पोखरा, ६ चैत –निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे चैतभित्रै सकिने भएको छ । २०१७ को नोभेम्बर देखि काम सुरु गरेको चिनियाँ कम्पनीको हालसम्मको प्रगती ३० प्रतिशत रहेको छ ।
विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीका अनुसार यही महिनाभित्रै रनवे सकिनेछ भने २०२० डिसेम्बरसम्ममा विमानस्थल निर्माण पुरा हुनेछ । डिसेम्बर भित्रै सम्पन्न भए तोकिएको समयभन्दा करिब ६ महिनाअघि नै विमानस्थल निर्माण हुनेछ ।
अहिले विमानस्थलमा रनवे सहित १४ वटा भवनहरुको निर्माणकार्य एकैसाथ थालनी गरिएको छ । रनवे सँगै ट्याक्सीको २ वटा लेयरको काम सकिएको छ । अब ३४ सेन्टीमिटिरको एक लेयरको ढलानबाँकी छ । विमानस्थलको धावन मार्ग २५०० मिटर लामो छ ।
‘२५ दिनभित्र रनवे तयार हुन्छ, ८ वटा कलभर्ट पनि बनिसके’ मुनाकर्मीले भने, ‘१४ वटा नयाँ भवनको पनि एकैसाथ निर्माणकार्य थालिएको छ, टर्मिनल भवनको फाउण्डेसन तयार भैसक्यो ।’
विमानस्थलमा निर्माण भइरहेको टर्मिनल भवन १४ हजार बर्ग मिटरको बन्नेछ । आठ हजार स्क्वायर मिटर अन्तराष्ट्रिय र छ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि प्रयोग हुने बताइएको छ ।
उनका अनुसार वर्षा लागेपछि भदौ सम्मको प्रगति अलि कम हुन्छ । त्यसकारण असार अगावै प्रगति विवरण ४० प्रतिशत सम्म पु¥याउने लक्ष्य राखिएको उनले सुनाए ।
‘हाम्रो माईलस्टोन ३५ प्रतिशत हो, तर ४० प्रतिशत सम्म हामीले गर्न सक्छौँ होला,’ उनले थपे, ‘२०१९ सम्ममा ६० प्रतिशत र २०२० को अन्त्यसम्ममा बाँकी ४० प्रतिशत काम सक्ने हाम्रो लक्ष्य छ । लक्ष्य अनुसार काम भए २०७७ पौषसम्ममा त विमानस्थल नै बन्नेछ ।’ सम्झौता भने २०२१ को जुलाइ १० सम्म छ ।
२०२१ को जुलाइबाट अन्तराष्ट्रिय उडान पोखरा बिमानस्थलबाट पनि गर्ने योजनामा नागरिक उड्ययन प्राधिकरण रहेको छ । २२ अर्ब रुपैयाँको लागतमा बन्ने विमानस्थल अन्तर्राष्ट्रिय उड्ययन संस्था आइकाओको मापदण्ड अनुरुपको हुनेछ । नेपाल सरकारले चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋणमा लिएर बनाउन सुरु गरेको हो ।
यो विमानस्थल निर्माण भएपछि पोखराबाट बोइङ ७५७ र एयरबस ३२० जहाज अवतरण र उडान गर्न सक्नेछन् ।
धावनमार्ग २५ सय मिटर लामो र ४५ मिटर चौडा, दश हजार वर्ग्मिटरको अन्तर्राष्ट्रिय टर्मिनल भवन, बाह्र सय मिटरको प्यारेलल ट्याक्सी वे निर्माण हुनेछ । पाँच हजार वर्गमिटरको आन्तरिक टर्मिनल भवनहरु निर्माण हुनेछन् । विमानस्थल पूर्व रुपमा तयार हुदा ४ वटा बोर्डिङ कक्ष, आदा दर्जनभन्दा बढी विमान राख्न सकिने गरी पार्किङ बे तयार हुनेछन् । त्यस्तैगरी ट्याक्सी वे लगायतका पूर्वाधार निर्माण गरिनेछन्।
१८० सिट क्षमताको जहाज पोखरामा अहिले विश्वका धेरै देशहरूमा उडान भरिरहेका मझौला खालका विमानले पोखराबाट उडान भर्नेछन ।
त्यस्तै, मुनाकर्मीले विमानस्थल निर्माणमा ७० प्रतिशत सिभिलको काम हुने र बाँकी ३० प्रतिशत इक्यूपमेन्टको हुने भन्दै भने, ‘अहिले सम्म सिभिलको ३० प्रतिशत काम सकिएको छ । बाँकी ४० प्रतिशत पनि हामी दु्रत गतिमा गरिरहेका छौँ । यो सकिएको छ महिनामै बाँकी ३० प्रतिशत काम सम्पन्न हुन्छ ।’ त्यस्तै अहिले सिभिलको कामको प्रगति मासिक ३ प्रतिशतको दरले बृद्धि भएको भन्दै असार मसान्तसम्म जम्मा ३० प्रतिशतको प्रगतीलाई बढाएर ४० पु¥याउने लक्ष्य रहेको उनको भनाई छ ।
निर्माणाधीन विमानस्थलमा अहिले ४ सय ५० जना कामदार सहित ७० वटा सामान ढ्ुवानी गर्ने उपकरण (सवारी) हरुले काम गरिरहेका छन् ।





