विनोदविक्रम केसी समकालीन युवा पुस्ताका सशक्त कवि, अन्तराष्ट्रिय नारी दिवसको अवसरमा लेखिएका उनका तीन कविता :
जन्ड वेश्याको वक्तव्य
तिमी जैरीहरूको जस्तो
शरीर
मेरो अन्तिम सत्य होइन
हरेक दिन खेल–तमासामा सरिक हुन्छु म
तर तिमीहरू जस्तो
होइन म खेलौना कसैको
हतकडी जस्तो आलिंगन
पिँजडा जस्तो प्रेम
झ्यालखाना जस्तो दाम्पत्य
बन्धन, साँघुरोपन र कैद
तिमीहरूका
हावा, अन्न र पानी हुन्
जीवन निर्वाहका लागि, थप–
तिमीहरू पतिदेवका लातहरू खान्छौ
तिमीहरू जस्तो
पिशाचका चरणमा
दासीझैँ घोप्टो परेर सहस्र नर्कमा जाकिने जातकी होइन म
नर्कै भए पनि
म यसकी साम्राज्ञी हुँ
र, उत्रिन्नँ कहिल्यै निःशर्त नग्नतामा म
नियत र स्वार्थका हिसाबले
मेरा ग्राहकहरू
खुद्रा पतिहरू हुन्
तिमीहरूका पतिहरू
थोक ग्राहकहरू हुन्
त्यो जग्गे हो या काँडे तारबार ?
फासीको तख्ता हो या शुभ कार्यको मण्डप ?
पञ्चैबाजा किन निकालिरहेको हुन्छ
एकोहोरो शंखध्वनि ?
घोप्टे जुँगा भएको त्यो मान्छेको ओठमा दौडिरहेको हुन्छ
मैलो न मैलो मुस्कान
त्यो जल्लाद हो या अरू नै कोही ?
त्यो वरमाला हो या फूलहरू पहिरिएको डोरी ?
सिन्दूरको धर्काे कोरेपछि उसका आँखा
किन बलात्कारीका जस्ता घातक देखिन्छन् ?
तिमीहरूलाई स्वास्नी, र
मलाई वेश्या बनाउने
सिस्टम एउटै हो
संसार एउटै हो
शास्त्रहरू उनै हुन्
जैरी हो,
हामी यसभन्दा धेरै लायक थियौँ ।
०००
खादा ओढाएर स्वागत गरिरहेका महिलाहरू
बाँकी देशको उज्यालो लुटेर
बनाइएको छ एउटा भव्य प्रकाशमय मञ्च
हुप्प फुलेर बसेका छन्
हुकुमदेव हुकुमराज
हुकुमविक्रम हुकुमसिंह
हुकुमबहादुर हुकुमप्रसाद
हुकुमकुमार हुकुमलाल
महिला मित्रहरू
ब्याज वितरण गरिरहेका छन्
खादा ओढाएर स्वागत गरिरहेका छन्
हुकुमपुरुषहरू उपस्थित छन्
दुनियाँलाई
आफ्ना बहादुरीका किस्सा सुनाउन
खादा ओढेर सुनाए उनीहरूले–
कसरी लडे युद्ध
कसरी भए माक्र्स र लेनिनका शिष्य
कसरी गरे क्रान्ति
कसरी बजाए राज्यसत्ताका एक–एक इँट
कसरी ल्याए गणतन्त्र
कसरी बनाए इतिहास
कसरी लेखे देश हल्लाउने मोटो किताब
कसरी बने राष्ट्रिय बुद्धिजीवी
कसरी अघि बढाए महिला आन्दोलन
कसरी गरे जिन्दगीमा संघर्ष
साराका सारा सौर्य
साराका सारा सुकाम
साराका सारा सत्प्रयासले
कसरी भए महान् उनीहरू
सुनाए स्रेस्ता सविस्तार
खादा ओढाएर
स्वागत गर्न खटाइएका महिलाहरूको मनमा
चलिरहेको छ एउटा तुफानी सवाल–
यी सारा कुरा भइरहँदा धर्तीमा
हामी पनि थियौँ साथमै
हामी अचानक यसरी कसरी गायब हुन सक्छौँ ?
खादा ओढाएर
स्वागत गर्न खटाइएका महिलाहरूको मन
ठेगानमा छैन अचेल
कुन दिन
तिनका हातमा
खादाको सट्टा
हुनेछ चिर्पट
ती जसका हातमा छन्
सत्ताको साँचो र हैकमको चाबुक
तिनको बाह्र बज्नेवाला छ
ठीक यतिखेर यो देशको जीवनमा
११ बजेर ५९ मिनेट गएको छ।
०००
बलात्कृतको युद्ध गीत
अब म चौकी हान्छु
ब्यारेक हान्छु
अदालत हान्छु
संसद् हान्छु
सिंहदरबार हान्छु
मन्दिर हान्छु
पृथ्वीको शपथ खान्छु
र, भिड्छु सिंगो पृथ्वीस“ग…
वीरहरू हो !
आ–आफ्ना अस्त्रसहित आओ मैदानमा
म (त्यो आहुति भन्ने कविले भनेझै“)
इतिहासको सबैभन्दा लामो दुःखको हतियारले सज्जित
ललकारिरहेकी छु युद्धार्थ…
जसले भन्यो मलाई नर्कको द्वार
त्यसको दैलोमा मिल्काइदिन्छु शास्त्रका बिष्टा
जसले तोक्यो लाज मेरो गहना
त्यसको निर्लज्जताउपर चलाउ“छु
आक्रोशको सिरुपाते खुकुरी
शृंगारका नाममा
आँखाका कोसमा लगाउँछु आगोको लप्का
मलाई चन्द्रमा र फूल देख्ने
तर मान्छे नदेख्ने
क्रुर पारखीका नजरमा बर्साउँछु कोर्रा
मेरा स्तन र पुट्ठामाथि गीत रचेर÷गाएर कहिल्यै नअघाउने
रसिक मण्डलीको अखडामा बोल्छु धावा
भत्काइदिन्छु
मेरो केशराशिको बयानमा फजुल विम्बहरूले
खडा गरेका दासताको स्थापत्य
पाउजुको छमछम र चुराको छनछनमा अलमल्याएर
खोसिए मेरा खुट्टा, हात र मनका ध्वनिहरू
अब बत्तिएर हिँड्छु जुलुसमा, वेगले उठाउ“छु मुठी
र, बोल्छु कडा–कडा नाराहरू
बाइबल, कुरान, चिथ्रा पुराण
जहाँ–जहाँ छु म अपमानित
(कहाँ कहाँ छैन म अपमानित ?)
पाना–पाना, हरफ–हरफ, शब्द–शब्द, अक्षर–अक्षरसँग
जुझ्छु अब
कसैलाई बाँकी राख्दिनँ
बाँकी राख्दिनँ कसैलाई
राख्दिनँ कसैलाई बाँकी
दाइ जन्मेको दिन
ब्रह्माण्डले हर्ष बढाइँ गर्यो
म जन्मेको दिन बाउ उदास भएर बसिरहे
भाइको हातमा थमाइयो धर्तीको लालपुर्जा
मेरो भागमा परेन क्यै,
खोक्रो त्यो पनि आधा आकाशसिबाय
प्रेमीले मलाई हेपेर हिमाल र खोँच भन्यो
र, पतिको अँगालोमा म चकनाचूर भएँ
गल्छेडो, चौर, सडक, चोक, बजार
हिमाल, पहाड, मधेस
नदी, बगर
दिन, रात, साँझ, बिहान
मेरो शरीर हासिल गर्ने लालसाहरू
सतत सलबलाइरहन्छन्
सर्वत्र लहराइरहेको छ पुरुष ध्वजा
अब
मेरो खालको राष्ट्रिय गीत गाउँछु
युद्ध गीत गाउ“छु एउटा
पुराना बाउ, दाइ, प्रेमी, पति र छोराहरू हो!
पहिलो हाँक तिमीहरूलाई दिन्छु म।
०००





