शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रोहित पौडेललाई कप्तानको जिम्मेवारी

रोहित पौडेललाई कप्तानको जिम्मेवारी


  • Dhorpatan News
  • चैत्र २० २०७५, बुधबार

पोखरा, २० चैत – सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) यू-१९ विश्वकपअन्तर्गत एसियाली छनोट प्रतियोगितामा नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले गर्ने भएका छन् । विश्वकपको एसियाली छनोट प्रतियोगिताका लागि उनकै कप्तानीमा मंगलबार १४ खेलाडीको छनोट गरिएको छ । छनोट प्रतियोगिता अप्रिलको १० देखि १८ तारिखसम्म मलेसियामा हुँदैछ । नेपाली टोलीमा कप्तान रोहितसँगै अभिषेक बस्नेत, भीम सार्की, हरिबहादुर चौहान, कमलसिंह ऐरी, कुशल मल्ल, महमद आसिफ शेख, पवन सर्राफ, प्रतिश जीसी, रासिद खान, रीत गौतम, सागर ढकाल, सन्दीप जोरा र सूर्य तामाङ रहेका छन् ।
विश्वकप छनोटका लागि हालै भारतको आन्ध्र प्रदेशमा गरिएको अभ्यास खेलसहितको वैदेशिक प्रशिक्षणपश्चात् नेपाली टोलीको अन्तिम १४ जनाको छनोट गरिएको हो । आन्ध्र प्रदेशको भ्रमणमा सहभागी भएकामध्ये आकाश चन्द, लोकेशबहादुर बम, रभिकुमार शाह र शेर मल्ल भने रिजर्भ प्लेयरमा परेका छन् । नेपाली टोली प्रतियोगिता खेल्न सहभागी हुन यही शनिबार मलेसिया जानेछ । नेपालसहित मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), सिंगापुर, ओमान र कुवेत सहभागी रहेको प्रतियोगिता सिंगल राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुने छ। प्रतियोगिताको शीर्ष एक टोली सीधै दक्षिण अफ्रिका विश्वकपका लागि छनोट हुने छ । यू–१९ र सिनियर राष्ट्रिय टोलीबाट नियमित खेल्दै आइरहेका रोहितले अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक नेपाली टोलीको कप्तानी गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->