सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

मुलुक नयाँ आत्मश्विास र उत्साह बोकेर समृद्धिको यात्रामा अघि बढेको छ: प्रधानमन्त्री ओली

मुलुक नयाँ आत्मश्विास र उत्साह बोकेर समृद्धिको यात्रामा अघि बढेको छ: प्रधानमन्त्री ओली

म अपराधी भए कांग्रेस पनि अपराधी नै होला नि: अध्यक्ष प्रचण्ड


  • Dhorpatan News
  • चैत्र १७ २०७५, आइतबार

काठमाडौं, १७ चैत – प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताको अन्त्य भएसँगै मुलुक विकास र समृद्धिको यात्रामा नयाँ आत्मविश्वास र उत्साह लिएर अघि बढेको स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आइतबार आयोजित  समारोहमा  सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले भने,‘आज नेपाल नयाँ आत्मविश्वास र उत्साहका साथ अघि बढिरहेको छ । अब पहिलेकोजस्तो अवस्था छैन् । हामी आज हिजोकोभन्दा फरक अभियान र यात्रामा होमिएका छौं । हिजो हामी राजनीतिक लडाई लड्यौं । अधिकार प्राप्तिको लागि संघर्ष ग¥यौं । हामीले प्राप्त गरेका परिवर्तनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढेका छौं ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित विशेष समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले आफूहरुले द्वन्द्व व्यवस्थापन गरेको पनि स्पष्ट पारे । उनले भने,‘हामीले मुलुकका समस्या कुशलतापूर्वक समाधान गर्दै आएका छौं । निरंकुशतालाई समाप्त पारेका छौं । अहिले हाम्रो काँधमा समृद्ध नेपाल र सुखी नेपाली बनाउने जिम्मेवारी आएको छ । सबै मिलेर अभिभारा पूरा गर्नुपर्छ ।’
उनले नेपाल एक्लैले पनि बनाउन सक्ने बताए । यद्धपी नेपाल एक्लैले बनाउँदा केही विलम्ब हुने तर्क गरे । ओलीले भने,‘त्यसैले समृद्धिको लागि हामी सहकार्य गर्छौं । हाम्रो कोहीसँगपनि दुश्मनी छैन् । असमझदारी छैन् । छिमेकहरुसँगपनि असमझदारी छैन् । हामी हाम्रो सार्वभौमिकता र समानताको आधारमा सम्बन्ध अघि बढाउन चाहन्छौं ।’
नेपालभित्र जातको नाममा, भूगोलको नाममा अनेक नाउमा फाटो ल्याउन खोज्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरुलाई पनि आफूहरुले पराजित गरेको प्रधानमन्त्रीको दाबी छ । उनले आफूहरुले पृथकतालाई अन्त्य गरेको स्पष्ट पारे । उनले भने,‘देश टु्क्रयाउँछु भनेर माग राख्ने पृथकवादलाई अन्त्य गरेका छौं ।’
मुलुकको विकास र समृद्धिको लागि सबैले एकजुट भएर प्रयत्न गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उनले थपे,‘हिजोमात्रै काठमाडौंमा सम्पन्न भएको लगानी सम्मेलन उत्साहपूर्वक र उपलब्धिमूलक रह्यो ।’
प्रधानमन्त्री ओलीले मुलुकमा केन्द्रीय, प्रदेश र स्थानीय सरकार गठन भएर संविधान कार्यान्वयनतर्फ अघि बढिरहेको पनि सुनाए । उनले भने,‘संविधानका प्रावधानअनुसार हामी अघि बढिरहेका छौं । अधिकार, स्रोत तथा विभिन्न स्रोत बाँडफाँड र कर्मचारी समायोजना गरेर अघि बढेका छौं ।’ सरकारको पहिलो वर्ष कानुन निर्माण गर्नेदेखि लिएर विकासको लागि जग हाल्ने आधार वर्षको रुपमा काम भएको उनको दाबी छ ।
नेपालको लोकतान्त्रिक आन्दोलन र परिवर्तनमा नेपाली सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको भन्दै ओलीले प्रशंसा गरे । उनले भने,‘लोकतन्त्रको रक्षा र लोकतन्त्रलाई सुदृढ गर्न मिडियाको सहयोग रहँदै आएको छ ।’ सामाजिक न्यायसहितको सुरक्षामा पनि नेपाल धेरै माथि रहेको उनको भनाई छ । उनले भने,‘मिडिया सकारात्मक हुनुपर्छ । मुलुकको विकास र समृद्धिको लागि मिडियाको भूमिका धेरै महत्वपूर्ण छ ।’ यद्धपी उनले सञ्चार जगतले सत्यलाई सत्य र असत्यलाई असत्य भन्नुपर्ने स्पष्ट पारे । उनले भने,‘प्रतिष्पर्धापनि स्वस्थ हुनुपर्छ । सही ढंगले आफ्नो अभिभारा पूरा गर्नुपर्छ ।’
आफूहरु विश्वकै सभ्य पूर्खाहरुको सन्तती रहेको उल्लेख गर्दै उनले भने,‘हामी सभ्य पूर्खाका सन्तती हौं । बाँकी दुनियाँ अन्धकारमा हुँदा हामी ज्ञान र विज्ञानमा धनी थियौं । त्यसैले हामीले आफ्नो परम्पार र सस्कृतिलाई भुल्नुहुँदैन् । पूर्खाको गौरवलाई हामीले भुलेर गल्ती गर्नुहुँदैन् ।’
कुनै प्रकारको नकरात्मक कुरा गर्न नहुने उनको धारणा छ । उनले भने,‘अनुचित काम र भ्रम सिर्जना गर्ने काम गर्नुहुँदैन् ।’
क्लब र यसका सभापति ऋषि धमलाको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने,‘क्लब २० औं वर्ष पूरा गरि २१ औं वर्षमा प्रवेश गरेको छ । यो यात्रा उतारचढावहरुको यात्रा रहेको थियो । यस बिचमा क्लबले अप्ठ्यारो परिस्थिति देख्यो । झेल्यो ।’
देशले अहिले अनुकुल परिस्थिति पाएको र क्लबपनि अप्ठ्यारोबाट मुक्त भएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे । उनले भने,‘रिपोर्टर्स क्लब अहिले परिपक्व भएको छ । यसको जन्म, विकास सबै कुरा पत्रकार धमलाको वरिपरि घुमेको छ ।’
प्रधानमन्त्री ओलीले पत्रकार धमलाको भूमिकाको खुलेर प्रशंसा गरे ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक शक्तिहरुलाई नयाँ संकल्पका लागि एकजुट हुन आग्रह गरेका छन् । दाहालले अझै पनि राष्ट्रका प्रमुख समस्याहरु समाधानका लागि एकता आवश्यक रहेको बताएका हुन् ।
अप्ठ्यारो परिस्थितीमा पनि निर्वाचन सकेर संविधान कार्यान्वयन प्रक्रियामा देशलाई लैजानुमा सबै राजनीतिक शक्तिहरुबीच सहकार्य भएको दाहालले बताए । कोही एक दल वा व्यक्तिको पहलमा अहिलेको अवस्था नआएको उनले स्पष्ट पारे ।
“सत्तापक्ष र प्रतिपक्ष छ । आलोचना र विवाद हुनुपर्छ । तर राष्ट्रहितमा सबैबीच समझदारी आवश्यक छ ।” उनले भने ।
संविधान संशोधनको मागप्रति लक्षित गर्दै दाहालले सबै असन्तुष्टीलाई सम्बोधन गरेर संविधानलाई गतिशिल दस्ताबेजको रुपमा स्थापित गर्नुपर्ने दाहालले बताए । उनले समझदारीका आधारमा संविधान संशोधन गर्न सकिने संकेत पनि गरे ।
देशका लागि अहिलेको आवश्यकता विकास भएको भन्दै उनले २१ शताब्दीको परिस्थितीमा राष्ट्रिय अन्तराष्ट्रिय सहयोग लिएर विकास गर्नुपर्ने बताए । नेपाललाई गरिब देशको रुपमा नभै विकसित देशको रुपमा स्थापित गर्नका लागि सबै राजनीतिक शक्तिहरुबीच एकताको संकल्प गर्नुपर्ने बेला आएको दाहालले बताए ।
हिजो सकिएको लगानी सम्मेलनले विकास र समृद्धिमा धेरै महत्वपूर्ण भूमिका खेल्ने दाहालले बताए । पछिल्लो समय नेपालको ऐतिहासिक उपलब्धिमाथि आक्रमण र षडयन्त्र भइहेको भन्दै दाहालले चिन्ता व्यक्त गरेका छन् ।
“कतिपय मानिसहरुले मिडियामा ऐतिहासिक उपलब्धिलाई बडो तितो र नमिठोसँग आक्रमण गरेको देख्छु । त्यतिबेला चिन्ता लाग्छ । किन यसो गरिदैछ ? शान्ति सम्झौता प्रचण्ड एक्लैले गरेको त होइन । गिरिजाप्रसाद कोइरालासहित ७ राजनीतिक दलले पनि गरेका हुन् ।” दाहालले भने ।
आफू अमेरिका गएका बेला अपराधीको रुपमा चित्रित गरेर उजुरी गरेकोप्रति दाहालले असन्तुष्टी पाखे । “एउटा नेपालीले नै मलाई हत्यारको रुपमा दुनियाको अगाडि, नेपालभित्रै बसेर अलिअलि गर्न मिल्छ । नेपाली–नेपालीबीच आलोचना हुन सक्छ । तर विदेशमा बसेर नेपालको शान्ति सम्झौतालाई अपराधिक सम्झौताको रुपमा, हस्ताक्षरकर्तालाई अपराधीको रुपमा प्रस्तुत गरेर अन्तराष्ट्रिय जगतले पक्राउ गरेर जेल हाल्नुपर्यो भन्नु कति तर्क संगत छ ?” दाहालले भने ।
अमेरिका जाँदाको तितो अनुभव भन्दै दाहालले त्यसो भनेका हुन् । आफू वासिङ्टन डिसीमा बस्दा नेपाली कांग्रेस आवद्ध एउटा कमिटिले निर्णय गरेर प्रचण्डलाई अपराधीको रुपमा प्रस्तुत गरिएको भन्दै दाहालले मञ्चमा रहेका कांग्रेस नेता डा. रामशरण महतको ध्यानाकर्षणसमेत गराए ।
आफू डराएर यो अनुभव सुनाएको नभै श्रीमतीको उपचारमा जाँदा समेत त्यस्तो गरिएकोमा दुःख लागेका बताए ।
“मलाई अपराधी भन्ने हो भने नेपाली कांग्रेस पनि अपराधी नै होला । शान्ति सम्झौतामा त कांग्रेसले पनि हस्ताक्षर गरेको हो ।”–दाहालले भने ।
प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएको बेला एफबीआईमा उजुरी परेको थियो । तिलक श्रेष्ठ नाम गरेका व्यक्तिले प्रचण्ड आतंककारी भएको भन्दै अमेरिका आएको बेलामा पक्राउ गर्न माग गरिएको थियो ।
फरक प्रसंगमा दाहालले राजतन्त्रको अन्त्यपछि पनि यो प्रक्रियालाई उल्ट्याउने कुरा निरङ्कुशतावादी शक्तिको दिमागमा रहिरहनु सामान्य भएको बताए । तर इतिहासको एउटा मञ्चमा मिल्काइएको कुनै पनि शक्तिलाई अब कसैले पनि आत्मसात नगर्ने दाहालले बताए ।
“संघीय लोकतात्रिक गणतन्त्र उल्ट्याएर फेरी पुरानै निरङ्कुशतन्त्र अब नेपालमा असम्भव छ । तर यो परिवर्तनलाई कमजोर पार्न चाँही खोजिरहेका छन् ।” दाहालले भने । बालीमा लाग्ने झारपातलाई बेलाबेलामा उखेलेर फाल्नुपर्ने उनको तर्क थियो । त्यस्ता झारपात उखेल्न पत्रकारिता क्षेत्रले पनि भूमिका खेल्नुपर्ने दाहालले बताए ।

समारोहमा  परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली ,सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटा, अन्तरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी ,नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महत,राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो,नेपालका लागि भारतीय राजदुत मञ्जिभसिंह पुरी,
गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष एवम् प्रमुख संरक्षक डा. उपेन्द्र महतो लगाएतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->