दैनिक जीवनमा प्रयोग हुने खानेकुराहरुमध्ये अति आवस्यक बस्तुहरूमध्ये एक हो तरकारी । तरकारी खाँदा कुन तरकारीमा कुन चिज पाइन्छ भन्ने कुरा थाहा हुन जरुरी छ । फरक–फरक तरकारीमा फरक–फरक स्वाद पाइन्छ र साथसाथै मानव स्वास्थ्यलाई आवस्यक पर्ने बिभिन्न प्रकारका भिटामिनहरू पाइन्छ र त्यसले हाम्रो स्वास्थ्यलाई चाहिने आवस्यक तत्वहरु उपलब्ध गराउँछ । च्याउ, तीतेकरेला, आलु, लौका, फर्सी, चना, केराउ, राज्मा, प्याज, सिमी, गोलभेडा, सिस्नो, लसुन, अदुवा आदि जस्ता तरकारीहरु दैनिक प्रयोगमा हुन्छ । यी तरकारीहरु खेतबारीबाट बजारमा ल्याउँछन् र बजारबाट हाम्रो भान्सासम्म आइपुग्छन् । तरकारी मसलादारभन्दा सामान्य खाँदा नै स्वस्थ्यकर हुन्छ । कुन तरकारीमा के–कस्ता भिटामिनहरू पाइन्छ भन्ने कुरा धेरैलाई थाह नहुन पनि सक्छ । हामीले दैनिक उपभोग गर्ने तरकारीहरुमा पाइने यी कुराहरु जसले हामीलाई धेरै फाइदा पुर्याउँछन् । हरेक प्रकारका तरकारीहरुमा बिभिन्न किसिमका औषधिय गुण पाइन्छन् । मौसमअनुसार तरकारीलाई सन्तुलित मात्रामा खान सके रोगी हुने सम्भावना निकै कम हुन्छ । गाढा पहेलो र हरिया तरकारीमा प्रशस्त मात्रामा क्यारोटिन पाइन्छ । क्यारोटि भिटामिन ‘ए’ को प्रारम्भिक स्वरुप हो । क्यारोटिन शरीरभित्र गएर भिटामिन ‘ए’ मा परिणत हुन्छ । साधारणतया तरकारीमा कार्बोहाइड्रेटमध्ये माड र सेलुलोज, खनिज पदार्थमा आइरन र क्याल्सियम अनि भिटामिन ए, बी र सी प्रशस्त मात्रामा पाइन्छ । तरकारीमा कोलेरेस्टोल भने हुँदैन । तरकारीमा फाइबरको अधिक हुन्छ । दैनिक प्रयोग हुने हजारौं तरकारीहरूमध्ये केही तरकारीहरूको बारेमा प्रकाश पार्ने कोशिस गरेको छु ।
लौकाः
लौकाको जुस ज्वरो, खोकी, मुटुको विकार, गर्भाशयसम्बन्धि सबै रोगको लागि लाभदायक मानिन्छ । लौकाको जुसले रगत शुद्ध गर्ने काम गर्छ । लौकाको तरकारी र जुस मुटु रोगीका लागि निकै फाइदाजनक मानिन्छ । शरीरको कुनै भागमा रगत बगिरहेको अवस्थामा लौकाको बोक्राको लेप लगाउदा रगत बग्न बन्द हुन्छ । गर्भाशय सम्बन्धि समस्यामा लौकाको रस निकै लाभदायक मानिन्छ । पटक–पटक गर्भपतन हुने महिलाहरुले लौकाको रस तथा तरकारी खाँदा गर्भपात हुने समस्याबाट छुटकारा मिल्न सक्छ । लौका शक्तिबर्धक र वीर्यबर्धक मानिन्छ । मानसिक तनाव, उच्च रक्तचाप, पिसाबसम्बन्धी समस्या, जन्डिस, पाइल्स र यौनजन्य समस्यामा लौका अचुक औषधि मानिन्छ ।
भिन्डीः
भिन्डीले ठुलो आन्द्राको क्यान्सरको सम्भावना कम हुने बिभिन्न अध्ययनहरुले देखाएको छ । भिन्डीमा कम क्यालोरी हुने र फाइबर बढी हुने भएकाले तौल घटाउन मद्धत गर्छ । भिन्डीले मुटुरोग लाग्नबाट जोगाउँछ । यसमा पाइने तत्वले खराब कोलेस्टेरोल घटाउँछ । मधुमेह हुने सम्भावना कम गर्छ । पाचनशक्ति मजबुत बनाउँछ । कब्जियतबाट बचाउँछ । रोग प्रतिरोध क्षमता बढाउँछ । रक्तअल्पता हुनबाट जोगाउँछ । आँखाको दृष्टि बढाउँछ । गर्भावस्थामा भ्रुणको विकाशमा सहयोग गर्छ ।
फर्सीः
फर्सीमा फाइबर, भिटामिन, खनिज तथा कैयौं स्वास्थ्यबर्धक एन्टिअक्सिडेन्ट पाइन्छ । यसको यिनै गुणका कारण नियमित सेवनले छालालाई सधैं ताजा बनाईराख्छ । ५० ग्राम फर्सीमा ४९ क्यालोरी पाइन्छ । फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरीरमा नराम्रो कोलस्टेरोलको मात्रा पनि कम गर्छ । यसको बियाँमा प्रोटिन, भिटामिन, फ्याटी एसिडहरू पाइन्छ । फर्सीले स्मरण क्षमताको विकास गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । पँहेलो फर्सीमा पाइने क्यारोटिन, एन्टिअक्सिडेन्टले शरीरमा क्यान्सरको सम्भावनालाई समेत कम गर्छ । यसले मुटु रोगीलाई पनि निकै फाइदा गर्छ ।
गोलभेंडाः
नेपाली भान्छामा अचारका रूपमा प्रयोग गरिने, तरकारीमा प्रयोग गरिने र सलादका रूपमा खाइने खाद्यपदार्थ हो, गोलभेंडा । पाकेको गोलभेंडा हेर्नमा जति आकर्षक देखिन्छ, उति नै लाभकारी पनि मानिन्छ । गोलभेंडा गुलियो, अमिलो, पाचक, शक्तिबर्धक र पचनगुन हुनुका साथै यसले अतिसार, पेट र मोटोपना रोक्ने औषधिको पनि काम गर्छ । यसमा खनिज तत्वको मात्र दूधभन्दा दुई गुणा र अंगुर, मौसम, तरबुजा तथा खरबुजाको तुलनामा बढी पाइन्छ । गोलभेंडामा क्याल्सियम, चुना, गन्धक, साइट्रिक एसिडलगायतका तत्व पाइन्छ । गोलभेंडा भिटामिनको भण्डार हुन्छ । गोलभेंडा सेवन गर्दा कब्जियतको समस्या समाधान हुन्छ । दिनहुँ गोलभेंडा खाने मानिसमा मधुमेह, रुघा, दाँतको समस्या, रक्तस्राव जस्ता रोग लाग्दैन । साथै आँखा रोगको समस्या पनि सताउँदैन ।
बन्दाः
बन्दा तरकारीका अलवा सलादका रुपमा पनि प्रयोग गरिन्छ । यसमा कैयौं औषधिय गुण हुन्छन् । जसले उपभोक्तालाई निरोगी बनाउँछ । बन्दामा रहेका केही सुक्ष्म तत्वले शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर निकाल्छ र शरीरको पाचन प्रक्रिया, मेटाबोलिजमलाई नियमित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । ताजा बन्दामा नुन, मरिच तथा कागतीको रस मिसाएर दैनिक बिहान खाली पेटमा खानाले २, ४ हप्तामै कब्जियतको समस्या समाधान हुन्छ । ताजा बन्दाको रसमा भिटामिन ‘यु’ नामक यस्तो दुर्लभ भिटामिन पाइन्छ, जसमा अल्सरसमेत निको पार्न सक्ने क्षमता राख्दछ । बन्दाको रस पिउनाले पेप्टिक अल्सर अर्थात् पेटको घाउ ठीक हुन्छ । बन्दामा खनिज लवण प्रचुर रुपमा पाइन्छ, जो मूत्र प्रणालीमाथि नियन्त्रण राख्न सहायक सिद्ध हुन्छ । रोकिएर पिसाब आउने समस्यामा बन्दाको आधा कप दिनहुँ पिउनाले आराम मिल्छ ।
गाँजरः
गाँजरमा उच्च मात्रामा बेटा क्यारोटिन पाइन्छ । यसका साथै भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यो आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी हुन्छ । यसमा अत्यन्त न्युन मात्रामा क्यालोरी पाइन्छ भने चिल्लो पदार्थ शुन्य हुन्छ । गाँजर खानु आँखाको स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ‘ए’ मा परिवर्तन हुन्छ । यसले राती आँखा देख्न सक्ने क्षमतामा वृद्धि गर्नुका साथै ग्लुकोमा, म्याकुलर डिजेनेरेशन र सेनाइल क्याटार्याक्ट जस्ता आँखाको समस्याविरुद्ध लड्न मद्दत पुर्याउँछ । यसले रतन्धो हुनबाट समेत बचाउँछ । एक अनुसन्धानले बेटा क्यारोटिनको उपभोगले म्याकुलर डिजेनेरेशन हुनबाट ४० प्रतिशतले बचाउँछ ।
गाँजरमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट र पोलासिटाइलनेस भन्ने तत्व पाइन्छन्, जसले मुटुको कवचको काम गर्छ । बिभिन्न अध्ययनहरूबाट गाँजरमा भएका यस्ता तत्व खानाले मुटु रोग लाग्ने खतरा कम हुने देखाएका छन् । उच्च मात्रामा बेटा क्यारोटिनका अतिरिक्त गाँजरमा अल्फाक्यारोटिन र ल्युटन पाइन्छन् । यसले खराब कोलस्टेरोललाई पनि हटाउँछ । यहीँ कारण हृदयाघात हुने सम्भावना पनि रहँदैंन । गाँजर खानाले फोक्सो, स्तन तथा कोलोन क्यान्सर लाग्नबाट बचाउँछ । गाँजरमा भएको पोलि–अक्टिलाइन एन्टिअक्सिडेन्ट र फाल्कारिनोल भन्ने तत्वका कारण यस्तो भएको हो । यी तत्वले क्यान्सर लगाउने कोषलाई नष्ट पार्छ । गाँजरमा भएका विभिन्न खालका पोषक तत्व र भिटामिन ‘सी’ सहितको एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । गाँजरको नियमित सेवनले शरीरमा कवचको जस्तै काम गर्छ । गाँजरमा पाइने भिटामिन ‘ए’ले कलेजोलाई शरीरबाट विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ । यसले कलेजोमा भएको चिल्लो पदार्थ र पित्तलाई घटाउनुका साथै शरीरलाई नचाहिने तत्व हटाई शुद्व राख्न सहयोग गर्छ । गाँजरमा हुने क्याल्सियमले महिला तथा केटाकेटीको हड्डीको विकासमा सहयोग गर्छ ।
आलुः
लुमा क्याल्सियम, फसफोरस, भिटामिन बी, फलाम हुन्छ । आलु सेवनले रक्तबाहिनीहरू लामो उमेरसम्म लचिला बनिरहन्छन् । आलुलाई पुरक आहारको रुपमा र रोग प्रतिरोधात्मक क्षमता भएको खाद्यन्न मानिन्छ । शरीर कमजोर भएका र जँड्याहाको लागि यो अत्यन्तै पोषणयुक्त मानिन्छ । विज्ञकाअनुसार आलुको बोक्रा हटाउँदा धेरै पोषतत्व नष्ट हुन्छ । यो बोक्रा नतासी पकाउँदा फाईदाजनक हुन्छ । चोट लागेर रगत जमेर निलो भएको ठाउँमा काँचो आलु पिधेंर लगाउँदा राम्रो हुन्छ । घामले डढेको, कालो पोतो, चाउरी परेको छालामा काँचो आलुको रसले राम्रो फाइदा हुन्छ । अपच र एसिडिटि भएमा आलुको जुसले ठिक गर्छ । आलुमा अल्केलाइडस नामक औषधिय तत्व पनि हुन्छ ।
करेलाः
स्वादमा तितो भएपनि यो बहुगुणकारी तरकारीको रुपमा परिचित छ । यो एन्टिअक्सिडेन्ट र भिटामिनले भरिपूर्ण हुन्छ । करेलामा भिटामिन ए, भिटामिन बि १, भिटामिन बी २, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस हुन्छ । ताजा करेला दम, रुघाखोकी जस्ता श्वासप्रश्वासको समस्यामा लाभदायी मानिन्छ । दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । करेलाको सेवनले डण्डीफोर, दाग लगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउँछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउँछ । करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन्, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छ । यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको समस्या पनि हट्छ । यसले कलेजो र मुत्रथैलीलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ । यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीको मात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ । करेलाको सेवनले क्यान्सरका कोष वृद्धि हुनबाट जोगाउँछ । करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउँछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउँछ । करेलाको जुसले कपाल झर्ने समस्या पनि हटाउँछ । करेलाको जुसमा चिनी मिसाएर लगाउनाले कपाल झर्ने समस्या समाधान हुन्छ ।
काउलीः
काउली क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो । काउली खानाले क्यान्सरका कोषहरू बनेका छन्भने पनि त्यसलाई बृद्धि हुन नदिई त्यहीँ निष्कृय पार्छ । यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन् । यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ । काउलीले फोक्सो, स्तन, आन्द्रा, डिम्वाशय र मुत्रथैलीको क्यान्सरबाट बचाउन पनि मद्दत गर्दछ । एक रिर्सच सेन्टरमा भएको अध्ययनले काउलीजस्ता हरियो सागपातको दैनिक प्रयोगले प्रोस्टेट क्यान्सर हुने सम्भावना लगभग आधा घटाउँछ भन्ने तथ्य पता लगाएको छ । अध्ययन अनुसार काउलीमा ‘इन्डोल–३–कार्विनोल’ र योभन्दा सशक्त ‘डाइ–इन्डोमिथेन’ नामक रसायनहरू हुन्छन् जसले क्यान्सरसँग लड्न र क्यान्सरका कोषको वृद्धि हुन रोक लगाउँछ । जति धेरै काउली आफ्नो खानामा भयो उति नै राम्रो । काउलीलाई धेरै पकाएमा यसमा पाइने क्यान्सरविरुद्ध लड्ने तत्वहरू नाश हुने सम्भावना रहन्छ । त्यसैलै यसलाई काँचै खान उपयुक्त हुन्छ । काउलीलाई एउटा नुनपानी भएको भाँडामा करिब चार घन्टा जति डुबाउने र चिसो पानीले मज्जाले पखालेर खाने । काउलीले हड्डी दह्रो बनाउन पनि मद्दत गर्छ । एलर्जी हुने सम्भावना कम गर्छ र पाचन प्रणालीलाई राम्रो बनाउँछ । यसले मुटुमा लाग्ने रोगहरूबाट बच्न पनि त्यत्ति नै मद्दत गर्दछ । काउली भिटामिन ‘के’ र ‘सी’को मुख्य स्रोत हो । मात्र एक कचौरा काउली खपत गर्दा शरीरलाई चाहिने ९१ प्रतिशत भिटामिन ‘के’ र ५० प्रतिशत भिटामिन ‘सी’ उपलब्ध हुन्छ । साथै, काउलीबाट अत्यधिक मात्रामा रेसा र शरीरलाई चहिने अन्य महत्वपूर्ण तत्वहरू पनि पाइन्छ । राज्माः राजमामा दालको रुपमा खान्छौँ । यसमा भिटामिन बि १, कप्पर, फस्फोरस र पोटासियम जस्ता पोषक तत्व प्रसस्त पाइन्छ । जसले हड्डी बलियो बनाउँछ र मष्तिस्कको विकास र कार्य गर्न सहयोग गर्छ ।





