गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आफूले १५ महिनाको अवधिमा पाएको सबै तलब÷भत्ता सामाजिक काममा लगाए । उनले आफूले पाएको ७ लाख ९ हजार १ सय ३५ रुपैयाँसहित १० लाख ५४ हजार ६ सय ६५ रुपैयाँ कुन सामाजिक संघ÷संस्था र कस्ता विकासका काममा लगाएको भन्ने पनि सार्वजनिक गरे । आफ्नो निर्वाचन क्षेत्रका विभिन्न विकास निर्माण एवं सामाजिक संघ÷संस्थाले त्यो रकम पाउका छन् । उनको कदम आफैमा सह्रानीय छ । तर, गण्डकी प्रदेशमा आफूले पाएको तलब÷भत्ता सामाजिक काममा लगाउने उनी एक्ला सभासद भने होइनन् । उनीजस्तै गोर्खाबाट प्रदेशसभामा आएका प्रकाशचन्द्र दवाडी र कास्कीबाट प्रतिनिधित्व गरेका राजिव पहारीले पनि आफूले पाएको सबै तलब÷भत्ता सामाजिक र विकासकै काममा खर्च गरेका छन् ।
प्रदेशसभामा ६४ जनामध्ये तीनजना सभासदले देखाएको यो महानताले जनतामा आशाको संचारमात्र गराएको छैन,उनीहरु आफ्नै प्रतिनिधि हुन् भन्ने अनुभूति पनि गराएको छ । थापा,दवाडी र पहारीले राज्यप्रदत्त रकम आफूखुसी आफ्नै लागि खर्च गर्न सक्थे । उनीहरुको आवश्यकतावोध गरेर नै राज्यबाट सभासदहरुलाई तलब÷भत्ताको व्यवस्था गरिएको हो । जनताको काममा हिँड्दा आफ्ना सबै कामहरुलाई छाड्नुपर्ने र आर्थिक उन्नयन पनि नहुने अवस्थामा सेवामै केन्द्रित हुनको लागि तलब र भत्ता चाहिन्छ नै । आम्दानीको श्रोत नहुँदा मानिसहरुको मन डग्मगाउँछ । मन डग्मगाउँदा ऊ भ्रष्टाचार वा नाजायज प्रलोभनमा फस्ने डर हुन्छ । यसर्थ, तलब÷भत्ता लिने सभासदहरु र तीनजनाबीच तुलना गर्नु वा तिमीहरुले किन आफ्नो तलब÷भत्ता सामाजिक काममा लगाएनौ भन्ने प्रश्न यहाँनेर नाजायज हुन्छ । जसले तलब÷भत्ता लिएका छन्, उनीहरु पनि हाम्रै प्रतिनिधि हुन् । अझ, तलब÷भत्ता नै सामाजिक काममा लगाएँ भनेर जनप्रतिनिधिहरुले आफ्नो काम, कर्तव्य र अधिकार बिर्सन पनि पाइँदैन । एउटा सुकर्म गरेँ भन्दैमा हजारौँ गलत कर्म गर्ने अधिकार पनि कसैसँग रहँदैन । तर, सुकर्मको मूल्याङ्कन भने गर्नैपर्छ । अहिले तीनजना सभासदहरु स्तूत्य छन् । उनीहरुको यो उर्जा आफ्नो कार्यकालभर रहोस् !
नेपालको निर्वाचन महङ्गो भएको कहिँकतैबाट छिपेको छैन । एउटा चुनाव जित्न करोडौँ खर्च गर्नुपर्ने अवस्था आएको छ । पैसाको बलमा चुनाव जितिन्छ भन्ने मानशिकताको विकास पनि यहीँनेर भएको छ । जनतासँग भिजेका, राजनीतिमा ठूलो त्याग र बलिदानी गरेकाहरु पछिपर्दै गएका छन् । त्याग र निष्ठाको अवमूल्यन हुनु तर पैसा हुनेहरु राजनीतिमा अगाडि आउनु भनेको लोकतन्त्रको लागि अभिषाप हो । हाम्रो तीनपुस्ताले लोकतन्त्रको लागि गरेको त्यागको कुनै पनि सर्तमा अवमूल्यन हुनुहुँदैन । जनतासँग भिजेकाहरुले पैसा भएकाहरुलाई राजनीतिबाट बिस्थापन गर्ने परिपाटीको विकास हुनैपर्छ । पैसाको भरमा चुनाव जितेर आएकाहरुले नै भ्रष्टाचारलाई मलजल गर्ने र अर्को चुनावको लागि पैसाको जोहो गर्ने परिपाटीको विकास गर्ने सम्भावना अधिक हुन्छ । यो सर्वथा गलत प्रवृत्ति हो । देशलाई सुशासनतर्फ लैजाने हो भने राजनीतिक दलहरुले उम्मेदवार निष्ठाकै आधारमा चयन गर्नुपर्छ । निष्ठावान मान्छेसँग पैसा हुँदैन । हामीले लोकतन्त्रको लागि सर्वश्व गुमाएका मानिसहरु देख्दै आएका छौँ । उनीहरुको पेट मार्न सकिँदैन तर तलब र भत्ता नलेऊ भन्ने अधिकार पनि हुँदैन । यस्तो अवस्थामा तलब÷भत्ता पनि लेऊ र जनताको सेवा पनि गर भन्नु नै नागरिकको कर्तव्य हो ।
तर, हुनेले नहुनेलाई दिने नेपाली संस्कार हो । जोसँग आफू बाँच्नको लागि कुनै समस्या छैन, उसले दान दिनुपर्छ । पुण्य भनेको पनि यही हो । म तलब÷भत्ता नलिई काम गर्छु र गलत काम पनि गर्दिन भन्नु महानता नै हो । यस मानेमा सभासदहरुले यहाँ महानता नै देखाउनु भएको हो । दोहोरो इन्धन सुविधा लिएको र राज्य दोहनमा लागेका समाचारहरु सार्वजनिक भइरहँदा आएका यस्ता कामहरुको जति प्रशंसा गरे पनि कम हुन्छ । अहिले तीनजना सभासदले गरेको असल कर्मबाट अरुले पनि प्रेरणा लिनुपर्छ ।

