संसारकै सबैभन्दा होचो अरुण उपत्यकामा सवारीसाधनहरू— बस, जिप, भ्यान, तीनपाङ्ग्रे ट्याम्पो, मोटरसाइकल सबै थिए । गाडीको टिकट काउन्टरमा सोधें । मलाई चैनपुर पुग्नु थियो । मेरो सुनेपछि उसले वास्तै गरेन । ऊ धेरै भाडा आउने गरी धरान, इटहरीतिर जाने यात्रुको खोजीमा थियो । एयरपोर्टबाहिर बाटोछेउका पसलहरूमा सोध्दै थिएँ । घ्यार्र गर्दै १२ किलोमिटर माथि रहेको खाँदबारीबाट एउटा पुरानो मारुती भ्यान आइपुग्यो । केही मानिसहरू त्यतै कुदे । ब्यागप्याक बोकेर म पनि त्यतै कुदें । पुरानो मारुती भ्यान यात्रुलाई कोचाकोच भरेर गुड्यो । अलिकति सम्म र त्यसपछि ओरालो गर्दै पाँच किलोमिटर झरेपछि एउटा खोलो आइपुग्यो । पुल तर्नेबित्तिकै सोधें छेउमा बसेका मानिसलाई त्यस खोलाको नाम । उनले भने, “सवा खोला ।” मचाहिँ अरुण हो कि भनेर झुक्किन लागेको थिएँ । पानी अलि कम भएकोले मात्रै सोधेको थिएँ ।|पहाडको बाटो, नागबेली त थियो नै । उकालो पनि थियो मज्जैले । हामी चढेको भ्यान कहीँ–कहीँ त मुस्किलले कन्दै उक्लेझैं गर्न थाल्यो । डर पनि लाग्यो, यसले पु¥याउला के ! फेरि अलि अघि बढेपछि अगाडिको सिटमा बसेका भाइले तल पाङ्ग्रातिर हेरेर भने, “पन्चर भा’को हो दाइ ? हावा त निकै कम छ नि !”
डाइभरले भने, “त्यस्तै हो । ठिकै होला ।”
अलिकति आस बढ्यो । बिस्तारै भए पनि पुगिन्छ होला । यात्रा शुरु गरेपछि पुग्नु सबैभन्दा ठूलो सफलता हो— शतप्रतिशत । त्यसबीचमा कसरी पुगियो, कति समयमा पुगियो भन्ने कुरा पुगिसकेपछि गौण भइदिन्छ ।
पछिल्लो सिटमा दुईजना पुरुष र एउटी महिला बसेका थिए । तीनैजना अधवैंशे उमेरका थिए । एकजना पुरुषले मोबाइल फोनमा केही कुरा गरे । उनको कुरा सकिएपछि अर्का पुरुषले भने, “तपाईं मगर हो ?”
“हो, कसरी थाहा पाउनुभो ?”
“तपाईंले मगर भाषामा कुरा गरेको सुनेर नि ।”
“तपाईं नि ?”
“म राई हो ।”
यसरी उनीहरूको संवाद शुरु भयो । त्यसपछि उनीहरूको कुराकानी हामी चढेको भ्यान गुडिरहेको बाटोजसरी नै नागबेली पर्र्दैै अगाडि बढिरह्यो ।
“तपाईंको घर कहाँ हो ?”
“मेरो अलि माथि हो खर्कबारी ।”
“तपाईंको नि ?”
“मेरो त चैनपुरपारि पर्छ ।”
“मेरो त दुइटा बूढी छ । त्यसैले दुइटा परिवार दुई ठाउँमा छ,” अधवैंशे राईले भने । म चुपचाप सुनिरहेको थिएँ ।
“अनि कता बस्नुहुन्छ त ?” अधवैंशे मगरले भने ।
“धेरै त कान्छीकोमा बस्छु । कहिलेकाहीँ जेठीकोमा पनि आउँछु ।”
“किन दुइटा बिहे गरेको नि ?”
“खै के भो, के भो । गरिहालें । त्यस्तै भो त्यो बेला । अब भैगो । जेठीबाट मेरो एउटा छोरा छ । कान्छीबाट तीनवटा ।”
“अनि छोरो के गर्छ त ?”
“जेठीतिरको छोरो टडक चलाउँछ । अहिले ताप्लेजुङमा छ । अरू त सानै छन् । स्कुल जान्छन् ।”
“उसले बिहे ग¥यो त ?”
“हामीले गरिदिएको त छैन । पोहोर उसले आफैं ल्यायो । उनीहरू सँगै बस्छन् ।”
यसैबीचमा एउटा घुम्तीलाई गाडीले एक फन्को लगाउनेबित्तिकै बारीको डिलमा ठूलो हाइटेन्सन लाइनको नयाँ पोल ठड्याएको देखियो । अब कुरा त्यतैतिर मोडियो । अगाडिको सिटमा बसेका भाइले सोधे, “यो नयाँ पोल रहेछ । केको हो ?”
“यो अरुण थर्डको होला,” ड्राइभर भाइले भने ।
“अँ, यो अरुण थर्डकै हो । मेरो बारीमा पनि गाडेको छ एउटा पोल । त्यो गाडेबापत मलाई सवा ४ लाख रुपैयाँ दियो,” राई दाइले बोलीमा गर्व र खुशी झल्काउँदै भने ।
“मेरो पनि जग्गाको कुनामा पोल गाडेको छ । त्यसले नोक्सान त केही गरेको छैन । मलाई पनि पैसा दिन्छ कि ?” मगर दाइले भने ।
“दिन्छ होला ।”
उनी पनि मुआब्जाको पैसा दिए हुन्थ्यो भन्ने आशामा थिए ।
सोचें— जनतालाई चित्त बुझ्ने र उनीहरूको पनि केही काम बन्ने गरी मुआब्जा दिँदा त काम बन्ने रहेछ नि ! त्यो पनि निर्धारित समयमै । हाम्रो देशका अधिकांश पूर्वाधार निर्माणको क्षेत्रमा मुआब्जाको समस्याले काम बन्न सकेको देखिँदैन । एकपटक दिने हो, सरकारसँग खर्च गर्न नसकेर थुप्रिएको पैसा छ । जनताको भावना एवं सपना, जीविकोपार्जन जोडिएको जग्गा लिनुपर्ने ठाउँमा जनताप्रति नै उत्तरदायी सरकारले किन सानो चित्त देखाउँछ होला ? जनतालाई खुशी पारेर मात्र दिगो किसिमको समृद्धि प्राप्त हुने कुरा त बुझेकै हुनुपर्ने हो राजनीति र कर्मचारीतन्त्रको नेतृत्वमा रहनेहरूले ।
एकछिन सन्नाटा छायो गाडीमा । तर, त्यहीबेला पछिल्लो सिटमा बसेकी महिलाको मोबाइल बज्यो ।
“आउँदै छु । आधा घण्टामा आइपुग्छु । पिलेन आएन विराटनगरबाट । क्यान्सिल भयो रे आज । बेकार भो लिन गा’को,” उनले भनिन् । त्यसपछि उनी चुप लागिन् ।
म उनीहरूलाई नै सुनिरहेको थिएँ तर गाडीमा एक किसिमको गन्ध गहिरोसँग आइरहेको थियो । सिटको कभर धेरै मैलो भएर हो कि, गाडीमा बसेका स्थानीय मानिसहरूको लुगा र शरीरबाट आएको हो— खुट्याउन सकिरहेको थिइनँ । तर, त्यो चर्को गन्धले मलाई वाकवाकी लाग्लाजस्तो भइरहेको थियो । मैले गोजीबाट सुपारी झिकें र मुखमा हालें ।
ती अधवैंशे राई दाइ निकै गफिनुपर्ने मानिस रहेछन् । उनले अब साउदी अरेबियाको कुरा झिके, “यहाँजस्तो हो र ! साउदीमा त केटीलाई हेर्न पनि पाइँदैन । सबै छोपेको हुन्छ । दुइटा आँखामात्र देखिने प्वाल बाँकी राखेर । हेरिहाले पनि केही देखिने भए पो । त्यही दुइटा आँखा । त्यही आँखासँग त हो जोगिनुपर्ने । १२ वर्ष बस्दा पनि हामीले त कसैलाई हेरेनौं । अब अहिलेकाले के गर्छन्, त्योचाहिँ थाहा भएन ।”
त्यहाँ १२ वर्षसम्म हेर्न पनि नपाएकैले पो यहाँ आएर कान्छी ल्याएका हुन् कि ! मनमा अनायस यस्तो तरंग उठ्यो । र, तत्कालै हरायो पनि ।
“अब फेरि नजाने साउदी ?” मगर दाइले सोधे ।
“अब नजाने । जोवनसँगै रहर पनि गयो । धेरै गारो छ साउदीमा । अब यहीँ बस्ने । सकेको गर्ने । अब त छोराहरू पो जान्छ बरु,” उनले भने ।
एकछिन पर्खिए उनले तर कसैले केही जवाफ फर्काएन । त्यसपछि उनी आफैं बोले, “नेपालीहरूले त विचित्र पो गर्छ त साउदीमा । कोही जाँडरक्सी खान्छन् लुकीलुकी । कोही अलिकति पैसा भएपछि तास खेल्न थाल्छन् । खेल्दाखेल्दै कहिले त झगडा गर्छन्, कुटाकुट गर्छन् । अनि पैसा त्यत्तिकै सकिन्छ । कसैकसैले घरमा पनि पठाउँछन् । केही नगरी धेरै वर्ष बसेर काम ग¥यो भने मात्र घर ल्याउन अलिअलि जोगिने हो नत्र त पैसै छैन ।”
उनको कुरा सुनिरहँदा म भने कानलाई त्यतै छोडेर नागबेली बाटोबाट परपरका डाँडाहरूमा वा खोंचहरूमा छरिएर बनेका घरहरूका सेता, नीला टिनका छानाहरू हेरिरहेको थिएँ । नेपाली ग्रामीण क्षेत्रमा रहेका अधिकांश घरका खरका छानाहरू फालेर यसरी टिनको छानो लगाउने चलन खासमा वैदेशिक रोजगारीमा जाने क्रम शुरु भएपछि नै देखिन थालेको हो । त्यसैले पहाडमा होस् वा तराई— गाउँघरतिर जाँदा जब अधिकांश घरका छाना रंगीन जस्तापाताका देखिन थाल्छन्, त्यस गाउँबाट निकै मानिस वैदेशिक रोजगारीमा गएका छन् भनेर बुझे हुन्छ ।
खर्कबारी आइपुग्यो । राई दाइले गाडी रोक्न लगाए । उनलाई बाटो छोडिदिन म भ्यानबाट ओर्लिएँ । उनी ओर्लेपछि भनें, “तपाईंको कुरा सुन्न कति रमाइलो लागिरहेको थियो, ओर्लिहाल्नुभयो ।”
भ्यानमा बसेका अरू मानिससँगै उनी पनि हाँसे गलल्ल, “के गर्नु, घर आइहाल्यो । अब कुरा गर्नैलाई घरलाई अलि माथि लैजाऊँ न त भन्दा पनि मिल्दैन ।”
भाडा दिने बेलामा ड्राइभरले भने, “डेढ सय दिनुस् ।”
“१०० मात्र दिन्छु,” उनले भने ।
“होइन, डेढ सय नै हो । डेढ सय नै दिनुस् ।”
“कहाँ हुनू, सय नै हो । त्यही भनेर त यसमा आ’को,” उनले गोजीबाट सयको नोट निकालेर ड्राइभरलाई दिए र सामान बोकेर फटाफट हिँडिहाले ।
डाइभर भाइले जिल्ल पर्दै गाडी अगाडि बढाए र भने, “अब हेर्छु नि, अर्को पटक मेरो गाडीमा कसरी चढ्दा रहेछौ ।” हामी सबैले उनको कुरा सुन्यौंमात्र ।
यो बाटोमा निश्चित भाडा रहेनछ । बार्गेनिङ गर्न नसक्ने र नयाँ यात्री ठगिने रहेछ । त्यो बाटोको वरिपरि र आँखाले देख्ने परपरसम्म पनि हरिया रूखहरूको बाक्लो जंगल थियो । परपरका डाँडाहरूमा कतै पनि पहिरोले ताछेको देखिँदैनथ्यो । तिनैका बीचबीचमा देखिएका सबै घरहरूमा टिनका छाना थिए । अलैंची, रुद्राक्ष र अरुण थर्डको मुआब्जा यस क्षेत्रमा जीवनलाई सहज बनाउने बलिया सामथ्र्य हुन् भन्ने सुनेको छु । नयाँ ठाउँमा गएको बेला लोकल गाडीको यात्राले त्यस ठाउँको समग्र चित्र सर्सर्ती खिच्न निकै सहयोग पुग्ने रहेछ ।





