बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कथा : नालायक

कथा : नालायक


  • पोस्तक श्रेष्ठ
  • फाल्गुन १८ २०७५, शनिबार

नेपालको एउटा गाउँ । गाउँको हटिया बजार । चोकको चिया पसल । गाउँका फुर्सदिलाहरूको जमघट हुने स्थान । अहिले यो चिया पसलमा चहलपहल हराएको छ । फुंग उडेको देखिन्छ । पहिले आँगनमा क्यारेम खेल्ने युवाहरूको भीड हुन्थ्यो । अहिले गाउँ लगभग युवाविहीनजस्तै भएको छ । थोत्रो क्यारेमबोर्ड पसलको एउटा कुनोमा अडेस लाएर सुस्ताएको छ । अहिले चियापसलमा गफिनेहरू प्रायः उमेरले नेटो कटिसकेकाहरू हुन्छन् । धेरैका सन्तान मुलुकबाहिरै छन् । अलि सक्नेहरू अमेरिका, अस्ट्रेलिया र युरोपतिर पुगेका छन् । त्यता नसक्नेहरू जापान, कोरिया र खाडी मुलुकतिर । हरियो चरणको खोजीमा पर पुगेका गाईवस्तुहरू साँझ गोठ फर्किन्छन् तर अवसरको खोजीमा पर पुगेका युवाहरू अपवादबाहेक कोही फर्किंदैनन् । उतै घरजम गर्छन्, सके उतैको नागरिक बन्छन् । पसलमा समय बिताउन आएका बूढाहरू सबैका गफ आफ्ना बिदेसिएका छोराछोरीहरूको बारेमा नै हुने गर्छ । को कहाँ छन्, के गर्दैछन्, कति कमाए, उनीहरूले कमाएको पैसाले कहाँ घर–घडेरी जोडियो-कुरा यस्तै हुन्छन् ।
“छोरो एयरपोर्टां आफ्नै गाडी हुँइक्याएर लिन आयो ! बुहारीको पनि आफ्नै गाडी र’छ । मुन्छेपिच्छे गाडी हुनि र’छ तेहाँ त,” भर्खरै अस्ट्रेलियाबाट कम्प्युटर इन्जिनियर छोराबुहारी भेटेर फर्किएका एकजना वृद्ध बोले ।
“मेरा पनि छोरीज्वाइँ दुबै ‘आईटी’मा हुन् । सानी एउटी नातिनी छे । घर भने कत्रो बडेमानको । त्यहाँ भ’का सबै नेपालीहरूको भन्दा ठूलो र महँगो घर रे ! पाँच–पाँच वटा कोठा, कोठैपिच्छे पाइखाना । गौचरणजत्रा बैठक कोठा । बाबु–आमा पनि आउँछन् भनेर ठूलो घर किनेका रे ! तातो पानी चौबीसै घण्टा खलल्ल आउने र’छ । बत्ती पनि कहिले नजाने । उनीहरूका पनि दुइटा गाडी र’छन्, मर्र्सिडिज हो कि के जाति भन्ने एकदम दामी रे ! हप्ता–दुई हप्ता बिराई पार्टी गर्ने, नाचगान गर्ने र’छन् । खाने पिउने कुराको कुनै कमी छैन,” अमेरिकाबाट केही महिनाअघि फर्केका अर्का बूढाको कुरा थियो ।
‘आईटी’ भनेको कत्तिले बुझे कुनि, नबुझ्नेले पनि बुझेझैं टाउको हल्लाए ।
अरूले पनि आफ्ना छोराछोरीका बखान गरे । कसैका सन्तान सुपरमार्केटका व्यवस्थापक थिए त कोही पेट्रोल पम्पका मालिक । कोही रेस्टुराँका सञ्चालक थिए त कोही होटलका प्रबन्धक । कसैले पनि आफ्ना सन्तान दुःखमा परेका, सानातिना काममा अल्झेका वा मजदुरी गरेका कुरा गरेनन् । परदेश त्यति सजिलो ठाउँ होइन तर मान्छेको पेशाअनुसार व्यवहार हुने समाज भएपछि झुटकै सहारा लिएर भए पनि आत्मसम्मान त जोगाउनै प¥यो ।
जसका सन्तान विदेश जान सकेका थिएनन्, उनीहरूमा ठूलै लघुताभास देखिन्थ्यो । अरूले आफ्ना सन्तानका प्रगतिका किस्साहरू हौसीहौसी सुनाइरहँदा उनीहरू भने चाउरी परेका मरिचजस्ता देखिन्थे । आफ्नो जन्मथलो छोडेर परदेशी हुनुलाई ठूलो उपलब्धि मान्नुपर्ने कस्तो नियति ! अर्काको मुलुकमा घरजम गर्दा, अझ त्यहीँको नागरिक हुँदा गर्वको विषय हुने र आफ्नै देश, गाउँठाउँमा बस्न पाउँदा हीनताबोध हुने कस्तो विडम्बना !
“मेरो पनि रमणको फोन आएको थियो अस्ति । प्रोफेसरमा पदोन्नति भएछ । ऊ बस्ने राज्यमै अर्को कुनै नेपाली प्रोफेसर छैन रे !” छोराको उन्नतिको बखान गर्ने पालो अहिले चित्तधर बूढाको थियो ।
“त्यही त । रमण त होनहारै हो नि । छोरी शशीकलाको पनि राम्रै छ नि अस्ट्रेलियामा, होइन ?” छिमेकको एउटाले सोध्यो ।
“छोरीको पनि बन्दोबस्त छ । ऊ नर्सिंङ डाइरेक्टर भएकी छे । ज्वाइँ डाक्टर हुनुहुन्छ ।”
त्यहिबेला अलि पर चित्तधर बूढाको कान्छो छोरो श्रवण आउँदै गरेको देखियो । उसको निधारमा नाम्लो थियो र पिठ्यूँमा घाँसको भारी ।
“श्रवणले भने केही गर्न सकेन है ?” छिमेकीले फ्याट्ट श्रवणको कुरा निकालिदियो ।
अघि जेठो छोरो रमण र छोरी शशीकलाको कुरा गर्दा गर्वले फुलेल भएका चित्तधर बूढाको छाती अहिले कान्छो श्रवणको कुरा आउनेबित्तिकै स्याप्प खुम्चियो । अनुहारको रौनक क्षणभरमै बिलायो ।
“के गर्नू, एउटा यो एउटा नालायक निस्कियो,” बूढा त्यसपछि त्यहाँ बसेनन् । जुरुक्क उठेर हिँडिहाले ।
गाउँमै खेतीपाती गरेर बाबुआमाको सेवा गरेर बसिरहेको श्रवणको कुनै कदर थिएन । श्रवणले आफ्नै बाबुबाट नालायकको उपाधि पाएको यो पहिलो पटक भने होइन । श्रवण र बहिनी शशीकलाले सँगै एसएलसी दिएका थिए । बहिनी शशीकलाभन्दा श्रवण दुई वर्षले जेठो हो तर ऊ एकपटक ५ र दोस्रो पटक ८ कक्षामा अनुत्तीर्ण भएपछि बहिनीले भेटेकी थिई । परीक्षाफल हेर्न गएका दाजुबहिनी घर फर्किंदा बाबु चित्तधर गोठमा भैंसीलाई कुँडो खुवाउँदै थिए । आमा हेमकला आँगनमा बिस्कुन सुकाउँदै थिइन् । छोराछोरी फर्केको देखेपछि बाबुले गोठबाटै आवाज दिएका थिए, “के भो तिमेरूको रिजल्ट ?”
श्रवण बोल्दै नबोली लुसुक्क घरभित्र छिरेको थियो । शशीकला पनि मौन बसेकी थिई ।
“किन बोल्दैनौ ?” बूढा आँगनमा झरेका थिए ।
“म त दोस्रो श्रेणीमा पास भएँ तर दाइको सिरियल नम्बर भेटिएन,” शशीकलाको स्वर झिनो थियो । अनुहारमा हर्ष थिएन । आफू पास भएको खुशी शायद दाजु फेल भएको दुःखले छोपेको थियो । ऊ बिमूढ देखिन्थी ।
“नालायक ! के गरिखान्छ होला यसले !” बाबु भुत्भुताउँदै फेरि गोठभित्र छिरेका थिए । त्यसबेलादेखि श्रवणले पाएको ‘नालायक’को पगरी कहिल्यै उत्रिएन ।
श्रवणको दाजु रमण भने पढाइमा तीक्ष्ण थियो । ऊ काठमाडौं बसेर विज्ञानमा स्नातक गर्दै थियो । बहिनी शशीकला पनि काठमाडौं गएर नर्सिङ पढ्न थाली । दोस्रो प्रयासमा श्रवणले एसएलसीको पर्खाल जेनतेन नाघ्यो । उसलाई पनि बाबुले काठमाडौं पढ्न पठाए । उनीहरूको परिवार गाउँका हुनेखाने वर्गकै थियो- खर्चको समस्या थिएन । दाजु रमणले स्नाकोत्तर सक्यो र कलेजमा पढाउन थाल्यो । उसले काठमाडौंमै घरजम पनि ग¥यो । केही समयपछि उसले अमेरिकामा विद्यावारिधी गर्ने अवसर पायो र श्रीमती, बच्चाबच्चीसहित नेपाल छोड्यो ।
बहिनी शशीकलाले स्टाफनर्सको कोर्स सकी तर जागिर पाउन नसकेर केही समय त्यत्तिकै बसी । त्यसपछि ऊ पनि चाँजोपाँजो मिलाएर अस्ट्रेलिया हानिई । शशीकलाले अस्ट्रेलियामै आफ्नो जोडी बनाई र उतै विवाह भयो । छोरीको विवाहको मौका पारेर चित्तधरका बूढाबूढी पनि अस्ट्रेलिया घुमेर आएका थिए ।
तर, श्रवणले जति मेहनत गर्दा पनि आईए कटाउन सकेन । दाजु अमेरिका र बहिनी अस्ट्रेलिया पलाएन भइदिएपछि ऊ काठमाडौंमा एक्लो भयो । त्यसै त पढाइमा कमजोर मान्छे, झन् एक्लै भएपछि काठमाडौंमा उसको मन रम्न सकेन । केही ब्याकपेपर बाँकी नै थिए तर ऊ पोकोपुन्तुरो बोकेर गाउँ फर्कियो ।
“दाजु अमेरिकामा, बहिनीचाँहि अस्ट्रेलिया । यो नालायकचाहिँ गाउँ फर्कियो !” श्रवण आँगनमा के टुप्लुक्क देखिएको थियो, पिँढीमा बसेर तमाखु खाइरहेका बाबुको वचनवाण छुटेको थियो ।
“हैन, तपाईंले यस्लाई किन यस्तो विधि खेद्नुभा’को हो ? एउटै हत्केलाका सबै औंला त समान हुन्नन्,” आमा हेमकलाले छोराको ढाकछोप गरेकी थिइन् र घरभित्र लिएर गएकी थिइन् ।
गाउँका युवाहरू धेरैले गाउँ छाडिसकेका थिए, जसरी मरेका कुकुरको शरीरलाई उपियाँले छोड्छन् । जो बाँकी थिए, उनीहरू पनि छोड्ने जोहो गर्दै थिए । श्रवणलाई पनि बाबुले खाडी मुलुक नै भए पनि पठाउन नखोजेका होइनन् तर उसले मनै गरेन । उसलाई आफ्नै गाउँठाउँ, आफ्नै रनवन प्यारो थियो । त्यसपछि जस्तो भए पनि कर्म त यसको पनि चलाइदिनै प¥यो भनेर बाबुले एउटा जात मिल्ने कन्या खोजी विवाह गरिदिए । केही वर्षको अन्तरालमा तीन बच्चाहरू जन्मिए । दुई छोरी र एक छोरा । श्रवण बच्चाबच्चीको बाबु भइसक्दा पनि उसलाई हेर्ने बूढाको दृष्टिकोण बदलिएको थिएन । ‘नालायक’ शब्द बाबुको मुखमै झुन्डिएको थियो । हुँदाहुँदा गाउँका केटाकेटीहरूले समेत श्रवणलाई ‘नालायक’ भनेर जिस्काउन थालिसकेका थिए । बूढाको कडा मिजासले होला, नाति–नातिनीहरू पनि नजिक पर्दैनथे ।
गाउँमा खेतीपाती र घरायसी कामबाहेक गर्ने कुरा अरू के नै हुन्छ र ! श्रवण खेतीपातीमै लाग्यो । खुबै मेहनत गथ्र्यो तर ढंग भने पुग्थेन । कहिले राति अरूको कुलो थुनेर पानी चोरिदिएको हुन्थ्यो त कहिले पानी बढी लागेर धान फेददेखि नै कुहिन्थ्यो । धानको बाला पोटाउने बेला पतेराले चुसेर फोग्टा लाग्थे । मकै बारीमा सुगा र बाँदरले पनि उत्तिकै दुःख दिन्थे । खेतालाहरूको अभाव थियो । पहिले जस्तो अर्म–पर्म चल्दैनथ्यो । जता पनि आफैंले भ्याउनुपर्ने अवस्था थियो । सीमित मान्छेहरूको सहयोगमा काम गर्दा केही न केही बिग्रिरहेको हुन्थ्यो र अपगाल पाइरहन्थ्यो । बाबुको प्रोत्साहन र सहयोग कहिल्यै मिलेन । न कहिले एकवचन मीठो सुन्न पायो ।
नाति–नातिनी घरमै नभएका होइनन् । तर, शायद जो नजिक छैन, उनीहरूकै महत्व बढी हुन्छ र उनीहरूकै याद बढी आउँछ । आमा हेमकला जहिल्यै पनि ठूलो छोरो रमणकै छोराछोरीहरूका कुरा गरिरहन्थिन् । नेपाल छोडेर जाँदा रमणका बच्चाहरू स–साना थिए । बीचमा एकचोटि आएका पनि हुन् तर धेरै भयो त्यसपछि नफर्केका । तिनीहरू कत्रा भए होलान् ? गाउँ आउँदा कसरी हजुरआमा भनेर झुम्मिन्थे, अहिले त बिर्सिसके होलान् । यस्तैयस्तै तर्कना गरेर बसिरहन्थिन् हेमकला । चाडबाड आएपछि बूढीलाई झन् छोराछोरी, नाति–नातिनीहरूको यादले सताउँथ्यो । बारीमा बेलौती, नास्पाती, मेवा पाक्यो भने पनि उनीहरूलाई नै सम्झिन्थिन् । घरमा केही मीठोमसिनो पाक्यो भने उनीहरूकै याद आउँथ्यो । रमण र शशीकलाले कोही मान्छेहरूको हातबाट कपडा, सामान, पैसा त पठाइरहेकै हुन्थे । छोराछोरीले पठाइदिएका ज्याकेट, स्वेटर, जुत्ता, घडी लगाएर बूढाबूढीहरू प्रफुल्ल देखिन्थे तर त्यो खुशी क्षणिक हुन्थ्यो ।
बूढाबूढीको उमेर ढल्किँदै गयो । रोगहरूले पनि च्याप्दै लगे । अनुहारको छाला चाउरिएर मुज्जा पर्न थाले । पहिला ठमठम हिँडेर उकाली–ओराली गर्ने चित्तधर बूढा अहिले एकछिन हिँडेपछि फतक्कै गल्थे र सुस्ताउन थचक्क बस्थे । आमालाई पनि आफ्नै घरको चोटा धन्सार उक्लिन गाह्रो भइसकेको थियो । आजकल भने उनी छोरो रमणसँग फोनमा कुरा हुँदा सोध्न थालेकी थिइन्, “अब तिमीहरू उतै बस्ने ? नेपाल नआउने ?”
“आउने आमा, किन नआउने ?” रमणको जवाफ सदा एकै प्रकारको हुन्थ्यो ।
बाबुआमा बिस्तारै गल्दै जान थालेपछि घरव्यवहार सबै श्रवणको काँधमा आयो । खेतीपाती गर्न गाह्रो भइसकेको थियो । गाह्रोसाह्रो पर्दा दाजु रमणले अमेरिकाबाट पैसा पठाउँथ्यो । बहिनीले पनि समस्या छ÷छैन भनेर सोधिरहन्थी । तर, पैसाले मात्र के गर्ने ! यहाँ न बेलामा न मल पाइन्थ्यो न बीउबिजन नै । न खेत जोत्ने हली पाइन्थ्यो न रोपाहारहरू ।
“अब पहाडको सबै घरखेत बेचेर तराईतिर पो बसाइ सर्ने हो कि, भाइ ?” दाजुभाइ फोनमा कुरा हुँदा एकदिन रमणले सुझायो ।
“कुरो त ठिकै हो दाइ तर पहाडको यो घरखेत बेच्न सजिलो छैन । मान्छेहरूको जमिन बाँझै रहन थालेको छ । कसले किन्नु यहाँ ? को आएर खेतीपाती गर्नु ?”
एकदिन चित्तधर बूढा बिरामी परेर थला परे । श्रवणले उनलाई सदरमुकामको अस्पतालमा पु¥यायो । त्यहाँबाट काठमाडौं । उच्च रक्तचाप र मधुमेह रहेछ, जुन पहिला थाहै भएन । अस्पताल केही दिन बस्नु पर्ने भयो ।
छेउकै शय्याको बिरामी कुरुवा बोलिरहनु पर्ने मान्छे रहेछ । हरेक कुराको निधिखुदी गरिरहने । घर कहाँ, कुन थर, गोत्र केदेखि लिएर कति वटा छोराछोरी, कहाँ के गर्दैछन् सबै खोतल्नु पर्ने ।
“हजुरका सन्तान एउटा मात्र ?”

“होइन, तीन जना छन् । जेठो छोरो अमेरिकामा प्रोफेसर छ । छोरी अस्ट्रेलियामा अस्पतालको डाइरेक्टर छे,” चित्तधर बूढाले रमण र शशीकलाको प्रशंसाको पेटारो खोलिहाले । बिरामी परेर शय्यामा पर्दा पनि उनका आँखा चहकिला भए ।
“अनि यो बाबुचाहिँ कान्छो ? के गर्छन् नि बाबु ?”
“के गर्छ यो नालायकले ? गाउँमै कुटोकोदालो गरेर बसेको छ ।”
बूढाले खुट्टा खुम्च्याएर ताने । श्रवण बाबुको गोडा मिचेर बसिरहेको थियो । बाबुको अनुहारतिर पुलुक्क हे¥यो । केही प्रतिक्रिया भने जनाएन । बाबुको वचनवाण खप्दाखप्दा शायद चेतना थिलथिलो भइसकेको थियो ।
बाबुको अवस्था गम्भीर हुँदै गयो । त्यसपछि भने अमेरिकाबाट रमण आयो ।
“बाबु रमण, तँ आइस् ?” चित्तधरले आँखा खोलेर हेरे । त्यसपछि नजर ढोकातिर पु¥याए । उनको नजरले शायद बुहारी र नाति–नातिनीहरूलाई खोजिरहेका थिए ।
“बच्चाहरूको स्कुल छ, उनीहरू आउन मिलेन । बुहारी पनि उनीहरूकै लागि बस्नु प¥यो । नत्र कस्तो आउन मन गरेकी थिई !”
त्यसको केही दिनपछि शशीकला आई । ज्वाइँ भने आएका थिएनन् । न उनका बच्चाबच्चीहरू । उनको पनि आफ्नै कथा थियो ।
आफ्ना मन परेका छोराछोरीलाई आफ्नो वरिपरि पाएर होला, चित्तधर बूढाको आधा व्यथा त्यसै निको भयो । उनको स्वास्थ्यमा सुधार देखियो । खानेकुरा रुच्न थाल्यो र अनुहार अलि तेज देखियो । त्यसपछि डाक्टरहरूले ‘डिस्चार्ज’ गरिदिए । घर त लगे तर स्वास्थ्यमा आशातीत प्रगति भने भएन । यता रमणको चार हप्ताको छुट्टी सकिँदै थियो र ऊ छटपटिन थालेको थियो । उसले पाउने बिदाको सुविधा पहिला नै खर्च गरिसकेकोले थप बिदा स्वीकृत गराउन सकेन । कलेजमा परीक्षाको समय पनि थियो र ऊ फर्कनै पर्ने भयो । जाने दिन उसले ओच्छ्यानमा पल्टिरहेका बाबुलाई ढोग्यो र बिदा माग्यो ।
“बा, म अब निस्कन लागें । बालाई यो अवस्थामा छोडेर जान मन त थिएन तर के गर्ने, मेरो बिदा सकियो ।”
चित्तधर बूढाले रमणलाई एकछिन टोलाएर हेरे र सुस्तरी बोले, “जा न त । के गर्ने, उताको व्यवहार पनि धान्नै प¥यो । तँ यहाँ बसेर मात्र म बिसेक हुने होइन,” बूढाले आशीर्वादको भावमा हात उठाए ।
रमण आँसु पुछ्दै निस्कियो । त्यसको केही दिनपछि शशीकलाले बिदा मागी । ऊ पनि रुँदै निस्किई । समय कति क्रूर हुँदो रहेछ । जब छोराछोरीहरू साना थिए, उनीहरूलाई हाच्छ्यूँ आउँदा पनि चिसो लाग्यो कि भनेर बाबुआमा दुबै पिरोलिन्थे । उनीहरूलाई सामान्य ज्वरो आउँदा पनि बाबुआमा दुबैले छोड्दैनथे, रातभरि ननिदाइकन बस्थे । अहिले बाबु बिरामी परेर थलिँदा छोरा र छोरीहरू एक–एक गरेर छोड्दै, हिँड्दै थिए ।
शशीकला फर्किएको एक हप्ता भएको थियो होला, चित्तधर बूढालाई गाह्रो हुन थाल्यो । श्रवण बाबुलाई चम्चाले औषधि खुवाउँदै थियो । बूढाले औषधि निल्न सकेनन् । मुखबाट औषधि प्याल्ल बाहिर निस्कियो । आँखा एकोहोरो हुँदै गए । उनले एउटा अन्तिम हिक्का लिए । शरीर तिनिक्क तन्कियो र शीर एकातिर लत्रियो ।
“बा !?!” श्रवण चिच्यायो ।
बाबुको श्वासप्रश्वास बन्द भइसकेको थियो । मुटुमा चाल थिएन । लगत्तै रमण–शशीकला दुबैलाई फोन गरियो । दुबैले नेपाल आउने चाँजोपाँजो मिलाउँछु त भने तर भर्खरै मात्र नेपालबाट फर्किएकाले तत्कालै आउन सम्भव देखिएन । उनीहरूले सीधै आउन सक्दैनौं त भनेनन् तर उनीहरू अन्कनाएको कुरो आमाले बुझिहालिन् ।
“भैगो नि त, तिमीहरूले बाको मुख देखिहाल्यौ, तिमीहरू आए पनि अब बा फर्केर आउने होइन । त्यहाँ सम्भव भएसम्म छोइछिटो बार्नू, चोखोनितो खानू । तिमीहरू आउन पर्दैन,” मुखले त आमाले भनिदिइन् तर उनको अनुहारको भाव बिग्रिएको थियो ।
बाबुलाई घाटमा पु¥याइयो । सदगदका सबै प्रक्रिया पूरा गरिसकेपछि पार्थिव शरीरलाई दागबत्ती दिनुपर्ने बेला आयो । श्रवण भक्कानियो र भुइँमा थचक्क बस्यो । छिमेकी काकाले सम्झाएपछि ऊ उठ्यो । बाबुको पाउमा एकछिन आफ्नो माथा टेकायो । पार्थिव शरीरलाई परिक्रमा गरिसकेपछि मुखाग्नि दियो ।
श्रवणले अग्निको लपेटमा समाहित बाबुको शरीरलाई एकनासले हेरिरह्यो । उसले मुखले त केही बोलेन तर अनुहारको भावले केही भन्दै थियो, “माफ गर्नुस् बा ! यो नालायकले दागबत्ती दिन प¥यो । हजुरको स्वर्गवास होस् ।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->