनुलाई उच्च रक्तचाप भनिन्छ। रक्तचाप उच्च हुँदै जाँदा खासै लक्षणहरू देखिँदैन तर उच्च रक्तचाप हुनु, निकै जोखिमपूर्ण हुन्छ। उच्च रक्तचापले हृदयाघात, अन्य मुटुसम्बन्धी रोग, दृष्टि क्षति, मिर्गौलासम्बन्धी रोग आदि निम्त्याउँछ। उच्च रक्तचापलाई विशेषतः दुई भागमा विभाजित गर्न सकिन्छ। हाइपरटेन्सन स्तर १ र हाइपरटेन्सन स्तर २। अधिकांशतः धेरैलाई स्तर १ खाले उच्च रक्तचाप हुने हुन्छ। तर स्तर २ खाले उच्च रक्तचाप भएमा त्यसले गम्भीर समस्या दर्शाउँछ। ‘आजकल, मानिसको जीवनशैलीले र खानपानले पनि उच्च रक्तचापको समस्यालाई बढाइरहेको छ। धूमपान, मद्यपान, अत्यधिक मोटोपन, भुटेको तारेको खाना र खानामा नुनको बढी प्रयोग जस्ता कुराले रक्तचापलाई बढाउने काम गर्छ। सिस्टोलिक र डायस्टोलिक मापन सामान्यभन्दा माथि गयो भने, रक्तचापलाई उच्च मानिन्छ’, शर्मा भन्छिन्।
उच्च रक्तचापका कारणहरू :
– धूमपान
– अत्यधिक मद्यपान
– अत्यधिक तौल
– बढ्दो उमेर
– शारीरिक अभ्यासको कमी
– तनाव
– खानामा नुनको अधिक प्रयोग
– वंशाणुगत
– मिर्गौलाको रोग
– थाइराइडको समस्या
– निद्रामा श्वासप्रश्वासको समस्या

उच्च रक्तचापका लक्षणहरू:
– टाउको दुख्नु
– रिंगटा लाग्नु
– दृष्टि दोष (आँखाको समस्या)
– वाकवाकी हुनु
– असामान्य धड्कन
– छाती दुख्नु
– अत्यधिक हाई आउनु र श्वास फेर्न गाह्रो हुनु
– कहिलेकाहीँ पिसाबमा रगत देखिनु
– नाकबाट रगत बग्नु
– कान बज्नु
– टाउको र घाँटीमा धड्कनको अनुभव

रक्तचापलाई सामान्य राख्न गर्न सकिने उपायहरू:
– शारीरिक गतिविधिलाई बढाउनुहोस् र व्यायाम गर्नुहोस्
– तौल बढी छ भने तौल नियन्त्रण गर्नुहोस्
– ध्यान र योग अभ्यास गर्नुहोस्
– धूमपान र मद्यपान त्याग्नुहोस्
– तनावमुक्त जीवन जिउनुहोस्
– पूर्ण निद्रा सुत्ने गर्नुहोस्
– चिनी र कार्बोहाइड्रेटको प्रयोगमा कमी ल्याउनुहोस्
– पोटासियमयुक्त वस्तुको सेवन बढाउनुहोस् र सोडियम (नुन)को मात्रा घटाउनुहोस्
– प्रशोधित खाना कम खानुहोस्
– लसुन र लसुनयुक्त खाना खाने गर्नुहोस्
– प्रोटिनयुक्त खाना खानुहोस्
– कफी कम गर्नुहोस्
– चिकित्सकको सल्लाहअनुसारको मात्र औषधि सेवन गर्नुहोस्
डा.शर्माका अनुसार हामीले हाम्रो दैनिकि, खानपान र अरु अति नै सामान्य कुराहरुमा ध्यान दियौँ भने रक्तचापमा नियन्त्रण गर्न सकिन्छ। अति व्यस्त हाम्रो दैनिकि र आधुनिकीकरणका कारण खानपानमा आएको परिवर्तनलाई ध्यान दिई जीवनशैली परिवर्तन गरे स्वस्थ रहन सकिने उनको सल्लाह छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->