
पोखरा, १७ चैत – नेपाल पर्यटन बोर्डको आयोजना र जिल्ला क्रिकेट संघ कास्कीको संयोजनमा पोखरामा शनिबार भएको पर्यटन बोर्ड–११ र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल पर्यटन बोर्ड ११ रनले विजयी भएको छ । खेलमार्फत पर्यटन, आन्तरिक पर्यटन वर्ष–२०१९ सफल पारौं भन्ने मूलनाराका साथ आयोजित प्रतियोगितामा पहिलो व्याटिङ गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले निर्धारित १५ ओभरमा ९ विकेटको क्षतिमा १०५ रन बनाएको थियो । १०५ रनको लक्ष्य पछ्याउन मैदान छिरेको मञ्चले १५ ओभर खेल्दै ९४ रनमात्रै बनाउन सक्यो । टि–२० भनिए पनि खराब मौसमका कारण खेल १५ ओभरमा झारिएको थियो ।
ओपनर ब्याट्सम्यान गण्डकी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले ११ बलको सामना गर्दै २ रन बनाए । मन्त्री गुरुङ मन क्षेत्रीको बलमा विकेट किपर विनोद लामिछानेबाट क्याचआउट हुन पुगे । मन्त्री गुरुङसँगै मैदान प्रवेश गरेका नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रबन्धक सूर्य थपलियाले २ छक्का र १ चौकाको मद्दतमा व्यक्तिगत १६ रनको योगदान दिए । क्रिकेट बोर्ड सम्मिलित टिमको तर्फबाट प्रदीप राउतले नटआउट रहँदै सर्वाधिक ३२ रन जोडे ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला खेलकुद विकास समिति कास्कीका कोषाध्यक्ष दीपक गोदार, क्रिकेट संघका निकेश श्रेष्ठले कुनै रन जोड्न सकेनन् । उनीहरु सबै शून्य रनमा पेभिलियन फर्के । रिजन प्रजुले २१, सन्तोष सुवेदीले १०, गोपाल भण्डारीले ३ र सञ्जयकान्त सिग्देलले १ रनमात्रै बनाए । यता मञ्चतर्फबाट मन क्षेत्री, विनोद लामिछाने र सुजन पौडेलले २–२ विकेट लिए । लोकेन्द्र ढकाल, सुशान्त गाहामगर र केशव पाठकले समान १–१ विकेट लिए ।
जवाफी व्याटिङका लागि उत्रिएको मञ्चका ओपनिङ व्याट्सम्यान केशव पाठक र एकराज गिरीले भने खाता खोल्न सकेनन् । पाठकलाई जिम्मी गुरुङ र गिरीलाई सञ्जयकान्त सिग्देलले पेभिलिएनको बाटो देखाए । मञ्चतर्फबाट विनोद लामिछानेले २ छक्का र ५ चौकाको मद्दतमा ३५ रन जोडे पनि टिमलाई जितसम्म पु¥याउन सकेनन् । उनलाई क्रिजमा लामो साथ दिएका सुशान्त गाहामगरले ३ छक्का र २ चौका प्रहार गर्दै २९ रन जोडे । मञ्चतर्फबाट अन्य ब्याट्स्म्यानहरु सुजन पौडेलले १६, उमेश पुनले २, लोकेन्द्र ढकालले १, रनबाहेक अन्यले रन जोड्न सकेनन् । भरपर्दा खेलाडी मन क्षेत्री हिट स्टम्प हुँदै शुन्यमा आउट भए भने विजय नेपाली र सागरराज तिमिल्सिना शून्य रनमा नटआउट रहे ।
पर्यटन बोर्डको बलिङतर्फ रिजन प्रजुले ३, सञ्जयकान्त सिग्देलले २ विकेट हात पारे भने जिम्मी गुरुङ र विनयले समान १–१ विकेट लिए । यसअघि प्रतियोगिता शुभारम्भ गर्दै मन्त्री किरण गुरुङले प्रदेश सरकारले क्रिकेट खेल विकासका लागि आफ्नो योजनाका साथ अघि बढेको बताए । उनले प्रदेशलाई खेलकुद माध्यमबाट पर्यटनको विकासका लागि प्रतिबद्ध रहेको समेत बताए । सो अवसरमा जिल्ला क्रिकेट संघ कास्कीले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको नवनिर्वाचित कार्यसमितिलाई स्वागत सम्मान गरेको थियो ।





